काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

 चैत ४, २०७६ मंगलबार काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।

यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।

कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डाेमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएकाे र अरु सङ्क्रमित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएकाे देश भएकाे हाे । 

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिकाे ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन । source:ujyaaloonline

युरोपमा कोरोनाको सङ्क्रमण फैलँदो, अमेरिकामा १० जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने

चैत ४, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । 

इटलीमा एकै दिन थप तीन सय ४९ जनाले ज्यान गुमाउँदा भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक सय ५८ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या २७ हजार ९ सय ८० पुगेको छ । 

स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे लगायतका देशमा ज्यान गुमाउने र नयाँ सङ्क्रमित थपिने क्रम बढिरहेको छ । युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ । 

बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । जर्मनीले पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ । 

त्यस्तै युरोप बाहिरका देशमा पनि कोरोनाको सङ्क्रमण बढेसँगै कडा प्रतिबन्धहरु लगाइएका छन् । अमेरिकाले १० जनाभन्दा धेरै मानिस भेला हुन रोक लगाएको छ भने रेस्टुरेन्ट, होटल तथा भिडभाडमा नजान सबैलाई अनुरोध गरेको छ । 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ । 

यसैबीच अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ । तर खोपले काम गर्ने वा नगर्ने बारेमा थाहा पाउन अझै केही महिना लाग्ने बताइएको छ । source:ujyaaloonline