उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

मंसिर १३,काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्नुहुने भएको हो ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनुभएको छ । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भएका छन् ।। जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।

राजसंस्था माग्दै पोखरामा जुलुस, गुन्जियो ‘श्रीमान गम्भीर नेपाली ….

मंसिर १०, पोखरा : पोखरामा बुधबार राजसंस्था पुनर्वहाली माग गर्दै प्रदर्शन भएको छ। देशमा गणतन्त्र आइसकेपछि हटाइएको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली …’ गुन्जाउँदै राजसंस्थाको खोजी गरिएको हो। कार्यक्रममा सहभागीहरुले राजसंस्था, हिन्दू राष्ट्र, हिन्दू धर्मसहितको राज्य व्यवस्था माग गर्दै सभा गरेका थिए। त्यही क्रममा राजतन्त्रको समयमा रहेको राष्ट्रिय गान गाइएको हो। गणतन्त्र आउनुअघि नेपालमा चक्रपाणी चालिसेले रचना गरेकाो श्रीमान् गम्भीर नेपाली…सार्वजनिक समारोह र विद्यालयमा गुन्जिन्थ्यो। 

राजावादी र हिन्दूवादी भनिनेहरुले पनि सार्वजनिक कार्यक्रममा यो राष्ट्रिय गान नगाएको अवस्थामा पोखराबाट यसको सुरुवात भएको हो। राजवादीहरुको र्‍यालीपछिको कोणसभाका क्रममा आएका प्रयत्न श्रेष्ठले देशका लागि भन्दै श्रीमान गम्भीर नेपाली…गाएका हुन्। उनले त्यसपछि ‘रातो र चन्द्र सूर्य जंगी निशान…’ हाम्रो गीत गुन्जाए। नेपालमा अहिले व्याकुल माइलाले रचेको सयौं थुंगा फूलका हामी…’ राष्ट्रिय गान प्रचलित छ। पोखराको सभामा बोल्दै शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले यो कार्यक्रम कुनै दलविरुद्ध नभइ देश बचाउन गरिएको जिकिर गरेका थिए। source:thahakhabar

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ३९

मंसिर १०, काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ ।  यस्तै बुधबार एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।  गएको २४ घण्टामा नौ हजार दुई सय १० जनाको पीसीआर परीक्षण भएको थियो । यस्तै बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ ।  

कक्षा १२ को परीक्षाकाे तयारी पूरा : परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह

मंसिर ७,काठमाण्डाै – कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ । परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरणको काम पनि गरिसकेको छ । यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिनेछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । कोरोना सङ्क्रमण कायमै रहे पनि भौतिक दूरी कायम गरी परीक्षा लिन लागिएको हो । गएकाे वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो । मङ्सिर ९ गतेदेखि सुरु हुने परीक्षा १६ गते सकिनेछ । source:ujyaaloonline

प्रदेश नम्बर २ मा आज सार्वजनिक बिदा

 मंसिर ५ -छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ। प्रदेश नम्बर २ मा आठ जिल्ला छन्। छठमा केन्द्र सरकारले बिदा दिएको छैन। प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ