कोरोना भाईरसका कारण सन्धिखर्कमा लाग्ने हाट बजार बन्द हुने


श्याम घिमिरे चैत ६ सन्धिखर्क –
सन्धिखर्क नगरपालीकाको उपभोक्ता हित संरक्षण समितिको बैठक आज सम्पन्न भएको छ । बैठकले नेपाल सरकारले कोरोना भाईरसको संबेदनशीलतालाई ग्रहण गरी २५ जना भन्दा बढी व्यक्ति जमघट नहुने भनि गरेको निर्णयलाई मध्यनजर गरी सन्धिखर्क नगरपालीकामा सञ्चालन हुदै आएका हाट बजारहरु अर्को सुचना जारी नभए सम्मका लागी बन्द गर्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।

कोरोना रोकथामको सरकारी निर्णय : डर मान्ने कि भर ?

चैत ६, २०७६ बिहिबार – जसले जे जस्तो आशङ्का गरे पनि नेपालमा अहिलेसम्म कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण नदेखिएको कुरा सत्य हो । तर सँगसँगै अर्को सत्य पनि के हो भने नेपालको अवस्था कोरोना सङ्क्रमित देशहरुको जस्तै भइसकेको छ । बुधबारको सरकारी निर्णयसँगै एकाएक अवस्था फेरिएको हो ।

अघिल्लो दिनसम्म सामान्य रहेको जनजीवन बिहीबारदेखि त्रसित देखिन थालेको छ । बाटोघाटो र बजारमा चहलपहल ह्वात्तै घटेको छ । काठमाण्डौबाट पोकापन्तुरा बोकेर गाउँ फर्कनेहरुको लहर सुरु भएको छ । शहरमा बस्ने छोराछोरीलाई बाआमाले गाउँमा बोलाउन थालेका छन् । घरबाहिर निस्कने धेरैको अनुहार मलिन र त्रसित देखिन्छ ।

अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने सरकारको निर्णयले आमनागरिकमा अन्याेल र सन्त्रास झन् बढाएको हो । कोरोना आइसक्यो या आउन लाग्यो भन्ने थाहा पाएरै सरकारले परीक्षा स्थगित गर्नेसम्मको निर्णय गर्‍याे भन्ने धेरैलाई लागेको छ । 

कोरोना रोकथामका लागि सरकारको पूर्वतयारी र पूर्वसावधानीलाई जायज मान्न सकिन्छ । कोरोनाको सङ्क्रमण फैलनुभन्दा पहिले नै रोकथाम गर्नु उचित निर्णय हो । तर बुधबार सरकारका मन्त्रीदेखि कर्मचारीसम्मको कार्यशैली र निर्णयले सरकार आवश्यकताभन्दा बढी आत्तिएको जस्तो देखिन्छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार दिउँसोको बैठकले १५ बुँदे निर्णय गर्दा एसईई परीक्षा स्थगित गरिएको थिएन । २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध, डान्स बार, सिनेमा हल, मनोरञ्जनस्थल, क्लब बन्द, सबैखाले खेलकुद प्रतियोगता स्थगित, युरोपसहित सङ्क्रमित देशबाट नेपाल आउन प्रतिबन्ध, सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगायतका निर्णय मात्र भएको थियो ।

निर्णयको बुँदा नम्बर १२ मा एसईईको हरेक केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था गर्ने भनिएको थियो । त्यसै अनुसार सबै व्यवस्था भइसकेको थियो ।

बिहीबारदेखि सुरु हुने परीक्षाको लागि विद्यार्थी परीक्षा केन्द्र पुगिसकेका थिए । स्वास्थ्य जाँच लगायका सबै तयारी पूरा भइसकेको थियो । तर १५ बुँदे निर्णय सार्वजनिक भएको केही घण्टामै एसईई परीक्षा स्थगित भएको खबर आयो । 

उच्चस्तरीय समन्वय समितिको बैठक सकेर बालुवाटारमा प्रधानमन्त्री भेट्न जानुभएका उपप्रधानमन्त्री पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे । उहाँले पत्रकारलाई यो निर्णय सुनाउँदा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई समेत यसबारे थाहा थिएन । नेकपा सचिवालय बैठकको सुझाव र प्रधानमन्त्रीको निर्देशनपछि उपप्रधानमन्त्री पोखरेलले एसईई परीक्षा स्थगित भएको निर्णय सुनाउनुभयाे र त्यसपछि मात्र शिक्षा मन्त्रीले थाहा पाउनुभयाे । अनि परीक्षा बोर्डको बैठक बसेर परीक्षा स्थगित भएको आधिकारिक निर्णय भयो ।

त्यतिबेलासम्म परीक्षार्थी, अभिभावक र शिक्षक मात्र होइन, आमनागरिकलाई अन्योल भइसकेको थियो । अन्तिम अवस्थामा एसईई परीक्षा स्थगित हुँदा किताब, कापी र चामल तरकारी बोकेर परीक्षा केन्द्रमा डेरा गरेर बस्न थालिसकेका विद्यार्थी अप्ठ्यारोमा परेका छन् । अन्योलसँगै डर र त्रास छाएको छ । 

अघिल्लो दिन दिउँसोसम्म सबै तयारी गरेर बेलुकी एकाएक परीक्षा स्थगित गर्ने निर्णय गरेर सरकारले डर उत्पन्न गरेको छ । सङ्कटको बेला सरकारले गर्ने निर्णय अप्रत्याशित हुन्छन् नै । विश्वभर प्रकोपको रुपमा फैलिसकेको कोरोना रोकथामको लागि पूर्वतयारी र पूर्वसावधानी गर्नु नै उपयुक्त कदम हो ।

ढिलै भए पनि सरकारले सही निर्णय गर्‍याे भन्नेहरु पनि छन् । तर अवस्था र परिस्थितिलाई ख्याल नगरि सरकारले हठात निर्णय गर्दा आमनागरिकलाई सतर्कताभन्दा बढी सन्त्रास छाएको छ । परीक्षा रोक्नु नै थियो भने बुधबारको सट्टा मङ्गलबार निर्णय गरेको भए के हुन्थ्यो ? मङ्गलबार र बुधबारको अवस्थामा के फरक आयो र सरकारलाई एकाएक अप्रत्याशित निर्णय गर्नुपर्‍याे ? यो प्रश्न पनि जायज छ ।

हामी यस अर्थमा भाग्यमानी छौँ कि विश्वका एक सय ७३ देशमा कोरोनाको सङ्क्रमण फैलिसक्दा समेत नेपालमा एक जनामा भन्दा अरुमा देखिएको छैन । सङ्क्रमित एक जना पनि पहिले नै निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म पाँच सयभन्दा बढी शङ्कास्पद बिरामीको ल्याब परीक्षण गर्दा सबै ‘नेगेटिभ’ भेटिएको छ । धेरैले नेपालको प्रयोगशाला र परीक्षणबारे पनि शङ्का गरेका छन् । तर नेपालको प्रयोगशाला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डकै हो । नेपालले गरिरहेको परीक्षणलाई विश्व स्वास्थ्य सङ्गठनले पनि नजिकबाट हेरिरहेको छ र रिपोर्टलाई उसले पनि मान्यता दिएको छ । 

एकछिनलाई मानौँ, नेपालको परीक्षण ठिक थिएन रे, सङ्क्रमित भएर पनि थाहा भएन रे । त्यसो हो भने कुनै न कुनै ठाउँ या अस्पतालमा बिरामी देखिन्थे या कतै अस्वभाविक मृत्यु भएको थाहा हुन्थ्यो । तर अहिलेसम्म अस्वभाविक रुपमा बिरामी बढेका या मृत्यु भएको भेटिएको छैन । यसबाट ढुक्क हुन सकिन्छ कि नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण भित्रिएको छैन ।

त्यसो त विगतमा कोरोनाजस्तै विश्वका विभिन्न देशमा महामारीको रुपमा फैलिएका अरु डरलाग्दा रोग नेपाल भित्रिएको थिएन । १८ वर्षअघि कोरोनाजस्तै श्वासप्रश्वाससँग सम्बन्धित प्राणघातक रोग ‘सार्स’ ले चीनमा महामारीको रुप लिँदा नेपालमा देखिएन । यस्तै चार वर्षअघि दक्षिण कोरिया हुँदै थाइल्याण्डसम्म फैलिएको श्वासप्रश्वाससम्बन्धी यस्तै प्राणघातक अर्को रोग ‘मर्स’ पनि नेपालमा आएन । सार्स, मर्स र कोरोनाको प्रकृति झण्डै उस्तै हो । सार्स र मर्स भित्रिन नसकेको नेपालमा उस्तै खालको अर्को रोग कोरोना अहिलेसम्म फैलिन सकेको छैन । यो आमनेपालीको आत्मविश्वास बढाउने भरपर्दो आधार हो ।

अर्को कुरा विदेशमा कोरोनाले मान्छेकाे ज्यान गएकाे खबर सुनेर हामी जति आत्तिएका छौँ, ती देशको जनसङ्ख्याको आधारमा ज्यान गुमाउनेकाे सङ्ख्या त्यति ठूलो होइन । झण्डै डेढ अर्ब जनसङ्ख्या रहेको चीनमा कोरोनाबाट तीन हजार दुई सय ३७ को ज्यान गएकाे छ । ६० करोड जनसङ्ख्या रहेको इटलीमा अहिलेसम्म दुई हजार ९ सय ७८ जनाको ज्यान गएको छ ।

एक अर्ब ३० करोड जनसङ्ख्या रहेको भारतमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ । एक सय ६९ जना सङ्क्रमित भएका छन् । एकैपटक सङ्क्रमित देखिनु र ज्यान गुमाउनु अस्वभाविक जस्तो लागे पनि ती देशको जनसङ्ख्याको तुलनामा सङ्क्रमण र मृत्युदर निकै कम हो । लगभग तीन करोड मात्रै जनसङ्ख्या रहेको हाम्रो देशले ती देशको यो दर हेरेर धेरै डराउनुपर्ने अवस्था छैन ।

हो, नेपाल स्रोत र साधनमा कमजोर छ । तर आफ्नै देशको सरकारी अस्पतालमा प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण गरेर हौसला बढेका दक्ष डाक्टर र स्वास्थ्यकर्मी नेपालमा छन् । पराम्परागत खाना र प्राकृतिक जीवनशैलीमा हुर्केर आत्मबल बलियो भएका नागरिक छन् । नेपाली सेना र सरकारका अरु निकायले आकस्मिक उपचार केन्द्र र आवश्यक अरु तयारीलाई तीव्रता दिएका छन् । ढिलै भए पनि सरकारले पूर्वतयारी र पूर्वसावधानी बढाएको छ । 

अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । देखियो भने पनि पूर्वतयारी र पूर्वसावधानी अपनाइएको छ । त्यसैले यो आतङ्क होइन, सतर्कता बढाउने बेला हो । आफ्नो पछिल्लो निर्णयबाट आतङ्कित भएका नागरिकलाई सतर्कता र विश्वास बढाउने दायित्व सरकारकै हो । source:ujyaaloonline

भरतपुरमा चिनियाँ शैली : ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल (फोटोफिचर)

चैत ६चितवन – सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको  भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो । 

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक डा. भोजराज अधिकारीले जानकारी दिए ।

संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थाई अस्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् । 

उनले उक्त अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरिन् । source:ratopati.com

मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भयो :भुसाल

शोभाखर पन्थी सन्धिखर्क एफएम अर्घाखाँची /चैत ५ नेपाल कम्युनिस्ट पार्टी नेकपाका भुमिका स्थान नगरकमिटी वडा नं. ४ को बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य पिताम्बर भुसालले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भएको छ । नेपाली जनताको ठुलो त्याग र तपस्याका कारण राजनीतिक परिवर्तन भएको बताउँदै, उहाँले बिकास र समृद्धि मार्फत जनताको जिवनस्तर माथि उठाउने बताउनुभयो ।

सरकारले असंख्य लोकप्रिय र दुरगामी महत्वका काम हरु गर्दागर्दै पनि देशी तथा बिदेशी दलालहरुले विभिन्न किसिमका भ्रम फैलाएर जनतालाई दिग्भ्रमित पार्ने दुस्प्रयास गरेको आरोप लगाउँदै गलत भ्रम चिर्न र यथार्थ बस्तुस्थिती बारे जनतालाई जानकारी दिन कार्यकर्ता लाई आग्रह गर्नुभयो ।

Image may contain: 4 people, including Thakur Saurag Adarsha, people standing and indoor

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य तथा नगर कमिटीका सहईन्चार्ज ठाकुर सौरागले ऐतिहासिक पार्टी एकताले विश्वमै उथलपुथल ल्याई दिएको बताउनुभयो । उहाँले मुलुकका दुई विशाल कम्युनिस्ट पार्टी बीचको मिलनले विश्वका सर्वहारा वर्गमा हौसला र उत्साह बढ्नुका साथै साम्राज्यवादी दलालहरुमा खैलाबैला मच्चिएको बताउँदै पार्टी एकता लाई अझै कसिलो र मजबुत पार्न कार्यकर्ता, शुभेच्छुक र जनस्तरमा भावनात्मक सम्बन्ध र एकता कायम गर्नुपर्ने बताउनु भयो ।

Image may contain: one or more people, people standing and indoor

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा नगरकमिटीका सचिव मणि पौडेलले सुझारु कार्यकर्ता र बलियो संगठन निर्माण गरि नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई बिश्वकै बलियो कम्युनिस्ट पार्टी बनाउनु पर्ने बताउनुभयो । उहाँले बैचारिक सचेतना र भावनात्मक एकता अहिलेको पार्टीको अपरिहार्य आबस्यकता भएको बताउनुभयो ।

Image may contain: one or more people, sky, cloud, tree, outdoor and nature

नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटीका अध्यक्ष हरी के.सी.को अध्यक्षता र शोभाखर आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य सुभाष चन्द्र बन्जाडे र जिल्ला सल्लाहकार कमिटीका सचिव गोपाल वन्जाडेले मन्तव्य राख्दै एकताबद्ध र जुझारु पार्टी निर्माणको निम्ति चनाखो भएर काममा खट्न कार्यकर्ता लाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्वाचन बिभागका प्रदेश सदस्य जगत के.सी.नगरकमिटीका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख हृदय कुमार भुसाल लगायतका बक्ताहरुले समेत मन्तव्य राख्नुभएको थियो । बैठकले टोल स्तरमा संगठन निर्माण गर्ने , पार्टी सदस्यता तत्काल नबिकरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको नगर प्रचार तथा प्रकाशन बिभाग प्रमुख हृदय कुमार भुसालले बताउनु भयो ।

कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न, क्रियाशिल सदस्यता वितरण हुने

प्रेमनारायण आचार्य
अर्घाखाँची, ५ चैत ।नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । नेपाली कांग्रेसको क्रियासिल सदस्य बितरण , नबिकरण र नयाँ क्रियासिल सदस्य बितरण गर्ने बिषयमा बैठक बसेको हो । बैठकमा पार्टि सभापति बिस्नु प्रसाद खनाल मुस्कानले केन्द्रीय निति तथा निर्देसन, पार्टिको भाबि रणनीति, क्रियासिल सदस्यता बितरण गर्ने नितिका बिषयमा जानकारी गराए ।

यही चैत ७ वा ८ गते ६१ वार्डमा वार्ड स्तरीय पार्टीको बृहत भेला राखि कार्यसमितिको निर्णय अनुसार क्रियासिल सदस्यता बितरण गर्न वार्ड सभापति हरुलाई निर्देसन दिनु भएको छ । जिल्ला पार्टी ले सबै वार्डमा जिल्ला बाट जिल्ला स्तरिय प्रतिनिधि खटाईएको छ ।नेपाली कांग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको अध्यक्षता, सचिब छबिलाल पौडेलको सञ्चालनमा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा पुर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, जिल्ला सचिव विष्णु भुसाल, कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महा समिति सदस्य सुर्यप्रसाद अधिकारी, यादव प्रसाद घिमिरे, केसब श्रेष्ठ, क्षेत्रीय सभापति केसवराज कुँवर, अच्युत गौतम, महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, इन्द्रमणि पौडेल लगायत महाधिवेसन प्रतिनिधि , जिल्ला सदस्यहरु ,क्षेत्रीय सभापति, ६१ वार्डका पार्टी सभापति, वडा अध्यक्षहरु लगायत जनबर्गिय सगठनका प्रमुख तथा प्रतिनिधि, नेपाली कांग्रेसका पुर्व पार्टि पदाधिकारीहरुको सहभागीता रहेको थियो ।