बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु ,युएईबाट फिरेका उनलाई उच्च ज्वरो आएको थियो

चैत १६, २०७६ बुटवल : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो।  स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्‍वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए। उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए।  चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले उनको स्वाब परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको छ। अहिले उनको सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तहरूको सूचीत बनाउने काम भइरहेको मृतकका छिमेकी दीपक अधिकारीले जानकारी दिए ।
source:thahakhabar.com

अर्घाका ८ विपन्न परिवारलाई समाजसेवी वावुराम भुसालद्धारा खाद्यान सहयोग

प्रेम नारायण आचार्य चैत्र १६, २०७६लकडाउनका कारण घरमा चुलो नबोलेका सन्धिखर्क ९ अर्घाका ८ विपन्न परिवारलाई समाजसेवी वावुराम भुसालले खाद्यान सहयोग गर्नु भएको छ । सारंगी बजाउदै घरमा पुगेर तथा अर्काको घरमा मजदुरी गरेर दुइछाक जोहो गर्दै आएका गन्धर्ब परिवार लकडाउन पछि खाद्यान अभावमा रहेका थिए । स्थानीयहरुले खानेकुराको समस्या भएको जानकारी गराएपछि समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता भुसालले प्रति परिवार एक बोरा चामल र तेल सहयोग गरेका हुन् ।
नत सारंगी बजाउदै घरमा हिड्न हुने नत गाउँघरमा मजदुरीको लागि बोलाउने भएपछि उनीहरु भोकै बस्नु पर्ने अबस्था सृजना भएको थियो । सन्धिखर्क ९ अर्घाका स्थानीय झुमा गन्धर्ब, कमला गन्धर्ब, पुजा गन्धर्ब, टानवहादुर गन्धर्ब, बालुकी गन्धर्ब , बाबुराम गन्धर्ब, कल्पना विक र अमृता विक गरी ८ जनालाई चामल र तेल वितरण गरेको समाजसेवी भुसालले बताए । कहिकतै खान नपाएर भोकै बसेको खवर पाए आफु खाद्यान सहयोग गर्ने भुसालको भनाई छ ।

बँदेल आक्रमणमा परी तीन जना घाइते

लक्ष्मण घिमिरेआइतबार, १६ चैत २०७६, अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा बँदेलको आक्रमणमा परी ३ जना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसेका उनीहरुलाई बँदेलले आक्रमण गरेको थियो।

बँदेलको आक्रमणले घाइते भएकी ६५ वर्षिया चुमा भुसाल र ३२ वर्षिय बोमबहादुर घर्तीलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। अर्का एक जना ३८ वर्षिय कल्लु चौधरी भने सामान्य घाइते भएकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको अस्पताल प्रमुख कपिल गौतमले जानकारी दिए।

नजिकै रहेको जंगलबाट आएको बँदेलले घरमै बसेका उनीहरुलाई आक्रमण गरेको थियो। प्रतिकारमा उत्रिएका उनीहरुले धारिलो हतियार प्रयोग गर्दा बँदेल पनी मरेको जिल्ला वन कार्यालयका प्रमुख शिव शर्माले बताए। उनका अनुसार घाइते अवस्थामा रहेको बँदेललाई उद्वार गरी ल्याइएको थियो। पशु अस्पतालमा उपचारकै क्रममा बँदेल मरेको हो। ५० किलोग्राम बराबरको मरेको भाले बँदेललाई जिल्ला वन कार्यालय परिसरमा गाडिएको छ।