प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

भदौ २, २०७५ काठमाडौँः  प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरिएको छ।  पाकिस्तानका प्रधानमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्।
source:thahakhabar.com

बलात्कारीलाई फाँसीको माग गर्दै माइतिघरमा प्रदर्शन

भदौ २, २०७५ काठमाडौंः बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन्। शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ।

बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए। प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ।  संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, बलात्कार विरुद्ध संयुक्त ¥यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संसोधनको माग गरेका छन्। उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन्।

मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन्। विशेष गरेर नया पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाईरहेका छन्। मण्डलामा पनि सामाजिक सञ्जालमा ससक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो। भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ।
source:thahakhabar.com

प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन : प्रदेश २ अबको पाँच वर्षभित्र समृद्ध बन्छ

भदौ २, २०७५ जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को विकासका लागि आफू र संघीय सरकार प्रतिबद्ध भएको बताएका छन्। उनले कृषि, सिँचाइ, धानबाली, उखुबालीलगाायतका किसानहरूलाई मध्यनजर गर्दै सुनकोसी कमला डाइभर्सन, सौर्य ऊर्जा र कृषिमा आधुनिकीकरण गरी प्रदेश २ लाई सवृद्ध गर्नका लागि सरकार प्रतिबद्ध भएका बताएका हुन्।

शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत प्रदेश सरकार समक्ष सम्बोधन गरेको बताउँदै भने, ‘यो गौरवपूर्ण इतिहासको भूमि हो। यो ज्ञानको भूमि हो, यो भूमिमा दर्शन, प्रकृति, उत्पति र जगत सञ्चालनको बारेमा बहस र छलफलको तपोभूमि, ज्ञान, गौरव, सम्पदा र संस्कृतिको गाथामा जोडिएको छ। त्यस तपोभूमिको विकास कसैले रोक्न सक्दैन।’ सम्बोधनको क्रममा ओलीले अगडि थपे, ‘जानकीको जनमभूमि आस्था र विश्वास जसले इतिहासको संस्कार र संस्कृतिको उत्पति यही भूमिबाट भएको त्यो ठाउँलाई नमन गर्न चाहन्छु।’

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकार र मुख्यमन्त्रीलाई विकासको योजना बनाएर ल्याए त्यसको कार्यान्वयन संघीय सरकारले गर्ने प्रतिबद्धता जनाए। उनले आफनो कार्यकालमा सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगर–जनकपुरधाम चक्रपथ निर्माण, पूर्व–पश्चिम रेल्वे लाइन रहेको बताए। उनले यसै प्रदेशमा पहिलो पटक रेल्वे लाईन विस्तार हुने पनि विश्वास व्यक्त गरे।

उनले जनकपुरधामको मणिमण्डप २५ करोडको लागतमा निर्माण गर्न लागेको बताउँदै यसको विकासले धार्मिक पर्यटनको विकासको सम्भावना बढेर जाने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामबाट पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले यहाँको भ्रमण गराइएको स्पष्ट पारे। उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत तराईको जिल्लाहरूमा सुरक्षित २० हजार घरहरू निर्माण गर्ने योजनाअनुरूप प्रदेश २ मा मात्र आठ हजार घर निर्माण गर्न लागिएको बताए।

प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालयमार्फत कूल बजेटको ७० प्रतिशत बजेट तराई-मधेशको विकासमा छुट्टयाएको दावी गरे। उनले भने, ‘अबको पाँच वर्षभित्रमा हुलाकी राजमार्ग तयार हुन्छ, यो प्रदेश अति नै भाग्यमानी छ, किनकि यहाँ पानी जहाज, रेलवे, हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग विस्तार जस्ता योजना यसै प्रदेशमा रहेको छ। कोसी, गण्डक र कर्णालीबाट पानी जहाज भारतको कलकत्तासम्म सम्भव भएकोले पानी जहाजको पनि यही प्रदेशबाट सुरु हुन्छ।’
source:thahakhabar.com

युएनका पूर्वमहासचिव कोफी अन्नानको निधन

भदौ २, २०७५ युएनका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ। उनी अफ्रिकन कालाजातिका पहिलो विश्वकै सर्वोच्च कूटनीतिज्ञ हुन्। मानवअधिकारका क्षेत्रमा कार्यगरेबापत उनलाई नोबेल शान्ति पुरस्कारले समेत सम्मान गरिएको थियो।
source:thahakhabar.com

प्रधानमन्त्रीको स्वागतमा प्रदेशसभामा झकिझकाउ

भदौ २, २०७५ जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि २ नम्बर प्रदेसभालाई झकिझकाउ बनाइएको छ। आज प्रदेश २ को सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रदेशभामा प्रधानमन्त्री ओलीको सम्बोधन हुने कार्यक्रमलाई लक्षित गरी सभा बैठकलाई विभिन्न झकीझकाउ सहित फूलमालाले सजाइएको हो। प्रदेशसभा भवनमा राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश सांसदहरू अनुपस्थित रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली  जनकपुरधाम विमानस्थलमा ओर्लिसकेका बताइएको छ।


source:thahakhabar.com