२४औं आदिवासी जनजाति दिवस अर्घाखाँचीमा पनि मनाइयो

जेबी दर्लामी साउन २४ अर्घाखाँची

२४औं विश्व आदिवासी दिवस अर्घाखाँचीमा पनि सम्पन्न भएको छ ।  पहिचान, प्रतिनिधित्व र स्वायत्तता स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान भन्ने मूल नारा लेखिएको ब्यानरका साथ सन्धिखर्क बजार परिक्रमा गरी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका सभापति पिताम्बर शर्माले यो देश एक सिंगो शरिर र यहाँका हरेक जातजाति त्यसका अँगहरु भएका कारण कुनै अँग दूर्बल भए शरिर बलियो नरहने बताए । उनले सबै आदिवासी जनजाति एक भएर अगाडि आए राज्यले हरेक सहयोग गर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल ले आफ्नो पालिकाभित्र हरेक जाति समुदायका आराधनास्थल रहेको अवस्थामा नेवार समुदायको कुलदेवता भिमसेनको मन्दिर पनि बनाउन आफू तयार रहेको जनाए । सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक किशोरले पनि राज्यको प्रावधान र नीतिनियम भित्र रहेका हरेक सेवा आदिवासी समुदायलाई प्रदान गर्ने काममा आफू लागिरहेको बताए ।

कार्यक्रममा पत्रकार सहयोगी बिसी, नेपाल मगर संघका जिल्ला सल्लाहकार खिम घर्तिमगर, नेवा देय दबुका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, कुमाल समाज सुधार समितिका जिल्ला उपाध्यक्ष बीरबहादुर मुखिया, तमू धिँ जोका जिल्ला अध्यक्ष गिरमान गुरुङ, नेपाल मगर संघ अर्घाखाँचीका सहसचिव दिनेश घर्तिमगर, सन्धिखर्क वडा नम्बर १ र २ का सदस्यद्वय सुमित्रा मुखिया र सुष्मा श्रेष्ठले ,विशेष नापी शाखाका प्रमुख खिम रानामगर, सिटीजन लाइफ इन्स्योरेन्सका प्रतिनिधि लक्ष्मण मरासिनी लगायतका शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम आदिवासी जनजाति महासंघ अर्घाखाँचीका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षता सदस्य सीता श्रेष्ठको स्वागत मन्तव्य र सचिव नेत्र थापामगरको सन्चालनमा सम्पन्न भएको हो ।

Advertisement

सन्धिखर्कमा निर्माणाधिन नरमदेश्वर शिवालय मन्दिरमा गजुर स्थापना

विशाल पाण्डे, साउन २४, अर्घाखाँची

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा निर्माणाधिन नरमदेश्वर शिवालय मन्दिरमा गजुर स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं. १ पटुवाथुममा रहेको मन्दिर परिसरमा बिहिबार आयोजना गरिएको विशेष कार्यक्रमका विच गजुर स्थापना गरिएको हो ।

सुनको जलप लगाइएको आन्दाजी १० किलो चाँदीको गजुर विधिपुर्वक स्थापना गरिएको निर्माण समितिले जानकारी दिएको छ । करीव ७० लाखको लागतमा बन्दै गरेको मन्दिर आउने शिवरात्रीसम्म सम्पन्न गरिसक्ने तयारी गरिएको समितिले जानकारी दिएको छ । मन्दिर निर्माणको क्रममा आर्थिक समस्या परेको भन्दै समितिले सहयोगदाताहरुलाई सहयोगको लागि अपिल समेत गरेको छ । आर्थिक सहयोग अनुसार दाताहरुलाई स्ममान गर्ने समेत मन्दिरले जानकारी दिएको छ ।

नेपाली समाजको पुरातनवादी सोंचका कारण मुलुकमा छुवाछुतको समस्या हट्न नसकेको एक कार्यक्रमका बक्ताहरुको भनाई

गोपाल भट्टराई साउन २४ अर्घाखाँची

नेपाली समाजको पुरातनवादी सोंचमा परिवर्तन आउन नसकेका कारण मुलुकमा जातिय भेदभाव तथा छुवाछुतको समस्या हट्न नसकेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सामाजिक सचेतना र नागरिकको ब्यबहारमा परिवर्तन नआए सम्म यो समस्या हटेर नजाने उनिहरुको ठहर छ ।

जातिय समता समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्क ७ खांचिकोटमा सम्पन्न भेलामा बोल्दै समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली र राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले यस्तो ठहर गर्नुभएको हो । मुलुक २१ औं शताब्दीमा चलिरंहदा समेत जातिय बिभेदका घटना हुनु बिडम्बना भएको भन्दै उहांहरुले यसको निराकरणको निम्ती राज्यले नैतिक र ब्यबहारिक शिक्षा पाठ्क्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै सरोकारवाला सबैले सचेतना मुलक अभियान गाउं गाउंमा लैजानुपर्ने पनि उहांहरुको धारणा रहेको छ । राजमोका स्थानिय नेता अरुण भट्टराई र शिवहरी भट्टराईको बिशेष उपस्थिति रहेको भेलाले पुन बहादुर नेपालीको अध्यक्षतामा १५ सदस्यिय जातिय समता समाज खांचिकोटको गठन गरेको छ । जसको उपाध्यक्षमा डोल बहादुर नेपाली,सचिव सपना नेपाली,सह–सचिव देवका परियार र कोषाध्यक्षमा शुभकला नेपाली चयन हुनुभएको छ ।

बालक अपहरण र इन्काउन्टर प्रकरणः आईजीपीले समितिमा जवाफ दिनुपर्ने माग

साउन २४ काठमाडौं–  बालक अपहरण र  इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीका प्रमुख (आईजीपी)  सर्वेन्द्र खनालले जवाफ दिनुपर्ने माग सुशासन समितिको बैठकमा उठेको छ ।

बिहिबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद देवेन्द्र राज कँडेलले इन्काउन्टरमा प्रहरीमाथि प्रश्न उठेको भन्दै आईजीपीले  समितिमा जवाफ दिनुपर्ने माग गरे । उनले आईजीपीलाई समितिमा बोलाएर सत्यतथ्य जानकारी दिनुपर्नेमा समेत माग गरे ।

कोटेश्वर काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या भएसँगै प्रहरी इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको  थियो । इन्काउन्टर फर्जी भएको भन्दै समाचार बाहिर आएसँगै समितिमा  जवाफको माग भएको हो ।

समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे औपचारिक धारणा बाहिर ल्याइसकिएको र संसदलाई जानकारी गराइने बताए ।

source:ratopati.com

निशान हत्या : के थियो अपहरणकारी र एसएसपी बीचको एसएमएस प्रकरण ?

काठमाडौँ । साउन २० गते आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल्न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङले निशानको हत्या गरेको दाबी गरेका छन् । तर, प्रहरी ‘इन्काउन्टर’ मा अजय र गोपाल दुवैको मृत्यु भैसकेको हुनाले अपहरणभित्रको खोतल्न बाँकी वास्तविक कारणमा पर्दा समेत लागिसकेको छ ।

आइतबार साँझ अपरिचित नम्बरबाट आफ्नो सन्तानको अपहरण भएको र छोरा पाउनका लागी शुरुमा २ करोड त्यसपछि ४० लाख फिरौती चाहिने सूचना आएपछि निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेकी थिइन् ।

महानगरीय प्रहरी कन्ट्रोलले तत्काल महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) मनोज न्यौपाने र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) विश्वराज पोखरेललाई घट्नाबारे जानकारी गराएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले पनि तत्काल घटनाको जानकारी पाएका थिए ।

बालक अपरहरण भएको सूचना पाएपछि महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेलाई घट्नास्थलतर्फ जान आदेश दिएका एसएसपी विश्वराज पोखरेलले निशानको आमा चमेली खड्कालाई फिरौती माग गर्ने नम्बरमा एउटा एसएमएस पठाए, ‘बच्चा तुरुन्त छोड, नत्र तेरो दिन सकिन्छ –एसएसपी काठमाडौंँ ।’

पोखरेलले पठाएको त्यही एसएमएसका कारण अपहरणकारीहरुले ‘पुलिसले थाहा पाइसक्यो भन्दै’ बच्चा मारेको तर्क कत्तिपयले गरेका छन्, तर वास्तबिकता त्यस्तो नभएको पाइएको छ ।

रातोपाटीलाई प्राप्त नेपाल टेलिकमको कल डिटेल अनुसार अपहरणकारीले फिरौती माग्न प्रयोग गरेको मोबाइल नम्बर ९८४३६२०६७०  मा महानगरीय अपराध महाशाखाका प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावलले राती ९ बजे फोन गरेका थिए । रावलले फोन गर्दा नै अपहरणकारीले उक्त सिमकार्ड अफ गरिसकेका थिए ।

टेलिकमकै रेकर्ड अनुसार काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले राती ९ बजेर ४६ मिनेट २० सेकेन्डमा चेतावनीसहितको म्यासेज पठाएका थिए । फोन अफ भएकाले उक्त म्यासेज डेलिभर नै भएन ।

‘अपहरणकारीको मोबाइल अफ थियो, फोन खोलेपछि एसएमएस हेरेर बच्चा छाडुन् भनेर म्यासेज गरेको हुँ’ रातोपाटीसँग कुरा गर्दै एसएसपी पोखरेलले भने, ‘तर, मेरो एसएमएस हेर्नुअघि नै उनिहरुले बालकको हत्या गरिसकेका रहेछन् ।’

रातोपाटीलाई प्राप्त नेपाल टेलिकमको रेकर्ड अनुसार एसएसपी पोखरेलले पठाएको म्यासेज भोलिपल्ट अर्थात सोमबार बिहान ९ बजेर ८ मिनेट ४४ सेकेन्डमा डेलिभर भएको छ, जत्तिबेला निशानको हत्या भैसकेको थियो ।

(हेर्नुहोस् टेलिकमको रेकर्ड)  

समाचार स्रोतका अनुसार महानगरीय अपराध महाशाखाबाट अप्रेशनमा खटिएको प्रहरी टोलीले ९८४३६२०६७० नम्बरको सिमकार्ड अजय तामाङको गोजीमा फेला पारेको थियो । सिमकार्ड फेला परेपछि प्रहरीले अर्को सेटमा हालेर स्विच अन गर्दा पोखरेलले पठाएको म्यासेज देखिएको थियो ।

बच्चा मारेपछि खुलेआम पुरानो सिमकार्ड 

९८४३६२०६७० गोपाल र अजयले बच्चा अपहरणपछी फिरौती माग्न प्रयोग गरेको नयाँ सिमकार्ड थियो । उक्त नम्बर उनीहरुले गोपाल तामाङको मोबाइलमा हालेर चमेलीलाई फोन गरेका थिए । यही नम्बरबाट

शुरुमा दुई करोड माग गरेका उनीहरुले करीब दुई मिनेटपछि अर्को फोन गरेर चमेलीलाई भने, ‘दुई करोड नदिए ४० लाख दिनु, बच्चा पाउँछौँ ।’

यहाँ अनुसन्धानबाट खुल्नसक्ने पाटो के देखिन्छ भने, सम्भवत गोपाल र अजय पीडित चमेलीले ४० लाखको जोहो गर्न सक्नेमा विश्वस्त थिए ।

चमेलीसँग दोस्रो कुरा भएपछि बन्द भएको उक्त सिमकार्ड पछि प्रहरीले बरामद गरेपछि मात्र खुलेको प्रहरी स्रोतको भनाई छ ।

तर, त्यो बीचमा के भयो ? त्यस बीचमा ९८४३६२०६७० नम्बरको सीमकार्ड झिकेर अपहरणकारीहरुले ९८६१५५५१९९ नम्बरको सीमकार्ड सोही मोबाइल सेटमा हालेर चलाए ।

उक्त सिमकार्ड गोपालको पहिल्यैदेखि चलाउँदै आएको नम्बर हो । सोही सेटको आईएमईआई नम्बर ट्रेस गरेर प्रहरी अपहरणकारीसम्म पुगेको बताइएको छ ।

आईएमईआई नम्बर ट्रेस गरेपछि देखिएको गोपालको पुरानो नम्बर ९८६१५५५१९९ खुल्ला भएपछि देखिएको लोकेशनका आधारमा अपहरणकारी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीको निशानाबाट छिप्न सकेनन् । अन्ततः उनीहरु प्रहरी ‘इन्काउन्टर’को शिकार भए ।

source:ratopati.com