“कोरोनाको मृत्युु “

नारायण खनाल८ चैत्र २०७६, शनिबार

संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस “कोभिड -१९” संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व संकटमा पार्ने दुस्साहस रचिरहेको छ।

बिचरा ! कोरोनालाई के थाहा आफन्त गुमाउँदै ,रुँदै चुपचाप बस्न सक्दैन मान्छे किनकि आफ्नो बुद्धिले संसार मुठ्ठीमा राख्ने मान्छे आफ्नै ,लापरबाहीले आफन्त गुमाउनुको पिडाबोध गरिरहेको छ।

केही मान्छे निल्न सफल भएकोमा महामारीको हौवा फिजाउँदै त्यही उत्साहमा संसार भर शिकार गर्दै ,हिडिरहेको कोरोनाको अन्त्य खोजीरहेकोछ।

आफ्नो गल्तिले पाठ सिकिरहेको छ कोरोना विरुद्धको अभियानमा सफलता हासिल गर्दैछ ।

त्यसैले “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ।

साबुनपानीले राम्रोसँग हात धुँदै भिडभाडबाट जोगिँदै मास्क र सेनिटाइजरको प्रयोग गर्दै स्वास्थ्यका सम्पूर्ण नियम पालना गर्दै कोरोना विरुद्धको लडाइँमा मानव एक बनेको छ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेको छ,मान्छे सहयोगी मनहरु जन्मिरहेछन् सबै मिलेर आत्मबल बढाइरहेको छन् मानवीयताको उच्चतम प्रयोग गरिरहेकाछन् कर्तव्य निभाइरहेछन् सचेतना फैलाइरहेका छन् त्यसैले, त अब “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ बाँकी छ त केवल शतगतको तयारी सबै मिलेर मशानघाटमा कोरोना र कोरोनारुपिलाई सँगै पोल्ने काम ।

(लेखक नारायण खनाल मालारानी-३ निवासी हुनुहुन्छ)

Advertisement

‘फेक न्यूज’ भाइरल भएपछि बोल्यो नर्भिक अस्पताल : कोरोनाको बिरामी फेला परेकै छैनन्

काठमाडौ । नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित भेटिएको भन्ने गलत हल्ला फैलिएपछि अस्पतालले यसबारे खण्डन गरेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको प्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । 

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे । 

‘फेक न्यूज’ प्रति खेद प्रकट गर्दै उनले यसखाले अपराधपूर्ण अफवाहको कडा निन्दा समेत गरेका छन् । उनले भने, ‘हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ । तसर्थ, त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको माग समेत गरेको छ । 

‘त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि ऊ कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्छ भनी हामी जोडदार माग पनि गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ । source:ratopati.com

आज केही ठाउँमा चट्याङसहित पानी पर्ने

चैत ८, २०७६ शनिबार काठमाण्डाै – आज दिउँसोपछि केहि ठाउँमा चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयाे। चट्याङसहित परे पनि ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ ।

खण्डवृष्टि

यस्तै नजिकै कुनै ठाउँमा पानी पर्दा नजिकै अर्को ठाउँमा नपर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अबको दुई तीन दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्दैन । बिहान मौसम सफा हुने र दिउँसोपछि हावाहुरी चलेर मेघगर्जनसहित पानी पर्नु प्रि-मनसुनको विशेषता हो । अहिले प्रि-मनसुन चलिरहेको छ । 

कोरोना संक्रमण : इटलीमा एकैदिन ६ सय २७ जनाको ज्यान गयो, भारतमा संक्रमितको संख्या २ सय ४९

चैत ८, २०७६ शनिबार काठमाण्डाै – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ । योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा चार हजार ३२ पुगेको छ । यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ ।

यसैगरी, नेपालसँग खुल्ला सिमा रहेको देश भारतमा पनि संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएर भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने एकै दिन ४० जनामा संक्रमित पुष्टि भएर संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।

भारत

भारतका २२ राज्यमा कोरोना फैलिएको छ । महाराष्ट्रका चार शहर मुम्बई, पुने, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लक डाउन गरेको छ । दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ ।

अमेरिका

यस्तै, अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ५७ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या शनिवार बिहानसम्ममा दुई सय ६४ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या १९ हजार ६ सय ४० पुगेको छ । यस्तै इरानमा एकै दिनमा एक सय ४९ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या एक हजार चार सय ३३ पुगेको छ ।

स्पेन

स्पेनमा पनि शनिबार बिहानसम्ममा एक हजार ९३ जनाको ज्यान गएको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा पछिल्लो एक दिनमा थप सात जनाको ज्यान गएको छ । ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

चीन

चीनमा अहिलेसम्म तीन हजार दुइ सय ५५ जनाको ज्यान गएको छ भने ८१ हजार आठ जना संक्रमित मध्ये ७१ हजार ७ सय ४० जना निको भएर बिरामीको संख्या ६ हजार १३ मा झरेको छ । शनिवार बिहानसम्म १ सय ८५ देश र एउटा पानीजहाजमा गरी २ लाख ७६ हजार १०४ जना संक्रमित भएकोमा ११ हजार ४०२ जनाको ज्यान गैसकेको छ ।

९१ हजार ९५२ जना उपचारपछि निको भएका अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । source:ujyaaloonline

काठमाडौंबाट यात्रु ओसार्न व्यवसायीले २०० गाडी थप्‍ने

चैत ८, २०७६ काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले काठमाडौं छाड्ने यात्रुको चाप बढेपछि यातायात व्यवसायीले आज २ सय गाडी थप्ने तयारी गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप थेग्न मुश्किल भएकाले बस थप्न लागिएको बताए। सरकारले पर्सि सोमबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो।

यात्रुलाई सहज र सुरक्षित रुपमा गन्त्ब्यमा पुर्‍याउनका लागि आवश्यक व्यवस्थापन गर्न सरकार र यातायात व्यवसायीबचि आज बैठक पनि हुँदैछ। विहान ११ बजे यातायात व्यवसायीसँग छलफल गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। आवश्यक परे सरकारी गाडीहरु समेत यात्रु ओसार्नका लागि संचालन गर्ने बारे छलफल भइरहेको महानिर्देशक हमालले थाहा संचार नेटवर्कलाई जानकारी दिए।

कोरोना संक्रमणको त्रासले सरकारले अत्यावश्यक बाहेकका सेवा दुई हप्ता बन्द गर्ने घोषणा गरेसँगै दशैंकै झल्को दिनेगरी यात्रुहरु काठमाडौंबाट बाहिरिरहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ८ सय ८२ यात्रु बाहिरिएका छन्। आज र भोली यो संख्या थप बढ्ने यातायात व्यवसायीको अनुमान छ। यसैबीच काठमाडौंबाट पुर्वका विभिन्न जिल्लामा जाने गाडीका यात्रुलाई यातायात व्यवसायीले मास्क र सेनिटाइजर वितरण गरिरहेका छन्।

अरनिको यातायात कम्पनीले यात्रुहरुलाई मास्क र सेनिटाइजरको व्यवस्था गरेको कम्पनीका अध्यक्ष चित्रबहादुर कुँवरले जानकारी दिए। संभावित कोरोना भाइरसको संक्रमण हुन नदिई यात्रुलाई सुरक्षित रुपमा गन्तब्यमा पुर्‍याउनका लागि मास्क र सेनिटाइजरको व्यवस्था गरिएको अध्यक्ष कुवँरले बताए।
source:thahakhabar