प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी चिकित्सक भन्छन् : ‘डेन्जर जोन’ बाट निस्किनु भयो, अब चनाखो हुनुपर्छ

फागुन २१, २०७६ काठमाडौं : मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रियाको क्रम ओलीको शरीरमा भाञ्‍जी समीक्षा संग्रौलाको मिर्गौला राखिएसँगै दिउँसो पौने ३ बजे सकिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा भर्ना भएका ओलीलाई शल्यक्रियापछि पोस्ट आपरेटिभ वार्डको आईसीयुमा राखिएको छ।  उनलाई मिर्गौला दिएकी भाञ्‍जी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीलाई पनि पोस्ट आपरेटिभ वार्डकै आईसीयुमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन्। ओलीलाई मृगौला दान गर्ने समीक्षाको स्वास्थ्य अवस्थामा पनि सामान्य छ। संग्रौलाले एउटा मृगौला प्रधानमन्त्री ओलीलाई दान गरेकी हुन्। 

प्रत्यारोपणमा संलग्‍न मिर्गौला प्रत्यारोपणपछि अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ४ बजे होस खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार होस खुलेपछि प्रधानमन्त्री चल्मलाउन थालेका छन्।   प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए। ‘सबै मूख्य सुचकांकहरु राम्रो अवस्थामा रहेका छन्’, उनले भने, ‘प्रत्यारोपित मृगौलाले काम गरेको छ। प्रत्यारोपण उपचार कक्षमा राखेर अबको उपचारलाई निरन्तरता दिन्छौं।

‘ प्रत्यारोपणमा संलग्न प्रा. डा. प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको सफतालपूर्ण मिर्गौला प्रत्यारोपण भएको जानकारी दिए। उनका अनुसार बिहान १० बजेर ५ मिनेटदेखि मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रियाभ सुरु भएको थियो। जुन प्रक्रिया मिर्गौला प्रत्यारोपणसँगै दिउँसो २ बजेर ४५ मिनेटमा सकिएको थियो। ज्ञवालीका अनुसार दोस्रो पटक गरिएको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण जटिलखालको थियो।

‘तर पनि हामी सफल भयौं’, उनले भने, ‘प्रधानमन्त्रीको आत्मविश्‍वास जस्तै अप्रेशन पनि सफल भयो।’ डा. ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटमा पिशाव लाग्‍नुपर्ने हुन्छ। प्रधानमन्त्री ओलीको हकमा पनि १५ मिनेटभित्रै पिसाव लागेको उनले जानकारी दिए। १५ मिनेटभित्रै पिसाव लागेपछि चिकित्सकहरुले प्रधानमन्त्री ‘डेन्जर जोन’ बाट बाहिर निस्किएको भन्दै खुसी साटासाट गरेका थिए। मिर्गौलाले काम गर्न थालिसकेकाले अबको केही साता चिकित्सकहरुले कडा निगरानी गर्नुपर्ने बताएका छन्। डेढ घण्टापछि ओली होसमा आएका छन्। तर उनलाई बोलचाल गर्न अझै समय लाग्छ।
चिकित्सक टोली


करिब ८ सय जनाको मिर्गौला प्रत्यारोपण गरिरसकेको त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रियामा १५ जना भन्दा नेपाली र भारतीय चिकित्सक खटिएका थिए।  प्रधानमन्त्री ओलीको मृगौला प्रत्यरोपणका लागि शल्यचिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोली सहभागी थिए। त्यसैगरि डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधान पनि थिए।

उनीहरुसँगै पहिलो पटक ओलीको मिर्गौला प्रत्यारोपण गरेका भारतीय डा. अनन्त कुमार पनि प्रत्यारोपण टोलीमा थिए।  मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिब्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागी थियो। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोली जुटेको थियो।

संक्रमणको खतरा 

मिर्गौला प्रत्यारोपणपछिको पहिलो र खतरापूर्ण ‘डेन्जर जोन’बाट प्रधामन्त्री ओली बाहिर आइसकेकाले चिकित्सकहरुलाई ठूलो राहत मिलेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार अहिले ओली र संग्रौला दुवैको अवस्थामा खतरामुक्त छ। 

‘प्रत्यारोपणपछि प्रधानमन्त्रीको शरीरबाट सामान्य रुपमा पिसाब बाहिरिएको छ’, उनले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेपछि पहिलो स्टेपको ‘डेन्जर जोन’ पार भयो। अब उहाँलाई आइसीयुमा राखेर निगरानी गर्छौँ।’ अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डको आईसीयुमा सारिएका ओलीलाई अब डिस्चार्ज नहुन्जेल त्यहीँ राखिनेछ। तर अबको चुनौती प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउनु हो। ओलीलाई अबको ७ देखि १० दिनसम्म उक्त वार्डको आईसीयुमा राखेर चिकित्सकले निरन्तर र कडा निगरानी गर्नेछन्।  चिकित्सकहरुले अप्रेसनको तीन घण्टा, तीन दिन र एक सातासम्म उच्च जोखिम हुन सक्ने बताएका छन्।

डा. सायमीले यो समयमा संक्रमणको जोखिम हुने भएकाले निरन्तर निगरानीमा राख्‍नुपर्ने बताए। पहिलो पटक १३ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई सामान्य अवस्थामा पनि संक्रमण भइरहन्थ्यो। नेकपा एमालेको नवौँ महाधिवेशनका बेला ओलीको हातसहित शरीरका अन्य भागमा लामो समय संक्रमण भएको थियो। 
source:thahakhabar.com

कोरोना संक्रमणको जोखिम : थुप्रै औपचारिक कार्यक्रम स्थगित

फागुन २१, २०७६ बुधबार काठमाण्डाै – कोरोना भाइरसको जोखिम बढेपछि धेरै औपचारिक कार्यक्रमहरु स्थगित हुन थालेका छन् ।

चीनवको वुहानबाट सुरु भएर ८० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरे अवस्था भयावह हुने भन्दै उच्च सतर्कता अपनाउन औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ ।

संक्रमण विश्वरभर फैलिएसँगै नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका सबै कार्यक्रम स्थगित भएका छन् । विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवद्र्धनको काममा सरकार लाग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेककुमार भट्टराईको भनाइ छ ।

यस्तै सगरमाथा संवाद कार्यक्रम पनि स्थगित भएको छ ।

यस्तै सरकारले चीनसहित कोरोनो भाईरस फैलिएका देशहरु जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुलाई रोक्न सुरु गरेको छ । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्च स्तरिय समिति पनि समेत गरेको छ । नेपालमा कोरोना संक्रमणको त्रासकै कारण कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा अघि सरेको छ । शिक्षा मन्त्रालयले सबै विद्यालयले चैत ५ गतेअघि नै परीक्षा सक्न निर्देशन दिएको छ ।

यसैगरी केही पालिकाले पनि आफ्ना औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरिसकेका छन् । सरकारले सभा, सम्मेलन, भोजभतेर, लगायत कार्यक्रम नगनर्ग पनि सबैसँग आग्रक गरेका छन् । आउँदो आइतबार परेको अन्तराष्ट्रिय नारी दिविसको अवसरमा हुने सबै कार्यक्रम स्थगित गर्ने सरकारले निर्णय गरेको छ ।

यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले ठूलो समूहमा आयोजना हुने आमसभा, भोला लगायत पार्टीका सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ । फागुन पहिलो हप्तादेखि सुरु ‘पार्टी एकता सुदृढिकरण र जनसम्बन्ध विस्तार विशेष अभियान’ अन्तर्गतका प्रदेश भेला तथा प्रशिक्षणका कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको नेपालले जनाएको छ ।

यसैबीच, नजिकिँदै गरेको होली पर्वमा पानी छ्याप्ने, होली खेल्ने, भिडभाडमा रमाइलो गर्ने लगायत काम नगर्न डाक्टरले सुझाव दिएका छन् । सकेसम्म यो वर्षको होलीमा भिडभाडमा नै नजान डाक्टरको आग्रह छ । रुघाखोकी र ज्वारो  आएमा तत्काल अस्पताल जान तर नआत्तिन पनि डाक्टरको सुझाव छ । source:ujyaaloonline

प्रम ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा, स्वास्थ्य स्थिति राम्राे : चिकित्सक

फागुन २१ काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा आलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिनुभयो । निर्देशक खड्काले विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिनुभएको हो ।

उहाँले अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको पनि जानकारी गराउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरहरुले नै गर्ने अस्पातलले जनाएको छ ।

उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । बिहान ९ बजे आसपासमा सुरु गरिने मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो समय नेपालमा मिर्गौला प्रत्यारोपण ९८ प्रतिशत सफल भएको पाइएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको शल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको भन्दै प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमै मृगौला प्रत्यारोपण गराउन लाग्नुभएको भन्दै डाक्टर तथा नागरिकहरुले खुशी व्यक्त गरेका छन् । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने बताउनुभयो ।  

डा देवकोटाले शुक्रराज ट्रपिकल, पाटन अस्पताल र सशस्त्रमा शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस्तै, काठमाण्डौ उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको उहाँले स्पष्ट पार्नुभयो । source:ujyaaloonline

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

फागुन २१, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहानबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ।  प्रत्यारोपण विहान ९ बजेबाट शुरु भई पाँच घण्टामा सकिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीले जानकारी दिए।  मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो।  अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५ देखि ६ दिनमा घर फर्काउन मिल्ने बताए। 

प्रधानमन्त्री ओलीले मंगलबार डाक्टरहरुसँग प्रत्यारोपणपछि एक हप्तामा मन्त्रिपरिषद्‌को बैठक बोलाउने बताएका छन्। प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्।

अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्। प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन्। १२ वर्ष अघि पहिलो पटक मिर्गौला फेरेका प्रधामनन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो। 
source:thahakhabar.com