
श्याम घिमिरे चैत्र १० अर्घाखाँची –
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम गर्ने सन्र्दभमा अर्घाखाँची जिल्लालाई सोमबार मध्यरातिदेखि ‘लकडाउन’ गरिने भएको छ । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले अत्याबश्यक दैनिक उपभोग्य बस्तुहरु पेट्रोलियम पदार्थ,औषधि,ग्यास,खाद्यान्न,दुधडेरी,पानी,फलफुल सागसब्जी,दाल,चामल,तेल नुन बाहेक सम्पुर्ण होटल,व्यापार,व्यवसाय,चिया,कफिसपहरु आज राति १२ बजे देखी अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै जिल्लामा प्रवेश गर्ने मालबाहक सवारी साधन बाहेक अन्य निजी, सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकललाई पनि आबागमनमा प्रतिबन्ध लगाइएको छ । मालबाहक सवारी साधनलाई भने प्रतिबन्ध लगाइएको छैन । मालबाहक सवारी साधनमा चालक र सहयोगी मात्रै बस्न पाउने व्यवस्था गरीएको छ । चालक र सहयोगीलाई हेल्थ डेक्समा अनिबार्य चेकजाँच गरी आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने समेत निर्णय भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिनुभयो ।
बैठकको निर्णय अनुसार खाद्यान्न, ग्यास र तेल पसल प्रत्येक दिन बिहान १० बजे देखि २ बजे सम्म मात्रै खुला हुनेछन् । यस्तै दुधडेरी, फलफुल,सागसब्जीहरु बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म खुल्ला हुनेछन् भने औषधि पसल र पेट्रोलपम्पहरु २४ सौं घण्टा खुला रहनेछन् ।
बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ववल, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नेपाली कांग्रेस जिल्ला सभापति विष्णु खनाल मुस्कान,सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक बिभिन्न्न दलका नेता, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवयासी, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।यसैबिच माथी उल्लेखित शर्तहरु पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने समेत जनाईएको छ ।