नेकपा स्थायी कमिटी बैठक आज बस्दै

मंसिर २८, काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।

बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाउनुभएको थियो ।

मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता लगायतबारे विवाद उत्पन्न भएर दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको हो । स्थायी कमिटी बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ। source:ujyaaloonline

Advertisement

ह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो

मंसिर २८, तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।

वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो​ ।

आजदेखि उखु किसानको माइतीघरमा आन्दोलन–चारवटा चिनी मिलमा करोडौं रुपैयाँ बक्यौता

 मंसिर २८,काठमाडौं । उखु किसानले आज (आइतबार)देखि माइतीघरमा आन्दोलन थाल्ने भएका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको प्रतिबद्धता पुरा नभएको भन्दै किसानले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी रहेको बताउनुभयो । यसका लागि सर्लाहीबाट पाँच सयभन्दा बढी किसान काठमाडौं आएका छन् । सरकारले किसानसँग गरेको प्रतिबद्धताअनुसार एक वर्षको अवधिमा पनि बक्यौता रकम प्राप्त नभएपछि उनीहरू आन्दोलन गर्न बाध्य भएका हुन् । तिहारअघि उनीहरूले उद्योग मन्त्रीलाई भेटेका थिए र आश्वासन पाएका थिए, तर अहिलेसम्म बक्यौता रकम प्राप्त गर्न सकेका छैनन् । आन्दोलनरत उखु किसानहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरणपत्र पनि बुझाएका थिए ।

मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै पनि कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजेथा बिक्री गरेर भए पनि किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर, सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन् । संरक्षक मिश्रले सरकारले नै सम्झौताअनुसार काम नगरी किसानहरूलाई नियोजित पीडा दिइरहेको बताउनुभयो ।

उखु किसानले चार वटा चिनी मिलबाट करोडौं रुपैयाँ पाउनुपर्ने छ । किसानले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट चार करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट आठ करोड ४१ लाख र अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपयाँ पाउन बाँकी छ । 

ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको छ – काँग्रेस नेतृ भुसाल

सन्धिखर्क एफएम मंसीर २६ अर्घाखाँची – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताउनु भएको छ । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जित हारको खेलमा रहेको उहाँको आरोप रहेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले केपी ओलीनै भ्रष्टचारको काण्डैकाण्डमा चुर्लुम्म डुबेका पार्टीका मन्त्री र नेतालाई संरक्षण गर्न लागेको आरोप लगाउदै ओलीले नै भ्रष्टचारको संरक्षकको रुपमा भूमिका खेलेको बताउनु भयो ।

दुई तिहाइको जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफुभित्रैबाट कुर्सी तानतान गर्दै सत्ताको मोहमा डुबेको भन्दै भुसालले भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा भएको समेत बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रका शीर्ष नेता नै सत्ताको कुर्सीमा लिप्त भएर प्रधानमन्त्री केपी ओली कुर्ची जोगाउन र पुष्पकमल दाहाल तथा माधव कुमार नेपाल समुह ओलीलाई हटाउने खेलमा लागेकोले उनीहरुबाट देश विकासको आशा नरहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु मुस्कानले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेस संसदीयदल लुम्बिनि प्रदेश सचेतक निर्मला क्षेत्री, काँग्रेस उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासे, सिता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भट्टराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भटराई लगायतका जिल्ला स्तरीय नेताले सम्बोधन गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चाबाट झण्डै डेढजर्दन काँग्रेसमा प्रवेश गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले बताउनुभयो । कार्यक्रम बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, विष्णु क्षेत्रीको स्वागत मनतब्य र सचिव नारायणप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

१६ बर्षपछी लालपर्जा पाँउदा स्थानिय हर्षीत

श्याम घिमिरे, मंसीर २६ अर्घाखाँची -छत्रदेब गाउँपालीका वडा नं. २ र ४ का स्थानीय बासिन्दाहरुले १६ वर्षपछि हातमा जग्गाधनि प्रमाण पुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा सुक्रबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । सशस्त्र द्धन्द्धको समयमा २०६१ सालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्लानै नक्सा विहीन बनेको थियो । देश शान्ति प्रकृयामा गईसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नापी गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरेको बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनु भयो ।

पुर्जा बितरण कार्यक्रममा मनतब्य राख्दै नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीले कृषि र पर्यटन क्षेत्रको बिकासकालागी लालपुर्जाको उपयोग गर्नुपर्ने भन्दै समृद्ध र सुखी अर्घाखाँची बनाउने अभियान शुरु भईसकेकोले बिकास निर्माणले जिल्लामा तिब्र गति लिएको बताउनु भयो । रायमाझीले डिजिटल माध्यमबाट नापनक्सा गरेका जग्गाधनी प्रमाणपत्रले बैंकमा धितो राख्न सहज हुने बताउनु भयो । उहाँले जिल्लाका अन्य ठाउँमा पनि क्रमश जग्गाधनि प्रमाणपत्र वितरण गर्ने बताउनुभयो ।


प्रतिनिधि सभासदस्य पुष्पा भुसालले डिजिटल प्रविधिबाट जग्गा नाँपजाच गर्ने कार्यलाई तीव्र गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो । भुसालले जिल्लामा हुने हरेक विकास निर्माणमा काममा पक्षविपक्ष बनेर विदाद गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख, कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य अशोक खनाल,प्रेमनारायण आचार्य,नबिन केसी लगायतले मन्तव्य राख्दै कोरोना महामारीको समयमा पनि फिल्डमा कर्मचारी खटाएर जनताको काम गरेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । बक्ताहरुले जिल्लामा नक्सा नहुदाँ स्थानीयले ठुलो सास्ती खेप्नु परेकोले यो अभियानबाट ठुलो राहत मिलेको समेत बताउनु भएको हो ।

छत्रदेव गाउँपालिकाको वार्ड नंं २ बल्कोटमा ६ सय ५० घरधुरी र वडा नम्वर ४ केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गर्न सुरु गरेको बिशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनु भयो । कार्यक्रम विशेष नापी कार्यालय अर्घाखाँची प्रमुख खिम बहादुर रानाको अध्यक्षता र माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । १६ बर्षपछी पुर्जा प्राप्त गरेपछी स्थानियहरु हर्षीत समेत भएका छन ।