‘महिलालाई अवसर दिन खोजिँदैन’

बिरेन्द्र केसी अर्घाखाँची चैत्र २-अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १० की बासिन्दा जाल्पा भुसाल एमाले नेत्री हुन् । लामो समयदेखि स्थानीय राजनीति, महिला मुक्ति र जिल्ला विकासमा अहम्भूमिका खेल्दै आएकी उनी एमालेतर्फबाट प्रदेश ५ मा समानुपातिक सदस्य बनेकी छन् ।

 

प्रदेशसभा र जिल्लाको विकासमा भुसालको भूमिका कस्तो रहन्छ भन्ने विषयमा कान्तिपुरका उपसम्पादक वीरेन्द्र केसीले गरेको कुराकानी :

प्रदेशसभा के गर्दै छ ?
प्रदेशसभा गठन भएको धेरै समय भएको छैन । नेपालको सन्दर्भमा संघीयता आफैंमा नयाँ प्रयोग भएकाले केही अलमलजस्तो देखिएको हुनसक्छ । यद्यपि नेपालमा संसदीय अभ्यासको लामो इतिहास र अनुभव छ । अहिले प्रदेशसभाको मुख्य ध्यान अत्यावश्यक कानुन बनाउनमै केन्द्रित छ ।

जिल्ला विकासमा तपाईंको भूमिका कस्तो रहन्छ ?
प्रदेशसभा सदस्यको मुख्य जिम्मेवारी नीतिगत तहमा काम गर्ने भए पनि मेरो ध्यान खासगरी अर्घाखाँचीको विकासमै जानेछ । जिल्लाका अन्य जनप्रतिनिधि र स्थानीय तहसँग समन्यवन गरी समग्र विकासलाई कसरी लैजाने, आवश्यक आयोजनाको छनोट र बजेट व्यवस्थापन कसरी गर्ने भन्नेमै मेरो योगदान रहनेछ ।

महिलाको आर्थिक समृद्धिका लागि के गर्नुपर्ला ?
यस प्रदेशको समग्र स्थिति हेर्ने हो भने महिला गरिबी, असमानता र लैंगिक हिंसाको मारमा परेको देखिन्छ । आर्थिक समृद्धिका योजना बनाउँदै गर्दा हामीले यी सबै पक्षलाई कसरी समेट्ने भन्ने ढंगले हेर्नुपर्छ । नीतिगत तहमा गर्न सकिने काम धेरै छन् । खासगरी महिलालाई लक्षित गरी सीप विकास, व्यावसायिक खेती र लघुवित्तका आयोजना सञ्चालन गर्नेतर्फ मेरो जोड रहनेछ ।

लैंगिक हिंसा अन्त्य गर्न केही सोच्नुभएको छ कि ?
लैंगिक हिंसालाई अन्त्य गर्न कडा कानुनी प्रावधान अत्यावश्यक छ । कानुन बनाउनेमात्र होइन, त्यसको कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रदेशसभाबाट लैंगिक हिंसाविरुद्ध कडा कानुन पारित गर्न पहल गर्ने छु । अर्कोतर्फ लैंगिक हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्वि पनि उत्तिकै आवश्यक छ । स्थानीय तहसँगको समन्वयमा त्यो क्षेत्रमा पनि काम गर्नेछु ।

युवालाई स्वदेशमा टिकाउने उपाय के छ ?
वैदेशिक रोजगारी धेरै नेपाली युवाले भोग्नुपरेको नमिठो यथार्थ हो । मेरो विचारमा यो राष्ट्रिय समस्या नै हो । संघीय सरकारले यसका निम्ति बृहत् योजना ल्याउन आवश्यक छ । अर्घाखाँचीबाट युवा पलायन रोक्न कृषि, पशुपालन र साना उद्योगमा युवा स्वरोजगार स्थापना गर्ने काम गर्न सकिन्छ । साथै युवा उद्यमीलाई स्वरोजगारमा विशेष सहुलियत र अनुदान दिने कानुन प्रदेशसभाबाट पारित गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

कृषि, पर्यटन र पशुपालनका योजना के छन् ?
म लामो समयदेखि अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य हुँ । नेपालको कृषि क्षेत्रका समस्या र अवसरबारे जानकार छु । कृषि र पशुपालनलाई आधुनिक, वैज्ञानिक र व्यावसायिक बनाउन जरुरी छ । छिमेकी भारतमा जसरी कृषकले धेरै अनुदान र सहुलियत पाउँछन् । हाम्रोमा त्यस्तो छैन । कृषकलाई मल, बीउ र व्यावसायिक तालिममा अनुदान र अवसरको खाँचो छ । जडीबुटी र अर्गानिक खेतीका क्षेत्रमा पनि धेरै सम्भावना छन् । अब हामी ठाउँ–ठाउँमा ‘अर्गानिक भिलेज’ बनाउने अवधारणासाथ अगाडि बढ्नुपर्छ । पर्यटनलाई त्यसैमा जोड्नुपर्छ ।

स्थानीय तह र केन्द्रबीच कसरी समन्यव सम्भव छ ?
संविधानले नै स्थानीय, प्रदेश र संघीय तहको कार्यक्षेत्र स्पष्ट रूपमा तोकेको अवस्था छ तर तीनै तहबीच समन्वयकारी भूमिका होस् भन्ने संविधानको मर्म छ । संघीय संसद्, प्रदेशसभा र गाउँ तथा नगरसभा सबैले नीतिगत क्षेत्रमा काम गर्ने हुँदा समन्वयको आवश्यकता धेरै नै छ । विरोधाभासपूर्ण कानुन तथा नीति नबनुन् भन्ने कुरामा सचेत हुनु जरुरी छ ।

आर्थिक उन्नति कसरी सम्भव होला ?
धेरै लामो समयसम्म चलेको राजनीतिक संक्रमणबाट नेपाल मुक्त भएको छ । नेपाली जनताले निकै ठूलो आशा र भरोसाका साथ हामीलाई चुनेर पठाएका छन् । जनताले दिएको ‘म्यान्डेट’ भनेको विकास र समृद्धिकै लागि हो । त्यो कुरा सबै जनप्रतिनिधिले बुझ्नु र मनन गर्नुपर्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो भने केही वर्षमै नेपालले कोल्टे फेर्नेछ । सुशासन, युवा रोजगारी, कृषि, पर्यटन, विद्युत्, उद्योगलगायत क्षेत्रमा धेरै काम गर्नु छ । हाम्रो प्रदेशमा यी क्षेत्रको विकासका निम्ति मेरो सक्रियता रहनेछ ।

प्रदेश महिला मन्त्रीविहीन भएजस्तो छ त ?
संविधानले महिला प्रतिनिधित्वबारे जुन व्यवस्था गरेको छ, त्यस मर्मको कदर सबैतिर नभएको देखिन्छ । बाध्यात्मक अवस्थामा बाहेक महिलालाई अवसर नदिने चलन कायमै छ । हाम्रै पार्टीमा पनि धेरै सक्षम महिला हुनुहुन्छ । केन्द्र तथा प्रदेश मन्त्रिपरिषद्मा पनि महिलाको सम्मानजनक उपस्थिति हुनु आवश्यक छ ।

कहाँ–कहाँ ढल्यो लेनिनको शालिक ?

फागुन २५ – बीसौँ शताब्दीका सबैभन्दा महत्वपूर्ण तथा प्रभावशाली व्यक्तित्वमध्येका एक भ्लादिमिर लेनिनको मृत्यु भैसके पनि उनको विचारधारलाई धेरैलाई प्रभाव पारेको छ ।

सन् १९९१ मा सोभियत संघ नढल्दासम्म लेनिनको विचारधाराको प्रभाव निकै नै थियो ।

लेनिनका समर्थकले उनलाई समाजवादी नेताका रुपमा हेर्छन भने आलोचकले भने  एक तानाशाहका रुपमा । ठूलो परिमाणमा भएको राजनीतिक अत्याचार र हत्यामा उनलाई दोषी ठहराउनेहरु पनि छन् ।

भर्खरै भारतको त्रिपुरा विधानसभाका बीजेपीले जित हात पारेको ४८ घण्टामै बुलडोजर लगाएर रुसी क्रान्तिका नायक लेनिनको प्रतिमा भत्काइएको थियो । तर लेनिनको शालिक ढलाइएको यो पहिलो घटना भने होइन । योभन्दा पहिलो विश्वका धेरै ठाउँमा लेलिनको शालिक ढलाइएको छ ।

१. यूक्रेनमा ठूलो संख्यामा लेनिनसँग जोडिएका धरोहर भत्काउने काम भएको छ । सन् २०१३ देखि २०१५ को बीचमा यूक्रेनमा लेनिनका झण्डै ५ सय शालिक भत्काइएको छ । यो तस्बिर सन् २०१३ को हो जहाँ लेनिनको शालिक घनले हानेर भत्काइएको थियो । लेनिनको शालिक भत्काउने समूहले रुसको नजिक भएको भन्दै यूक्रेनका राष्ट्रपतिको विरोध गरेका थिए । 

२. सन् १९९१ मा बर्लिनका मेयरले लेनिनको शालिक भत्काउने आदेश दिएका थिए । उनले तानाशाही प्रवृत्ति झल्काउने कुनै प्रतिमा आफूहरुलाई मान्य नहुने बताएका थिए ।

 

३. सन् २०१४ को सेप्टेम्बरमा यूक्रेनकै खारकोभ शहरमा लेलिनको मूर्ति भत्काइएको थियो । यस घटनाको प्रत्यक्ष प्रसारण गरेको थियो । २०१७ को अगस्टसम्म यहाँ लगाइएका लेनिनका सबै शालिक हटाइएको थियो । 

४. सन् १९९० मार्च ५ मा रोमानियाको राजधानी बुकारेस्टमा दुई वटा क्रेनको सहयोगले स्टेट पब्लिसिङ हाउसको अगाडिको लेनिनको शालिक हटाएको थियो ।

 

यस्तो भनिन्छ कि यदि तपाईँ कुनै देशका बारेमा जान्न चाहनुहुन्छ भने त्यहाँ कस्तौ प्रतिक बनाइयो भन्दा पनि कस्तो प्रतिक हटाइयो भन्ने कुरामा ध्यान दिनुपर्छ । यही कुरा भारतको त्रिपुरा राज्यमा पनि लागू हुन्छ । जहाँ २५ वर्षदेखिको वाम किल्ला तोडेर बीजेपीले सरकार बनाएको छ ।

source:ujyaaloonline

किन आउँदैछन् पाकिस्तानी प्रधानमन्त्री नेपाल ?

पुष्प घलान

काठमाडौं, फागुन २१ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतका लागि काठमाडौंका सडकमा पाकिस्तान र नेपालका झण्डा राखेर झकिझकाउ पारिएको छ ।

विश्वका शक्ति राष्ट्रहरु धु्रविकरण भईरहेको अवस्थामा चीनतर्फ नजिकिएको पाकिस्तानका प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । औपचारिक रुपमा बधाइ दिन भनिएपनि अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उदेश्य सार्क शिखर सम्मेलन भएको बुझाइ छ ।

पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १९ औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । तर भारत प्रशासित जम्मुकाश्मिरको उरी भन्ने ठाउँमा विद्रोही समूहले आक्रमण गरेर १७ जना भारतीय सैनिकको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण भयो ।

भारतले पाकिस्तानबाट आएका विद्रोहीले आक्रमण गरेको भन्दै पाकिस्तान विरुद्ध ‘सर्जिकल स्ट्राईक’ पनि गर्‍यो । त्यस अवधिमा दुवै देशका सैनिक र गैरसैनिक गरी दर्जनौको ज्यान गयो ।

दक्षिण एशियामा परमाणु बम रहेका शक्तिशाली राष्ट्र भारत र पाकिस्तानको विवादले उग्र रुप लिंदै गएपछि निर्धारित समयमा सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।

वर्णानुक्रमका आधारमा सार्कको अध्यक्षता गर्ने व्यवस्था अनुसार हाल नेपालले सार्कको अध्यक्षता गरिरहेको छ । नेपालले सार्कको शिखर सम्मेलन गर्ने वातावरण बनाउन आग्रह गरे पनि पाकिस्तानमा नै गर्नुपर्छ वा अन्यत्र सारेर गर्ने भन्ने बारेमा आफ्नो धारणा बाहिर ल्याएको छैन ।

२०७१ मंसिर १० र ११ गते काठमाडौँमा सम्पन्न १८ औँ शिखर सम्मेलनमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देशका प्रधानमन्त्रीको हात मिलाएर सम्बन्ध सुधारको प्रयास गर्नु भएको थियो । नेपालको त्यो नेतृत्वदायी भूमिका र मध्यस्थताकर्ताको महसुस गर्दै अब्बासी नेपाल आउन लागेको परराष्ट्रविदहरुको भनाई छ ।

यस्तै, संयुक्त राष्ट्रसंघको जागिरका लागि गएको ९ महिनाभन्दा अघि लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका सेवानिवृत कर्णेल मोहम्मद हबीब अझैसम्म बेपत्ता छन् ।  पाकिस्तानले भारतीय खुफिया एजेन्सी ‘रअ’ ले हबिबको अपहरण गरेको आरोप लगाएको छ ।

यो पनि पढ्नुहोस – दुई महिना बितिसक्दा पनि भेटिएनन् पाकिस्तानी पूर्व कर्णेल

कर्णेल हबिबको परिवारले यस विषयमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा उजुरी गरे पनि अहिलेसम्म उनको पत्तो लागेको छैन । यस विषयमा पनि अब्बासीले जिज्ञासा राख्ने अनुमान गरिएको छ ।

सार्क सक्रिय होला ?

अहिले दक्षिण एशियाली साझा फोरम सार्क निष्कृय छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई पाखा लगाउन खोज्दा सार्क सम्मेलन अनिश्चित छ ।

यस्तो बेलामा पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण केवल ओलीलाई बधाइ दिने कार्यमा मात्रै सीमित नरही सार्कलाई सक्रिय बनाउने बारेमा पनि नेपाल र पाकिस्तानबीच सार्थक कुराकानी गरे भने यो दक्षिण एशियाकै लागि फलदायी भ्रमण हुन सक्ने देखिन्छ ।

तर भारतले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिने प्रष्ट जनाईसकेको छ । यस अवस्थमा सार्क शिखर सम्मेलन पाकिस्तानमै गर्ने कि अरु देशमा गर्ने भन्ने बहस पनि एकातिर छ । यदि अर्काे देशमा हुने भए अंग्रेजी अल्फाबेटका आधारमा हुने सार्ककको नियम अनुसार श्रीलंकामा हुनेछ । भारत पाकिस्तान नजाने र पाकिस्तानले अर्काे देशमा नजाने अडान लिए सार्ककको अस्तित्व नै खतरामा पर्न सक्नेछ ।

विगतमा पनि दुई देशको सम्बन्धलाई सुधार गर्न मध्यस्थताको भूमिका निर्वाह गरेको नेपालबाट अब्बासीले पनि त्यसैको निरन्तरता खोजेको हुन सक्छ ।

नेपाल भारतको सम्बन्ध

नेपाल र भारतबीच भौगोलिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक र राजनीतिक सम्बन्ध रहेको छ । दुई देशबीचको सम्बन्धमा कहिलेकाहीँ खटपट भएपनि जनस्तरबाटै जोडिएको ‘रोटीबेटी’को सम्बन्धले मजबुत बनाउने गरेको छ ।

पूर्व, पश्चिम र दक्षिण गरी तीन दिशाबाट नेपालसँग सीमा जोडिएको भारतसँग भौगोलिक सम्बन्ध पनि उतिकै निकटता रहेको छ । युगौंदेखिको दुई देशबीचको सम्बन्धलाई पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणले खासै असर पर्ने देखिंदैन ।

भौगोलिक रुपमा पनि टाढा रहेको र धार्मिक, साँस्कृतिक रुपमा पनि कम सम्बन्ध जोडिएकाले अब्बासीको नेपाल भ्रभणले भारतसँगको सम्बन्धमा फरक पर्ने देखिदैन ।

तैपनि पाकिस्तान र भारतबीचको कटुता सम्बन्ध रहेको अवस्थमा अब्बासीको नेपाल भ्रमणले भारतको मनमा चिसो भने पस्न सक्छ । मित्रतापूर्ण सम्बन्ध रहेको नेपालसँग शत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानको उच्चस्तरीय भेटवार्ताले भारत झस्कने ठाउँ भने देखिन्छ ।

बधाई दिन प्रधानमन्त्री आएको संभवत पहिलो

नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय भेटवार्ता भएका छन् । तर प्रधानमन्त्रीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको संभवत पहिलो पटक हो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको निमन्त्रणामा नभई आफ्नै इच्छामा आउन लाग्नु भएको हो । भ्रमण टोलीमा विदेशमन्त्री खवाजा मोहम्मद असिफ, परराष्ट्र सचिव तेहिमना जान्जुआ, परराष्ट्र प्रवक्ता डा. मोहम्मद फैसललगायत एक दर्जन उच्च अधिकारी रहनेछन् ।

आफ्नै विमानबाट आउन लागेका पाकिस्तानी प्रधानमन्त्रीले नेपाली समकक्षी केपी ओलीसँग सोमबारे  रात्री भोजसहित औपचारिक वार्ता गर्दै हुनुहुन्छ । त्यसपछि मंगलबार बिहान राष्ट्रिपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कार्यलयका अनुसार अब्बासीको भ्रमण ‘कूटनीतिक च्यानल’मार्फत तय भएको हो । नेपाल र पाकिस्तानवीचको सम्बन्ध सार्क फोरममा मात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि छ ।

भारत र पाकिस्तानवीच क्रिकेट म्याच हुँदा नेपाली दर्शकहरुले प्रायः पाकिस्तानी टोलीको सपोर्ट गर्ने गर्छन् । त्यसैगरी भारतले नेपालमाथि नाकाबन्दी लगाएका बेला पाकिस्तानीहरुले नेपालको पक्षमा सहानुभूति प्रकट गरेका थिए ।create_thumb.jpg

यसले पनि नेपाल र पाकिस्तानबीचको सम्बन्ध कूटनीतिक मात्रै नभएर भावनात्मक रहेको स्पष्ट हुन्छ ।

source : ujyaaloonline

प्रधानमन्त्रीका पाँच दिन : के.पी. ओलीको खरायो दौड

काठमाडौं – फागुन ३ गते साँझपख प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि के.पी. शर्मा ओलीका ५ दिनको गतिविधि हेर्दा ओली खरायोको गतिमा दौडिन खोजेको स्पष्टै देखिन्छ ।
फागुन २ गते साँझ निर्वाचन आयोगले चुनावको नतिजा राष्ट्रपतिलाई बुझाएको भोलिपल्टै वाम गठबन्धनले ओलीका लागि प्रधानमन्त्रीको दाबी गर्‍यो । दाबीपछि ओली सोही दिन पार्टीको संसदीय दलको नेता चुनिनु भयो । त्यही दिन प्रधानमन्त्री नियुक्त भएर सपथ ग्रहण पनि गर्नुभयो ।
सपथ ग्रहण समारोहमा भाग लिन पुुगेका लालबाबु पण्डित र थममाया थापालाई तत्कालै मन्त्री नियुक्त गर्नुुभयो । त्यसपछि लैनचौर र कीर्तिपुर पुुगेर शहीदलाई माल्यार्पण गरी सरकारको काम सम्हाल्न सिंहदरबार पुुग्नुुभयो । त्यसपछि ओलीको गति झन् बढ्यो ।
  • फागुन ४ गते : बामदेब गौतमको अध्यक्षतामा सरकारको कार्ययोजना तय गर्न समिति गठन भयो । मओवादी र एमाले एकताका बिषयमा छलफल भयो ।
  • फागुन ५ गते: ओली निवास वालकोटमा पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डबीच छलफलभयो । सरकारले काम थाल्यो ।
  • फागुन ५ गते : बामदेब गौतमको अध्यक्षतामा बनेको समितिले कृषि, उर्जा र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्न सरकारलाई प्रतिवेदन बुुझायो ।
  • फागुन ६ गते : ओली र प्रचण्डबीच करीव ६ घण्टा लामो छलफल ।
  • फागुन ७ गते : दुुई पार्टीवीच एकताको आधारपत्रमा हस्ताक्षर ।
  • फागुन ८ गते : युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राष्ट्रिय सभा सदस्यमा सिफारिस र राष्ट्रपतिबाट मनोनित ।
यी त भए मुख्य मुख्य कामका सूची । यसबीचमा पार्टीका नेता र कार्यकर्ता, सरकार प्रमुखका रुपमा बिभिन्न कार्यक्रममा भएका सहभागिता र भेटघाट, बधाई र सम्बोधनहरु पनि जोड्ने हो भने ओलीको व्यस्तता र रफ्तार असाध्यै बढेको देखिन्छ ।
बितेका पाँच दिन हेर्दा ओलीको व्यस्तता र रफ्तार भोलिका लागि काम गर्ने मैदान बनाउन केन्द्रित छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारासहित चुनाव जितेको बाम गठबन्धन अब औपचारिक रुपमा एउटै पार्टी हुन पार्टी एकतामा प्रवेश गरेको छ । अब माओवादीका तर्फबाट ओलीलाई दिईने घुर्की र धम्की कोठे वार्ता र छलफलमा सिमित भएको छ । अथवा अब सरकारलाई पूर्णता दिन उहाँलाई कुनै कठिनाई छैन । आफ्नो सरकारलाई माओवादी पार्टीले अविश्वास गर्ला कि भन्ने ओलीको चिन्ता पनि हिजोदेखि सकिएको छ ।
राष्ट्र बैकका गभर्नर र योजना आयोगका उपाध्यक्ष भएर काम गरिसकेका अर्थशास्त्री युवराज खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनयन गराएर प्रधानमन्त्री ओलीले आम मतदातालाई भावी अर्थमन्त्रीको अनुहार पनि देखाउनु भएको छ । वाम गठबन्धनको घोषणापत्रदेखि बामदेब गौतमले तयार पारेको सरकारका प्राथमिकता तय गर्ने समितिको सदस्य समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्यमा ल्याएपछि ओली साँच्चै ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारामा केन्द्रित हुन खोजेको देखिन्छ ।
सधै बाचाल र हाँसो ठट्टामा रमाउने ओलीको बोलीमा केही ब्रेक पनि लागेको छ भने बितेका पाँच दिन चुपचाप रहेरै ओलीले भविष्यका लागि आफ्नो बाटो बनाउनुभएको देखिन्छ ।
अहिलेको आशंका के मात्रै हो भने ओलीको यो रफतार कति दिन टिक्छ ? र ओलीले कर्मचारी तन्त्रलाई आफ्नो रफ्तारमा कसरी हिडाउनुहुन्छ ?
Source: Ujyaaloonline