चैत १०, २०७६ काठमाडौं : सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा घर बाहिर निस्किन मिल्दैन। सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिसकेको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो। सोमबार एक युवतीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएपछि सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो। त्यस्तै बैठकले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगश भट्टराइको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा सोमबार (आजै) देखि लागु गर्नेगरी वलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपलको अस्पतालबाट कोरोनाको रोकथाम, नियन्त्रण र उपचारस्मबन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खटाउने भएको छ। त्यस्तै आवश्यकता अनुसार सरकारी सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु समेत परिचालन गर्ने भएको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न उक्त आदेश जारी गर्ने निर्णय गरिएको हो। ‘औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने’, आदेशमा भनिएको छ।
अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने पनि आदेशमा उल्लेख छ। आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ।
के गर्न मिल्छ ?
लक डाउन भएको अवस्थामा औषधि उपचार र खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा मात्रै घरबाट बाहिर निस्किन मिल्छ। तर अनावश्यक काममा बाहिर निस्किएमा सरकारले कारवाही गर्न सक्छ। लकडाउनका समयमा स्वास्थ्य, सुरक्ष, खाद्यवस्तु, खानेपनी, दुध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा सुचारु हुनेछन्।
के गर्न मिल्दैन ?
लक डाउनका बेला सवारी साधन सञ्चालन गर्न पाइने छैन। नियम उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारवाही गर्ने चेतावनी सरकारले दिइसकेको छ। नुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ। लकडाउनका बेला सबै आन्तरिक उडानहरु बन्द हुने छन्। सरकारी कार्यलय सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिन सक्ने छन्। औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योग बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीलाई बिदा दिइने छ। वसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्ति गर्ने व्यवस्था मिलाउन पाउनेछन्। कालाबजारी गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्ने भएको छ।
कसरी हुन्छ कार्यान्वयन ?
सरकारले उक्त आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय गरेको छ। त्यसका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने निर्णय सरकारले लिएको छ। त्यसका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने अधिकार दिइएको छ। उक्त अधिकार प्रजिअहरुलाई दिइएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले दिए।
के हुन्छ सजाय ?
सरकारले जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सजाय हुने खतिवडाले जानकारी दिए। आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउनेमाथि कारबाही हुने छ। नोभल कोरोना (कोभिड-१९) रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत उक्त आदेशसम्बन्धी जानकारी दिइएको थियो। सरकारको आदेश उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुनेछ।
source:thahakhabar.com