शुक्रबारदेखि खाडीका देश र मलेसियासँगै यूरोपबाट नेपाली पनि स्वदेश आउन नपाउने

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्रतिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

साथै यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फैलिएको छ ।

खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १ हजार ९ सय ४६ जनामा कोरोनाको सङ्क्रमण भएको छ । पछिल्लो तथ्याँकअनुसार १ सय ७० देशका दुई लाख ४ हजार ७ सय ३२ जनालाई कोरोनाको सङ्क्रमण भएको छ । अहिलेसम्म ८ हजार २ सय ७० जनाको ज्यान गएको छ भने ८२ हजार ८ सय ८९ जना निको भएर घर फर्किएका छन् । source:ujyaaloonline

त्रिविका सबै तहका परीक्षा स्थगित

चैत ५, २०७६ काठमाडौं : चैतमा हुने त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि रोकिएका छन्। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले भाेलि बिहीबार हुने भनिएकाे एसइई परीक्षा राेक्ने निर्णय गरेकाे थियाे ।  सँगै त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय पनि गरिएकाे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाेखरेलले बताए। बुधबारै समितिकाे बैठकले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले एसईई परीक्षणलगायत विश्वविद्यालयहरुले लिने परीक्षाहरूसमेत स्थगित गरेको जानकारी उप्रधान तथा समिति संयोजक ईश्वर पोखरेलले दिए । समन्वय समितिले सम्पूर्ण तह र क्षेत्रका परीक्षाको स्थगित गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयमा अहिले विभिन्न तहका परीक्षा बोर्डको आकस्मिक बैठक बसिरहेको छ । 
source:thahakhabar.com

अन्तिम समयमा सरकारले स्थगित गर्‍यो एसईई परीक्षा

चैत ५, २०७६ काठमाडौं : सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले थाहाखबरलाई जानकारी दिए।  ‘परिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका पूर्वनिर्धारित कार्यक्रम रोक्ने निर्णय भएको हो’, उनले भने। 

तर पहिलो बैठकको १२ औँ नम्बर निर्णयमा भने समितिले आवश्यक प्रबन्धसहित एसईई परीक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। पहिलो बैठकपछि सम्भावित जोखिमबारे आवश्यक परामर्श लिएर एसईई रोक्ने निर्णय भएको उपपप्रधानमन्त्री पोखरेलले जानकारी दिए। ‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्‍चितकाललाई स्थगित गर्ने निर्णय भएको छ’, उनले भने, ‘अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।’ 

यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

यस्तो थियो तयारी

६ देखि १७ चैतसम्मका लागि यसअघि निर्धारित एसईई परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैथिए।

त्यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो। पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको जानकारी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार दिएका थिए। विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई आग्रह गरेका थिए। मन्त्रालयले विद्यार्थीरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको थियो। कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज सकिएको छ।
source:thahakhabar.com