एकलौटी ढंगबाट नाम सिफारीस गरीएको भन्दै तत्कालीन एमाले भित्र असन्तुष्टी

श्याम घिमिरे भदौ ३ अर्घाखाँची
गत जेष्ठ ३ गते नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच पार्टी एकता पश्चात नेकपा अर्घाखाँचीको जिल्ला नेतृत्वका लागी प्रदेश स्तरीय कार्यदलमा नाम सिफारीस गर्दा एकलौटी ढंगबाट नाम सिफरीस गरीएको भन्दै तत्कालिन नेकपा एमाले भित्रका केही नेताहरुबिच असन्तुष्टी पैदा भएको छ ।

जिल्ला कमिटीका पदाधीकारीहरुसंग समेत कुनै परामर्श नगरी पार्टीको बिधि,बिधान,पद्धती र स्थापित मान्यता बिपरीत मनोमानी ढंगले मौजुदा कमिटीको वरियता क्रमलाई बेवास्ता गर्दे कनिष्ट सदस्यबाट पदाधिकारी बनाउने गरी कार्यदलमा नाम सिफारिश गरिएको प्रती नेकपा एमाले जिल्ला पार्टी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

तत्कालिन नेकपा एमालेका कार्यवाहक अध्यक्ष जिबनारायण कोईरालाको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसरी आपत्ती जनाउनेहरुमा तत्कालिन नेकपा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष जिवनारायण कोईराला, सचिव रामबहादुर चौहान र उपसचिव प्रेमनारायण गैरे रहेका छन ।

बिज्ञप्तीमा यसरी एकलौटी ढंगबाट निर्णय गर्दा पार्टी पद्धतीको बर्खिलाप हुने, पार्टी भित्र गम्भीर नकारात्मक समस्याहरु सिर्जना हुने र व्यक्तीबादी प्रबृति हाबीभई ब्यक्तिगत निर्णयले प्रश्रय पाउने भएकाले त्यसो नगरी तत्कालीन मौजुदा जिल्ला कमिटीका सिनियर पदाधीकारीहरु मध्यबाट मात्रै पदाधीकारी चयनगर्न र वरियताक्रम अनुरुप जिल्ला संगठन कमिटी निर्माण गर्न विज्ञप्ती मार्फत सम्बद्ध निकायहरुमा अनुरोध गरिएको छ ।

प्रदेश स्तरीय कार्यदलले नेकपा अर्घाखाँचीको जिल्ला अध्यक्षमा मालारानी गाँउपालीका वडानम्बर ५ बाँगी निबासी तत्कालीन नेकपा एमालेका जिल्ला सदस्य पिताम्बर भुसालको नाम सिफारिस गरेको छ ।

Advertisement

फिजीमा ८.१ रेक्टर स्केलको भूकम्प

भदौ ३, २०७५ फिजीमा ८.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।  आइतबार बिहान फिजीको पूर्वी लेभुका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ। भूकम्पको क्षतिको विवरण आइसकेको छैन। शक्तिशाली भूकम्पका कारण सुनामी आउने खतरा भने नरहेको जनाएको छ। भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइबाट गएको हो। 
source:thahakhabar.com

रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई नदिने निर्णय

३ भदौ, काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ भने स्वरुप पनि पुरानै हुने सम्भावना बढेको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव गर्‍यो, जसमा लगभग सहमति जुटेको थियो ।

तर, पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली आए लगतै सेनालाई दिने तयारी रोकिएको छ । ‘यस्ता काममा सेनालाई संलग्न गराउनु उपयुक्त हुँदैन’ ज्ञवालीले अनलाइनखबरसँग भने, ‘मैले मेयरसँग कुरा गरेको छु । महानगरपालिका आफैं रानीपोखरी बनाउन तयार भएको छ ।’

पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन पनि निर्देशन दिएको छ ।

बरु आवश्यक सहयोग गर्ने उसले बताएको छ । ‘सबै सहयोग दिन्छौं तर, कुनै पनि नाममा काममा ढिला हुनु हुँदैन र परम्परागत शैलीमा बन्नुपर्छ’ ज्ञवालीले भने ।

उनका अनुसार पुनर्निर्माणका क्रममा रानीपोखरीमा हालिएको कंक्रिट हटाउने काम भइरहेको छ ।

यो सकिएपछि जमिनको तल्लो भागमा क्ले माटो राखेर पुरानै स्वरुपको पोखरी बनाइनेछ । बाहिरी पर्खाल पनि पुरानो हटाइनेछ र इँटा, सुर्ती-चुना लगायतका प्रविधि प्रयोग गरेर पुरानै स्वरुपमा बनाइने ज्ञवालीले बताए ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिसकेको छ । यसबारे छलफल गर्न ज्ञवालीले सोमबार बैठक राखेका छन् ।

ग्रन्थकुट शैलीमा जाने सम्भावना

काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ समूहले रानीपोखरीसँगै बालगोपालेश्वर मन्दिर प्रताप मल्लले बनाएको जस्तै बनाउन सुझाव दिएको थियो । तर, विज्ञ समूहको प्रतिवेदन पुरातत्व विभागले स्वीकार गरेन ।

पुनर्निर्माण प्राधिकरणमा नयाँ नेतृत्व आएसँगै फेरि यो बहसमा आएको छ । सीईओ ज्ञवालीका अनुसार यसबारे विज्ञहरुसँग छलफल गर्ने तयारी छ । ‘ग्रन्थकुट शैली प्रमाणीकरण गर्न सक्ने भयौं भने त्यसमा जान्छौं । नभए पछिल्लो पुस्ताले देखेको शैलीमा बनाउछौं’ उनले भने ।

यदि ग्रन्थकुट शैलीमा बनाउने निर्णय भयो भने बालगोपालेश्वर मन्दिर फेरि निर्माण गर्नुपर्छ । सीईओ ज्ञवाली भने यो ठूलो विषय नभएको बताउँछन् । ‘पुरातात्विक संरचनाहरुको आफ्नो मापदण्ड छ । जुन खालको शैली हो, त्यो हाम्रो संस्कृति हो । त्यसलाई बचाउनु मुख्य हो’ उनले भने, ‘प्रक्रियागत हिसावले भएका समस्यामा त कुनै निकास निकाल्नुपर्छ । त्यसो गर्दा आवश्यक पर्‍यो भने भत्काउनु पनि पर्छ ।’

source:onlinekhabar.com

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल चौथो

भदौ ३, २०७५ :भुटानमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपाल चौथो भएको छ। तेस्रो स्थानका लागि शनिबार भएको खेलमा भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै नेपालले चौथो स्थान हासिल गरेको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो।जसमा  भुटान सफल रह्यो।

पेनाल्टी सुटआउटमा भुटानकी गोलकिपरले नेपालको दुई प्रहार बचाएपछि भुटानले तेस्रो स्थान पक्का गर्‍यो। यसअघि भएको खेलको तेस्रो मिनेटमा देकी याङदोङको गोलमार्फत भुटानले अग्रता लिएको थियो। भुटानले सुरुवाती अग्रता लिए पनि दोस्रो हाफको ४८ र ५५ मिनेटमा दुई गोल गर्दै नेपालकी चन्द्रा भण्डारीले खेललाई २–१ के अबस्थामा पुर्‍याएकी थिइन्।

तर खेलको ६६ औं मिनेटमा एसी बिदाले गोल गर्दै खेल बराबरीमा ल्याइन्। पेनाल्टी सुटआउटमा नेपालकी सरस्वती हमाल, प्रीति राई, सलोनी रानामगरले गोल गरिन्। नेपाल सेमिफाइनलमा भारत तथा भुटान बंगलादेशसँग पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिष्पर्धा गरेका थिए।

१८ औ एसियाडको भव्य उद्घाटन, नेपालको झण्डा कमलको हातमा, दुई कोरियाको संयुक्त मार्चपास

भदौ ३, २०७५ 
unn.prixa.net

१८ औं एसियाली खेलकुद एसियाडको उद्घाटन इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ ।

झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको  समूहले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए ।

एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना भएको उद्घाटन समारोहको रमाईलो क्षणपछि सहभागी ४५ देशका खेलाडीले मार्चपास गरेका थिए ।

मार्चपासमा नेपालका तर्फबाट दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता भाराेत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेका थिए ।  मार्चपासमा नेपालका झण्डै सय जना उपस्थित थिए ।

एसियाली खेलकुदमा यसपटक नेपालबाट एक सय ८५ खेलाडी सहभागी छन् भने एक सयको हाराहारीमा पदाधिकारी पनि जकार्ता पुगेका छ ।

उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाले संयुक्त रुपमा एकै झण्डा मुनि मार्चपास गरेका थिए । जसमा नाम कोरिया मात्र राखिएको थियो । खेलाडीले मार्च पास गर्दा दुवै देशका पदाधिकारीले एक अर्कासँग हात मिलाएर एकताको संकेत गरेका थिए ।

मार्चपासपछि एसियाडको आधिकारीक गीत गाएकी गायिका मेराह बिनटाङले प्रस्तुति दिएकी थिइन् । प्रतियोगितामा फुटबलका खेलहरु भने यसअघि नै शुरु भइसकेका छन् । आइतबारदेखि विभिन्न खेलको प्रतिस्पर्धा शुरु हुनेछ । भोलि ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

source:ujyaaloonline