साउन २२, २०७५ धनकुटा : पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ। सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा कम मात्रामा परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिए।
बन्दका कारण धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्। अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको डिएसपी प्रसाईले जानकारी दिए। आफूलाई पहिचानवादी राजनीतिक दलका रुपमा चिनाउने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेको हुन्।
वि.सं. १८३१ साउन २२ गते गोरखा सरकार र लिम्बुवान सरकारबीच भएको सन्धिलाई कालो दिनको रुपमा स्मरण गर्दै २०६६ देखि हरेक वर्ष साउन २२ गते बन्द गर्दै आएको छ। बन्दमा लिम्बुवान जनता पार्टी, खम्बुवान राष्ट्रिय मञ्च, लिम्वुवान मुक्ति मोर्चा संघीयवादी, संघीय खम्वुवान लोकतान्त्रिक पार्टी, लिम्वबवान क्रान्तिकारी पार्टी, खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान प्रान्तीय राष्ट्रिय मञ्चले ऐक्यवद्धता जनाएका छन्।
उनीहरुले एकीकरणको समयमा लिम्बुवानी जनतासँग भएको सम्झौता कार्यान्वयन नभएकाले बन्द गर्नु परेको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य लोक आङलाले बताए। बन्दमा एम्बुलेन्स, विवाह, मलामी, कुटनीतिक नियोग र प्रेसको सवारीसाधनलाई अवरोध नगर्ने बताइएको छ।