अर्घाखाँचीमा जिप दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु

Image may contain: outdoor

सहयोगी बि. सि. साउन २१

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन। लु. १ ज १७७० नम्बरको उक्त जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो। पानी परेर चिप्लो सागुँरो बाटोबाट जिप तल खसेको थियो ।

मथुराबेशिमा यात्रुलाई पुर्‍याई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको मुल सडक हटिया कोटफेरा भित्री साइड बाटोमा सो जिप दुर्घटना भएको थियो । सोमबार बेलुकी ८ बजेतिर भएको उक्त घटना पछि मंगलबार बिहान जिल्ला अस्पताल अर्घाखाँचीमा जिप ब्यबसायी समिती निजका आफन्त लगायतको बाक्लो उपस्थिति रहेको छ। मृतक भुसालका श्रीमती र २ छोरी रहेका छन। उहाँ जिपको साहु र चालक दुबै भएको र बिगत ११ बर्ष देखि जिप चलाउँदै आइरहनु भएको बुझिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

साउन २१, २०७५ चितवन : विभिन्न स्थानमा पहिरो खस्दा चितवनको नारायणगढ­मुग्लिन सडकखण्ड सोमबार बिहान ५ः५५ बजेदेखि अवरुद्ध भएको छ।  भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको हो। पछिल्लो एक साताको अन्तरालमा यो दुई स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध हुँदा लामा तथा छोटा दूरीका सवारी साधनहरु बीचमै रोकिएका छन्। पहिरो पन्छाउने काम सुरु भएकाले सुरक्ष्ति स्थानमा सवारी राख्न र ओभटेक नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालकहरुलाई आग्रह गरेको छ।

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ को मृत्यु

साउन २१, २०७५ : इण्डोनेसियाको लोम्बोक टापुमा सात म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्रमा भूकम्पको एक साता नबित्दै पुन: भूकम्प गएको हो। अघिल्लो भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो। राजधानी बालीबाट ४० किलोमिटर दूरीमा रहेको लोम्बोक हाइकिङ र तटीय क्षेत्रका लागि प्रसिद्ध मानिन्छ। भूकम्पपछि स्थानीय प्रशासनले सुरक्षित स्थानमा जान सबैलाई आग्रह गरेको छ। भूकम्पबाट भएको क्षतिको यकिन  विवरण आइनसकेको स्थानीय प्रशासनले जनाएकाे छ।

अब योगदानमा आधारित पेन्सन

साउन २१, २०७५ काठमाडौं : सरकारले कार्मचारी निवृत्तिभरणलाई अब पुरै योगदानमा आधारित हुने व्यवस्था लागू गर्ने तयारी गरेको छ।  अहिलेको पेन्सन व्यवस्थालाई परिवर्तन गर्दैै निजामति सेवा, स्वास्थ्य सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, शसस्त्र प्रहरी बल नेपालको सेवा र नेपाल विशेष सेवाका कर्मचारीलाई योगदानका आधारमा पेन्सन दिने कानुन निर्माण प्रक्रिया सरकारले अघि बढाएको खबर राजधानी दैनिकमा छ।  बर्सेनि बढ्दै गएको निवृत्तिभरण खर्च कम गर्न पेन्सन कोषको स्थापना गरी राष्ट्रसेवकका लागि आवश्यक सुरक्षा योजना सञ्चालन गर्नुपर्ने भएको भन्दै सरकारले निवृत्तिभरण कोष स्थापना गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ।  दर्ता भएको विधेयकअनुसार अब कर्मचारीको तलबबाट ६ प्रतिशत पेन्सनका लागि कट्टी गरी कोषको स्थापना गर्ने जनाएको छ।
source:thahakhabar.com