मंसिर ५ -छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्। छठमा केन्द्र सरकारले बिदा दिएको छैन। प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ
राष्ट्रिय समाचार
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
मंसिर ५,काठमाण्डाै – छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बुधबारदेखि सुरु भएको हो । कोरोना महामारीका कारण यसवर्ष घरघरमै छठ पर्व मनाउने तयारी भइरहेको छ । सरकारले पनि घरमै छठ पर्व मनाउन अनुरोध गरेको छ ।
छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण सुनसान प्रायः छ ।
कात्तिक शुक्ल षष्ठीको बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ । यस वर्ष कोरोना महामारीबाट बच्न प्रशासनले भीडभाड नगरि छठ पर्व मनाउन आह्वान गरेको छ ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर व्रत विधि पूरा गर्न पनि प्रशासनले सम्झाएको छ । source:ujyaaloonline
१० दिनपछि फेरि बस्ने गरी सकियाे नेकपा सचिवालय बैठक
मंसिर ३, काठमाण्डाै – १० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकिएकाे छ । बालुवाटारमा एक बजेपछि सुरु भएकाे सचिवालय बैठक भर्खरै सकिएकाे र अब १० दिनपछि फेरि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । याे बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नाै जनै सदस्य सहभागी हुनु हुन्थ्याे ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ । यसअघि प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरूले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्ड र उहाँ पक्षका नेताहरूले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका थिए ।
गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ । यसका साथै राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ । source:ujyaaloonline
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियाे
मंसिर ३ काठमाण्डाै – नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । योसँगै खेलको उपाधि बंगलादेशले जितेको छ । यसअघि गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २-० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि जितेको हो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।
नेकपाको सचिवालय बैठक अन्योलमा
मंसिर ३,काठमाण्डाै – सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ । पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् ।
गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली रुष्ट हुनुहुन्छ ।
प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप छ ।
दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।
दुई अध्यक्षलाई मिल्न राष्ट्रपतिको सुझाव
नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई आग्रह गर्नुभएको छ । मंगलबार ओली र प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा भण्डारीले मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो ।
राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेट्नुभएको थियो । स्रोतकाअनुसार राष्ट्रपतिले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।
ओली र प्रचण्डबीच विवाद हुँदा मिलाउनका लागि राष्ट्रपतिले समेत भूमिका खेलेको भनेर आरोप लाग्दै आएको छ ।
दुवै पक्ष आन्तरिक छलफलमा
पार्टी भित्रको विवाद बढ्दै गएपछि दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन सक्रिय छ । ओली पक्षका नेताहरु आजको बैठक रोक्ने प्रयासमा छन् भने प्रचण्ड पक्षका नेताहरु जसरी पनि बैठक गर्ने अडानमा छन् । पार्टीलाई विभाजन हुन नदिनको लागि अर्का थरी नेताहरुले पनि छलफल र भेटघाट तीव्र पारेका छन् ।
पार्टी सचिवालयमा प्रचण्डको एकल राजनीतिक प्रस्ताव पेस भएपछि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई सचिवालयमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह पनि गर्नुभएको थियो । तर दुवै नेताले ओलीको आग्रहलाई अस्वीकार गर्दै उहाँलाई सच्चिन सुझाव दिएका थिए ।
यसबीचमा ओलीले पूर्वमाओवादीका नेताहरुसँग पनि भेट गर्नुभएको छ । प्रचण्ड र नेपाल समूह पार्टी विभाजनको तयारीस्वरुप प्रस्तुत भएको भन्दै ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो । पूर्वमाओवादीका नेताहरुले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुको नाताले लचिलो हुने दायित्व ओलीकै भएको सुझाव दिएका थिए । source:ujyaaloonline