साउन २३ ,काठमाण्डौ
नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मालाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको छ । प्रकाण्डलाई दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।
उनले प्रकाण्डसँगै उनका ड्राइभर र एक कार्यकर्ता पक्राउ परेको जानकारी दिए । उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । उनीसँग थप सोधपुछ भइरहेको परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए । प्रकाण्ड लगायत पक्राउ परेकालाई हाल कांठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरूविरुद्ध परिसरले म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको प्रहरीले जानकारी दिएको छ । प्रकाण्ड पूर्व महिला, बालबालिका तथा समाजकल्याणमन्त्री तथा २०६४ सालमा संविधानसभा सदस्यमा समेत निर्वा्चित भएका थिए।
पछिल्लो समय प्रहरीले विप्लव लगायतका नेताहरूको खोजी गरिरहेको थियो, जस क्रममा पक्राउ पर्नेमा प्रकाण्ड शीर्ष नेता हुन् । पक्राउ परेका खड्गबहादुर विश्वकर्मालाई काठमाण्डौ जिल्ला अदालतले पाँच दिन थुन्न अनुमति दिएको छ ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेको विरोधमा पार्टीले नेपाल बन्दसहित विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलाई बिनाकारण पक्राउ गरिएको भन्दै उक्त पार्टीले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । प्रवक्तासँगै पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्य पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति निकालेर विप्लवको पार्टीले आन्दोलनको घोषणा गरेको हो ।
विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा पाँच दिनको विरोध कार्यक्रम सार्वजनिक भएको छ । जसअनुसार साउन २५ देखि कोणसभाबाट सुरु भएको विरोध कार्यक्रम २९ गते नेपाल बन्दसम्म छ । विप्लवले साउन २५ गते देशभर कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर, २८ गते मशालजुलुस र २९ गते नेपाल बन्दको घोषणा गरेका हुन्।
हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कामरेड सीसीएम कामरेडलगायत सबै कामरेडलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं’, बुधबार सार्वजनिक नेकपाको विज्ञप्तिमा भनिएको छ ।