भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाललाई डब्ल्यूएचओको सुझाव

चैत ९, २०७६ काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ।  दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो।  कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाइएको हो।  नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ।
source:thahakhabar.com

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने एकजना पक्राउ, कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको नेपाली सेनाको भनाई

चैत ८,काठमाण्डौ – नर्भिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको भन्दै फेसबुक म्यासेन्जरमार्फत अफवाह फैलाएकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भइ भक्तपुर, सिपाडोल बस्दै आएका २० वर्षीय विजय थापा मगर पक्राउ परेकाे प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयाे । 

उनले काठमाण्डौका नर्भिक र टेकु अस्पताललगायत अन्य अस्पतालमा कोरोनाका बिरामीकाे उपचार भइरहेको र बिरामीकाे ज्यान नै गएको भन्दै अफवाह फैलाएका थिए । अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कारोना सङ्क्रमणकाे कुनै बिरामीको उपचार नभएको विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । प्रहरीले गलत हल्लाकाे पछि नलागेर सरकारको आधिकारिक सूचना र जानकारीमा विश्वास गर्न पनि आग्रह गरेको छ । मुलुकी अपराध संहिताअनुसार अफवाह फैल्याउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ । 

यसैविच नेपाली सेनाले कोभिड-१९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छ। एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि सेनाले मुख खोलेको हो।

नेपाली सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहरुमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड-१९) विरुद्ध किटनासक औषधि छरिने’ भनी आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।  उनले सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेकै बेला यस्तो अफवाहको पछि नलाग्न पनि भनेका छन्।

‘नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारीविरुद्ध न्युनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ’, उनले भनेका छन्, ‘यसका अलावा सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ।’ उनले यो संवेदनशील घडीमा कसैलाई पनि भ्रमको पछि नलाग्न पनि अपिल गरेका छन्।

‘अहिलेको संवेदनशील घडीमा यस्तो भ्रामक, झुटो र मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठकवर्गमाक अनुरोध गर्दछ’, सैनिक जनसम्पर्क निर्देशनालयले भनेको छन्, ‘कोरोना भाइरस (कोभिड-१९) प्रतिकार्यमा सेनाको गतिविधिबारे आम जनमानसमा कुनै दुविधा भएमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।’  

नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने वाचा पनि गरेको छ। उसले उक्त भाइरसको उच्च जोखिमविरुद्ध बचाऊ तथा रोकथामका लागि उपलब्ध सबै उपाय अवलम्बन गर्न प्रतिवद्ध रहेको पनि जनाएको छ। source:ujyaalo & thahakhabar

पत्रकार महासङ्घकाे आग्रह – सञ्चारकर्मीका लागि निवासबाटै काम गर्ने व्यवस्था मिलाउनुस्

 चैत ८, २०७६ काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले काेराेना भाइरस (कोभिड -१९) को जोखिमलाई मध्यनजर गदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ । 

शनिबार बसेको महासङ्घकाे केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले बताउनुभयो ।

सञ्चारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन, सञ्चार माध्यम र सञ्चारकर्मीलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक साधनमा सहुलियत दिन सरकारसँग माग गर्ने निर्णय पनि गरेको विष्टले जानकारी दिनुभयाे ।

यस्तै बैठकले कोरोना भाइरसको सङक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य र सचेतनामूलक सामग्री प्रकाशन, प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गरेको छ ।

त्यसैगरी बैठकले नेपालमा भाइरसको स‌ङ्क्रमण फैलिन नदिनका लागि अपनाउनुपर्ने सावधानीबारे सञ्चार क्षेत्रको उत्तरदायित्वका सम्बन्धमा महासङ्घका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

यसका लागि महासङघका तर्फबाट सञ्चार माध्यम र पत्रकारको दायित्वका सम्बन्धमा सामग्री तयार गर्ने, सुरक्षित रही सत्य र तथ्य सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा गलत र भ्रमपूर्ण प्रचार हुन नदिन अनुगमन समिति समेत गठन गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्ने उपायसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन, प्रसारण गर्न आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । source:ujyaaloonline

विभिन्न देशबाट आफूखुसी फर्किएका ६२ जना नेपाली क्वारेण्टाइनमा

चैत ८, भक्तपुर – विभिन्न देशबाट स्वदेश फर्किएका ६२ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेण्टाइनमा राखिएकाे छ ।

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई र कतारलगायतका देशबाट फर्किएका उनीहरुलाई क्वारेण्टाइनमा पठाइएको हो । 

थाई एयरवेजबाट आएका ४९ र एयर इण्डियामा आएका १३ जना नेपालीलाई क्वारेण्टाइनमा पठाइएको छ । क्वारेण्टाइनमा २ जना डाक्टरसहित नर्स र अरु स्वास्थ्यकर्मी गरी पाँच जना खटिएका र एउटा एम्बुलेन्स तथा त्यसका चालक तयारी अवस्थामा राखिएका छन् । 

स्वाब भने आइतबार सङ्कलन गरिने भएकाे छ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कर्टिङ्ग गर्दै पौने ६ बजे क्वारेण्टाइनमा पुर्याएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

उनीहरुलाई कम्तीमा १४ दिन क्वारेण्टाइनमा राखिनेछ । सङ्क्रमण पोजेटिभ देखिए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु लगिनेछ । आफ्नै ईच्छाले नेपाल फर्किएका उनीहरु क्वारेण्टाइनमा रहँदाको खर्च आफैँले बेहोर्नुपर्नेछ । 

प्राधिकरणको क्यान्टिनमा खाना बनाएर प्याकिङ्ग गरी उनीहरुलाई खाना पठाइएको र क्वारेण्टाइनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै व्यवस्थापन गरिएको छ । क्वारेण्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले सुरक्षा दिएको छ । source:ujyaaloonline

काेराेना भाइरसकाे जाेखिम कम गर्न ६ वटा कार्यदल गठन

चैत ९, २०७६ आइतबार काठमाण्डाै – सरकारले कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ । 

कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ ।

स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ । देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ । यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै निर्णय/निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्न रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ ।

यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको सञ्चार मन्त्री खतिवडाले बताउनुभयो । स्वयंसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई पालिका र प्रदेश सरकारमार्फत सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।  source:ujyaaloonline

फाइल फोटो