ट्याक्सीसँगै म्याग्दी खोलामा बग्यो शोभाको युरोप जाने सपना

साउन १९, २०७५ पर्वत : म्याग्दीको मंगला गाउँपालिका-२ भाइबाङ घर भई पर्वतको जलजला गाउँपालिका-२ बगरफाँटमा बस्दै आएकी शोभा अधिकारीको सपना थियो युरोप पुगेर परिवारको लागि आर्थिक जोहो गर्ने थियाे। वैदेशिक रोजगारीमा रहेका श्रीमान ५ वर्ष अगाडि घर फर्किएपछि अधिकारी दम्पतीको निर्णय श्रीमती युरोप जाने र एक छोरा र एक छोरीलाई सदरमुकामकै निजी विद्यालयमा पढाउने।  शोभाका श्रीमानको एक्लाे आम्दानीले खर्च धान्न नसक्ने भएपछि श्रीमान श्रीमती यो निर्णयमा पुगेका थिए।

यही सपना पूरा गर्नकै लागि २५ वर्षीय शोभाले बेनीमा रहेको ड्राइभिङ इन्स्टिच्युटमा ट्याक्सी सिक्न थालिन्। १५ दिनमै उनी ड्राइभिङमा सिपालु बनिसकेकी थिइन्। अब केही दिनमै ट्रायलमा जाने तयारी गरेकी शोभाको सपना भने म्याग्दी खोलासँगै बगेका छन्। प्राय श्रीमानलाई पनि लिएर ट्याक्सी सिक्ने ठाउँ बेनीको बुहउद्देश्यीय मैदानमा पुग्ने गरेकी शोभा बर्खे बिदा भएका कारण साथीको रूपमा छोरालाई साथमा लिएर ट्याक्सी सिक्ने स्थानमा पुगिन्। उनले ८ वर्षीय छोरा सागरलाई ट्याक्सीको पछिल्लो सिटमा राखेर ट्याक्सी चलाइन। म्याग्दीखोलासँगै जोडिएको सिक्ने मैदानमा उनी अगाडि बढिन्। कृषि उपज केन्द्रनजिक पुग्दा उनले व्याक गियरमा राखेर ट्याक्सी फर्काउनै लाग्दा यस्तो क्षण आयो उनको यूरोपका सपना त्यहीँनेर सपनामै सीमित बन्न पुगे। व्याक गरेर फर्काउन लागेको ट्याक्सी उनले अगाडि बढाउन सकिनन्।

जसका कारण ट्याक्सी व्याक हुँदै म्याग्दी खोलामा खस्याे। एक छोरा, एक छोरी र श्रीमानका हरेक आवश्यकता पूरा गर्ने शोभा छोरी र श्रीमानलाई छोडेर छोरासँगै म्याग्दी खोलामा बगिन्। ड्राइभिङ इस्टिच्युटका संचालक कर्णबहादुर घिमिरे पनि दुर्घटना हुनुपूर्व अधिकारीसँगै ट्याक्सीमा नै थिए। बीचैमा शौच लागेपछि घिमिरे शौचालय गएका थिए। त्यही बेलामा दर्दनाक दुर्घटना भयो। घिमिरेले प्रहरीसँगको बयानमा ट्याक्सी खोलामा खसेपछि शोभाले हात बाहिर निकालेर पटक-पटक उद्धारका लागि गरेको अनुरोधलाई देखेर पनि आफूले उद्धारको प्रयास गरे पनि खोलामा पसेर उद्धार गर्न नसकेको बताए। शुक्रबार अगाडि नै शोभाले बजारमा पनि ट्याक्सी राम्रोसँग चलाउन सकेकोले आफू शोभाको ड्राइभिङमा ढुक्क रहेका कारण नै आफू शौचालय गएको घिमिरेको भनाइ छ।
source:thahakhabar.com

गोकियो तालमा डुबेर तीन विद्यार्थी बेपत्ता

साउन १९, २०७५ सोलुखुम्बु : जिल्लाको खुम्जुङ माध्यमिक विद्यालयका तीनजना विद्यार्थी गोकियो तालमा डुबेर बेपत्ता भएका छन्। भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। बेपत्ता हुनेमा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बुपासाङल्हमु गाउँपालिका-४ निवासी अन्दाजी वर्ष १७ को पेम्बा दोर्जे शेर्पा, अन्दाजी वर्ष १६ को पेम्बा नुरु शेर्पा र खुम्बुपासाङल्हमु गाउँपालिका ५ बस्ने अन्दाजी बर्ष १६ को सुनिल बराईली रहेका छन्।

कक्षा ९ मा अध्ययनरत ३३ जना विद्यार्थी सोही विद्यालयका शिक्षक छुङजिङ दोर्जे शेर्पा र  रन्जित बलसहित शैक्षिक भ्रमणमा गएको बताइएको छ। शुक्रबार भ्रमणमा गए पनि शनिबार बिहान १०:४५ बजे प्रहरी चौकी खुम्जुङमा स्थानीय निमा नुर्बु शेर्पाले खबर गरेको प्रहरी भनाइ छ। प्रहरीमा खबर हुनसाथ उद्धारको लागि खुम्जुङ बाट सिम्रिक एयरको हेलि द्वारा ४ जना स्थानिय र प्रहरी चौकी खूम्जुङ प्रहरी टोली खटिएको प्रहरी नायव उपरिक्षक रेशम बहादुर पराजुलीले जानकारी दिए।  उक्त स्थानमा कुनै फोन सम्पर्कसमेत नहुने भएकोले घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
source: thahakhabar.com

भरियाको दु:ख देखेपछि जन्मियो- सिमली छायामा बसी…

साउन १९, २०७५ काठमाडौं : ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’ यो गीत सायदै मान्छेले नसुनेका होलान्। २०४३ सालतिर रेकर्ड भएको उक्त गीतका सर्जक हुन्, गायक जीवन शर्मा। यो गीत यति धेरै मनपराइयो कि आज पनि शर्मालाई विभिन्न कार्यक्रममा यो गीत सुनाउन आग्रह आइरहन्छ। महलमा बस्नु, पैसा कमाउनु, ऐस आरामको जिन्दगी बाँच्नु उनको सोख छैन। सादा जीवन बाँच्न रुचाउने उनको विशेषता हो। तीन दशक जनताको गीत गाउँदै हिँडेका उनी आज पनि जनताका गीत गाउँदै हिँडेका छन्।

उनका अधिकांश गीत कर्णप्रिय छन्, लोकप्रिय छन्।  सिमली छायाको पृष्ठभूमिमा जानु भन्दा पहिले वि.सं. ३५\४६  पञ्चायती व्यवस्था विरुद्ध भूमिगत थिए उनी। यही बेला विभिन्न ठाउँमा सभा सम्मेलन गरी निरंकुशता विरुद्ध आवाज उठाउने  सिलसिला जारी थियो। राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था की बहुदलीय व्यवस्था भनेर चुनाव गराए ३६ सालमा। जहाँ बहुदलीय व्यवस्था पराजित बन्यो। देशमा आन्दोलनको शृंखला बन्द भयो। शर्मा आफ्नो कर्ममा निस्किए। विस्तारै पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सकियो। आन्दोलनताका गाउँदै हिँड्नु उनको काम थियो। आन्दोलन सेलाउँदै जाँदा उनको गायन पनि सेलाउँदै गयो।

पञ्चायती व्यवस्थाले देशमा चरम गरिवी, अभावजस्ता अनगिन्ती समस्या देशमा उस्तै थिए। जनतामा चेतनाको कमी उस्तै। निरंकुश राजतन्त्रले देश थिलोथिलो बनेको थियो। मनमा पञ्चायती व्यवस्थाले जितसँगै आम जनमानसमा जस्तै शर्माको मनमा पनि समाज परिवर्तन हुने कुरामा शंका पैदा भइरहेको थियो। पञ्चायती व्यवस्थाको जितले शर्माको मन पनि खुशी दिन सकेको थिएन। परिवर्तनका भाषण दिएर नथाक्ने त्यसबेला दरबारको कागजी विकास कार्यक्रम र जनताको वस्तविक अवस्थामा निकै फरक थियो। पछि उनले यो गीत रेकर्ड गरेर बजारमा ल्याए। उनी भन्छन्, ‘आज जस्तो युट्युबको जमाना थिएन। यो गीतका क्यासेट बजारमा एकदमै धेरै खोजी भयो तर सीमित मात्रामा क्यासेट उपलब्ध थियो।’

जता शर्मा पुग्छन्, त्यहाँ यो गीत सुन्न मान्छे भेला भइहाल्थे। त्यही समयमा एक पटक उनी घुमघामको सिलसिलामा स्याङ्जा पुगेका थिए वि.सं. २०३८ सालमा। स्याङ्जाको कार्किनेट भन्ने ठाउँ जाँदै गर्दा बीचमा एउटा बिसौनी चौतारीमा एक वृद्ध भारी बिसाएर बसेका थिए- त्यो पनि खोटाङ जिल्लातिरका। ज्यालामा भारी बोक्न त्यहाँसम्म आएका रहेछन् उनी। बुढ्यौली उमेरले आराम गर्नुपर्ने समयमा शरीरभन्दा गह्रौँ भारी बोकेको दृश्यले शर्मालाई गहिरो छाप पर्‍यो। जसका लागि आवाज उठाउँदै हिँडेका थिए, तिनैको अवस्था देखेर शर्माको मनमा आफैँप्रति हीनताबोध भयो। त्यो चौतारीबाट माथि गाउँसम्म पुग्दा यो गीत तयार पारेको शर्मा बताउँछन्। यो गीत यथार्थ रूपमा अनौठो तरिकाले लेखिएको गीत भन्न रुचाउँछन् शर्मा।

पछि उनले यो गीत रेकर्ड गरेर बजारमा ल्याए। उनी भन्छन्, ‘आज जस्तो युट्युबको जमाना थिएन। यो गीतका क्यासेट बजारमा एकदमै धेरै खोजी भयो तर सीमित मात्रामा क्यासेट उपलब्ध थियो।’ जता शर्मा पुग्छन्, त्यहाँ यो गीत सुन्न मान्छे भेला भइहाल्थे। प‌ञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्ष जारी थियो। २०४६ सालको आन्दोलनपश्चात् देशमा राजनीतिक तनाव केही मत्थर भइसके पनि वि.सं. २०५१ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो। जनयुद्धको धङ्धङी जारी थियो।

कुनै एक दिनको कुरा हो। उनी टुँडिखेल घुम्न निस्किएका थिए। त्यसैबेला टुँडिखेलमा सैनिकले आंतककारीको सूचीमा अनेक मान्छेहरूको फोटो सार्वजानिक गरेको उनले देखे। त्यो सुचीमा आफू र आफ्ना गीतहरूलाई समेत सेनाले खोजीको सूचीमा राखेको देखे उनले। विस्तारै उनी सरकार र सेनासँग सतर्क हुन थाले। देशमा जनयुद्ध चर्किंदै जाँदा उनी भूमिगत बने। वि.सं. २०५८ मा उनी भारत भागे। भारतको सिम्ला भन्ने ठाउँमा पुगे। व्यास नदीको किनार, कत्ले नदी किनार, समग्रमा भन्दा नेपालीले अंग्रेजसँग लडेको ठाउँमा यो गीतको सुटिङ भएको बताउँछन् उनी। त्यसबेला पश्चिम भेगका विशेष गरेर जुम्ला, मुगु, डोटीका नेपालीहरू त्यहाँ प्रशस्त थिए। त्यसबेला धादिङतिरका एक जना वृद्ध, जो अहिले उक्त भिडियोमा देखिएका छन्, ती वृद्ध पनि दिनभर ज्यालादारी भारी बोक्दै हिँडेको भेट्टाए शर्माले। उनी भन्छन्, ‘यो गीत लेख्दा जस्तो खाले पात्र थिए, त्यस्तै पात्र भेटिए।’

उनलाई भेटेपछि शर्माले भनेछन्, ‘दिनभर जति कमाउनुहुन्छ, त्यति ज्याला म दिन्छु भनेर फकाइयो अनि थालियो छायांकन गर्न।’ उनी ती दिन सम्झँदै भन्छन्, ‘कतिखेर डोको बोक भनेको छ, कतिखेर भारी बिसाऊ भनेको छ। हाम्रा कुरा झिँजो मानेर बुढा रिसाएर विजोग!’ दिनभरको ज्याला त्यस्तै भारतीय ३०० रुपैयाँ दिएर उनलाई छायांकनपश्चात् बिदा गरेको याद अहिले झल्झल्ती आइरहने बताउँछन् उनी। नामुद कलाकारलाई पैसा तिरेर छायांकन गरेको भए यति सजीव भिडियो बन्ने कुरामा शंका भएको तर गीतको भावअनुसारको पात्र पनि त्यस्तै भेटिएकाले यो गीत जीवन्त बनेको शर्माको भनाइ छ। आफ्नो जीवनकालमा शर्माले ‘सिमली छायामा बसी’, ‘म त्यही आउनेछु’, ‘यसपालि त यस्तै भो आमा’, ‘झरनाको मीठो पानी’लगायतका हालसम्म ५०० को हाराहारीमा गीतहरू रेकर्ड गरिसकेका छन्।
source:thahakhabar.com

गोली हानी युवकको हत्या

साउन १९, २०७५ जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकामा एक जनाको गोली हानी हत्या गरिएको छ। धनुषाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको गाउँपालिकाको इनर्वा रेल्वे लिक नजिकै गोली हानी हत्या गरिएको अवस्थामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ। गोली लागि मृत्यु हुनेमा कमला नगरपालिका–८ का करिब २५ वर्षीय राजेश यादव रहेका छन्। शुक्रवार बिहान स्थानीयले गोली लागेको शव देखेपछि इनर्वा प्रहरी चौकीमा खबर गरेका थिए। शव नजिकैबाट एक थान कटुवा पेस्तोल, तीन थान गोली र मोटरसाइकल भेटिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। यादवलाई बिहीबार राति नै गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ। उनको पेट र कञ्चटमा गोली हानिएको छ। मृतक यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा संगठित अपराध, चोरी डकैती, हातहतियार तथा खरखजाना र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलिरहेको थियो। source:thahakhabar.com

खोलाले बगाएर महिलाको मृत्यु

साउन १९, २०७५ बैतडी : घाँस काट्न जाँदा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महताको खोलाले बगाएर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सकुन्तलालाई सुर्नया खोलाले शुक्रबार बगाएको हो। शिवनाथ गाउँपालिका–२ बारसीमा खोला तर्ने क्रममा बगाएको हो। उनको शव बगेको ठाउँबाट करिब ७०० मिटर तल खोला किनारमा मध्याह्न भेट्टिएको प्रहरीले जनाएको छ।
source:thahakhabar.com