विदेशी मेलामा सहभागिता बढाउनसके निर्यात बढ्छ – अध्यक्ष सुरेन्द्र भाइ शाक्य (अन्तर्वार्ता)

मंसिर २८, २०७७ काठमाडौं – नेपालको निर्यात व्यापार र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकला कोरोनाका कारण समस्यामा परेको छ । विश्वव्यापी कोरोनाका कारण हस्तकलाको निर्यात प्रभावित भएकोले हस्तकला व्यवसायीमा निराशा छाएको छ । करिब ७ खर्ब लगानी र व्यवसायी र कामदार गरी ११ लाखभन्दा बढी व्यक्ति संलग्न रहेको हस्तकला व्यवसाय पर्यटन व्यवसाय जत्तिकै प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्यका अनुसार वार्षिकरूपमा ६ अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात हुने गरेकोमा कोरोनाका कारण यसवर्ष निर्यात हृवात्तै घटेको छ । शाक्यका अनुसार प्रत्यक्ष निर्यात, अपत्यक्ष निर्यात र आन्तरिक खपत गरी वार्षिक करिब २० अर्ब हस्तकला कारोबार हुने गरेको थियो । तर कोरोनाका कारण आन्तरिक बजार पनि प्रायः ठप्प रहेको छ । स्वदेशी श्रम, सीप र कच्चा पदार्थमा आधारित नेपाली हस्तकला पुँजी, प्रविधि र दक्ष जनशक्ति अभावबीच गुज्रिँदै आएको छ । त्यस्तै, सरकारबाट सहयोग नहुँदा अन्तराष्ट्रिय बजारमा पर्याप्तमात्रामा प्रचारप्रसार हुन नसकेका कारण पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले बताउनुभएको छ ।

हस्तकला व्यवसायका समग्र समस्या समाधानका साथै कोरोनाले सिथिल भएको हस्तकलालाई पुनर्जीवन दिने उद्देश्यले नेपाल हस्तकला महासंघले समृद्धिका सम्भावना भन्ने नाराका साथ विभिन्न २५ बुँदे वार्षिक कार्यक्रमको घोषणा गर्ने भएको छ । महासंघले ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा आइतबार प्रवद्र्धनात्मक कार्यक्रमको घोषणा गर्न लागेको हो । यसै सन्दर्भमा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यसँग गरिएको कुराकानीः

अहिले हस्तकला व्यवसायको अवस्था कस्तो छ ?

विगतको तुलनामा अहिले कोरोनाका कारण हस्तकला व्यवसायमा धेरै असर परेको छ । हस्तकला व्यवसाय धेरै खस्किएकोले व्यवसायी अहिले निराश अवस्थामा छन्, कतिपय व्यवसायी फ्रस्ट्रेशनको अवस्थामा पुगेका छन् । अब हस्तकला व्यवसायको उत्थानका लागि कसरी जाने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं । यस्तो अवस्थामा हस्तकला व्यवसायीलाई प्रोत्साहित गर्न सरकारले पनि केही सपोर्ट गरिदिए हुन्थ्यो ।

कोरोनाबीच पनि हस्तकलालाई निरन्तरता दिन के गर्दै हुनुहुन्छ ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमेला गर्ने तयारी भइरहेको छ । केही समयअघि कोरोनाबीच पनि चीनको संघाइमा पनि हस्तकला व्यापारमेला आयोजना भएको थियो । नेपाली व्यवसायीहरू १४ दिनसम्म क्वारेन्टाइनमा बसेर त्यो मेलामा सहभागी हुनुभएको थियो तर मेलाको कतिको उपलब्धिपूर्ण रहृयो भन्ने फिडब्याक भने आइसकेको छैन ।

व्यापारमेला कहिले हुँदैछ ?

काठमाडांैमा आगामी वैशाख महिनामा गर्ने तयारी छ तर विदेशमा व्यापार कोरोनाका कारण कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

कोरोनाबीच हस्तकला निर्यातको अवस्था चाँहि कस्तो छ ?

कोरोना लकडाउन र निषेधाज्ञको समयमा त लगभग निर्यात ठप्प थियो तर लकडाउन खुला भए पनिे निर्यातमा भने सुधार हुँदै गएको छ । अहिले भने १० प्र्रतिशत जति निर्यात रहेको छ । विस्तारै ३० प्रतिशतसम्म बढ्ला कि भन्ने आशा पलाएको छ । त्यसो त कोरोनाका कारण निर्यात लागत बढेकोले निर्यात बढ्न नसकेको हो । विगतमा २ सय रुपैयाँ लाग्ने सामानमा अहिले कार्गो कम्पनीले ६ सय रुपैयाँ लिने गरेकोले व्यवसायी मर्कामा परेका छन् । 

नेपाली बजारमा चाँहि हस्तकलाको कारोबार कस्तो छ ?

नेपाली बजारमा पनि खासै छैन । सरकारले स्वदेशी वस्तुको प्रयोगमा प्रोत्साहित गरेमा नेपाली बजारमा पनि हस्तकलाको खपत धेरै बढ्न सक्छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने सरकारको नीति त छ तर कार्यान्वयन भएको छैन । उपभोक्तामा पनि स्वदेशी उत्पादनप्रतिको मोह बढाउन सकियो भने स्वदेशमा पनि यसको माग बढ्दै जान सक्छ ।

महासंघले यसवर्षदेखि हस्तकला प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै घोषणा गर्दै छ, यस्तो कार्यक्रमले हस्तकला प्रवद्र्धनका लागि कत्तिको सहयोग पुग्ला जस्तो लाग्छ ?

हस्तकला प्रवद्र्धनमा सरकारलाई पनि झकझक्याउने उद्देश्यका साथ यस्तो कार्यक्रम ल्याइएको हो, यसले केही न केही सपोर्ट हुन्छ भन्ने लागेको छ । हस्तकला दिवसको अवसरमा हस्तकलाका नयाँ नयाँ डिजाइनको प्रदर्शनी पनि गर्ने गरिएको छ । हामी वर्षैभरि देशव्यापीरूपमा सञ्चालन गर्ने गरी समृद्धिका सम्भावना भन्ने नाराका साथ विभिन्न २५ बुँदे कार्यक्रम घोषणा गर्दैछौं । ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा कोरोनाबाट सिथिल हस्तकला व्यवसायलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको हो । कार्यक्रमअन्तर्गत प्रचारप्रसार र अनलाइन आर्थिक पत्रकारिता प्याकेज तयार गर्ने, त्रैमासिक बुलेटिन प्रकाशन गर्ने, जिल्ला तथा वस्तुगत संघलाई प्रचारात्मक प्रवद्र्धन गर्ने, समसामयिक विषयवस्तुमा वेभिनार तथा सेमिनार आयोजना गर्ने, महिला उद्यमी मेलामार्फत महिला उद्यमीलाई संगठित गर्दै जाने, आन्तरिक बजार प्रवद्र्धन गर्न त्रैमासिकरूपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने रहेको छ । हस्तकलासँग इन्टेरियर डिजाइनिङ समायोजन गर्ने, मूर्तरूपमा डिजाइन तथा डिस्प्ले कक्ष तयार गर्ने, कलाकार परिचयपत्र प्रदान गर्ने, अर्र्धवार्षिक कला प्रदर्शनी आयोजना गर्ने, प्रोडक्टवाइज र प्रमोसनल सर्ट डकुमेन्टरी तयार गर्ने रहेको छ । त्यस्तै, बढीभन्दा बढी वस्तुगत संघ र जिल्ला संघलाई महासंघमा आबद्ध गरी ७ वटै प्रदेशमा महासंघको प“हुच विस्तार गर्ने, सदस्य संघको सुदृढीकरणका लागि आवश्यक पहल गर्ने, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन, कानुन नीति नियम तर्जुमा र समयसापेक्ष तथा परिमार्जनका लागि सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र सञ्चालनका लागि पहल गर्नेलगायत रहेका छन् ।

अपेक्षाअनुसार हस्तकलाको निर्यात बढ्न नसक्नुको कारण के होला ?

मुख्य कुरा त हस्तकला निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाको महŒवपूर्ण भूमिका हुन्छ तर बढी लागतका कारण सबै नेपाली व्यवसायीहरू अन्तर्राष्ट्रिय व्यापारमेलामा भाग लिनसक्ने अवस्था छैन । स्टलभाडादेखि सबै खर्च व्यवसायीले नै व्यहोर्नुपर्ने हुन्छ । दुई जना व्यवसायी अन्तर्राष्ट्रिय व्यापारमेला सहभागी हुन कम्तीमा पनि १० लाख रुपैयाँ लाग्छ, यसमा सरकारको सपोर्ट छैन । त्यसैले हस्तकलाको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको हो । तर, विगतमा भने मेलामा जाने व्यवसायीको खर्च नेपाल सरकारले नै व्यहोर्ने गरेको थियो । अहिले केही सपोर्ट छैन । 

अन्य मुलुकको तुलनामा नेपाली हस्तकलाको लागत बढी पर्छ, अन्य मुलुकको हस्तकलासँग कसरी प्रतिस्पर्धा गरिरहनुभएको छ ?

हाम्रो हस्तकला हृयाण्डमेड भएकोले खासै प्रतिस्पर्धा छैन । हृयाण्डमेड भएकोले मेसिनबाट उत्पादित हस्तकला स्वाभाविकरूपमा केही महँगो नै हुन्छ, यस्तो कुरा हस्तकला मगाउने विदेशी क्रेतालाई पनि थाहा हुन्छ । हृयाण्डमेड भएकै कारण नेपाली हस्तकला अन्तर्राष्ट्रिय पहिचान कायम गर्न सफल भएको छ ।

नेपाली हस्तकलाको बढी माग चाँहि कहाँ छ ?

पहिले त युरोप अमेरिका, जापानतिर पनि नेपाली हस्तकलाकोे धेरै माग हुने गरेको थियो तर अहिले घटेको छ । अहिले धेरैजसो हस्तकला सामान छिमेकी मुलुक चीनमै जाने गरेको छ ।

हस्तकलाको प्रवद्र्धनका लागि हृयाण्डमेड र मेसिन मेड पनि हुनुपर्छ, नेपालमा मेसिनको पनि प्रयोग हुन थालेको छ कि ?

अहिलेसम्म मेसिनको प्रयोग भएको छैन । हातबाटै बनाउने गरिएको छ । मेसिनका लागि लागत बढी पर्छ, कालीगढ पनि धेरै चाहिन्छ । फेरि मेसिन मेड हस्तकला ह्याण्डमेड जस्तो राम्रो हुँदैन, तौल पनि घटी बढी हुनसक्छ । तथापी सानो सानो मेसिन चाहिँ नेपाली हस्तकलामा पनि प्रयोग हुनथालेको छ ।

हस्तकलाको कच्चा पदार्थ कत्तिको सहज छ ?

कुनै कच्चा पदार्थ सहज छ, कुनै छैन । काष्ठकलाका लागि काठहरू सहजरूपमा नपाइने, सुपथ मूल्यमा नपाइने समस्या छ भने ढुंगा आपूर्तिमा पनि समस्या हुने गरेको छ । आयातित कच्चा पदार्थमा धेरै कर तिर्नुपर्ने भएकोले लागत महँगो पर्न जाने समस्या छ । 

हस्तकलामा जनशक्तिको अवस्था के छ ?

दक्ष जनशक्तिको अभाव नै छ । यसमा पुस्तान्तरणको समस्या छ, हाम्रा छोरा नातिहरू हस्तकलाको काम नगर्ने भए । सीप अनुसारको सम्मान नपाएका कारण नयाँ पुस्तामा खासै आकर्षण छैन र पुस्तान्तरण पनि हुन सकेको छैन । यहाँ डाक्टर, पाइलट जस्तो कालीगढहरूले सम्मान पाउँदैनन् । तर, पनि पुस्तान्तरण र युवा आकर्षण बढाउन हामीले पहल गरिरहेका छौं ।

के पहल गर्नुभएको छ ?

हस्तकला महासंघले डिजाइन सेन्टरमार्फत हस्तकला तालिम प्रदान गर्दै आएको छ । हालसम्म हजारौंले तालिम लिइसकेका छन् । तर, यसमा हाम्रो एक्लो प्रयासलेमात्रै हुँदैन । सरकारको पनि सहयोग चाँहिन्छ । 

तालिम लिनेहरूले काम गरेका छ कि छैनन् ?

कुनै कुनैले गरेका छन्, ५० प्रतिशतले काम गरेका छन् । कतिपय भने हस्तकलाको तालिम लिए पनि अन्य व्यवसायमा जाने गरेका छन् ।

पुस्तान्तरणका लागि के गर्नुपर्ला ?

यसका लागि सरकारको पनि सहयोग चाहिन्छ । हस्तकला व्यवसायलाई सम्मानित व्यवसायका रुपमा स्थापित गराउनुपर्छ । 

सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

हालसम्म हस्तकला नीति आएको छैन । महासंघले हस्तकला नीतिको मस्यौदा तयार गरी सरकारलाई बुझाएको धेरै वर्ष भइसक्यो तर सरकारले त्यत्तिकै दराजमा थन्क्याएर राखेको छ, कार्यान्वयनमा आउन सकेको छैन । अर्को कुरा हस्तकला व्यवसायमा दक्ष जनशक्रिको अभाव छ । दक्ष जनशक्ति उत्पादनमा जोड हस्तकलासम्वन्धि प्रशिक्षण केन्द्र स्थापना हुनुपर्छ । त्यस्तै, निर्यातलाई प्रोत्साहित गर्न निर्यात अनुदान रकम बढाउनुपर्छ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमेलामा बढीभन्दा बढी व्यवसायीलाई सहभागी गराउने सरकारबाट सहयोग भएमा स्वदेश तथा विदेशमा पनि नेपाली हस्तकलाको माग बढ्नेछ भने रोजगारी पनि सिर्जना हुनेछ । source:ehimalayatimes

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

मंसिर २८, काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।

बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाउनुभएको थियो ।

मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता लगायतबारे विवाद उत्पन्न भएर दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको हो । स्थायी कमिटी बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ। source:ujyaaloonline

ह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो

मंसिर २८, तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।

वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो​ ।

आजदेखि उखु किसानको माइतीघरमा आन्दोलन–चारवटा चिनी मिलमा करोडौं रुपैयाँ बक्यौता

 मंसिर २८,काठमाडौं । उखु किसानले आज (आइतबार)देखि माइतीघरमा आन्दोलन थाल्ने भएका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको प्रतिबद्धता पुरा नभएको भन्दै किसानले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी रहेको बताउनुभयो । यसका लागि सर्लाहीबाट पाँच सयभन्दा बढी किसान काठमाडौं आएका छन् । सरकारले किसानसँग गरेको प्रतिबद्धताअनुसार एक वर्षको अवधिमा पनि बक्यौता रकम प्राप्त नभएपछि उनीहरू आन्दोलन गर्न बाध्य भएका हुन् । तिहारअघि उनीहरूले उद्योग मन्त्रीलाई भेटेका थिए र आश्वासन पाएका थिए, तर अहिलेसम्म बक्यौता रकम प्राप्त गर्न सकेका छैनन् । आन्दोलनरत उखु किसानहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरणपत्र पनि बुझाएका थिए ।

मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै पनि कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायजेथा बिक्री गरेर भए पनि किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर, सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन् । संरक्षक मिश्रले सरकारले नै सम्झौताअनुसार काम नगरी किसानहरूलाई नियोजित पीडा दिइरहेको बताउनुभयो ।

उखु किसानले चार वटा चिनी मिलबाट करोडौं रुपैयाँ पाउनुपर्ने छ । किसानले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट चार करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट आठ करोड ४१ लाख र अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपयाँ पाउन बाँकी छ । 

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

मंसिर २४, काठमाडौं ।  देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । 

केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । “परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासङ्घलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो । 

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था भएको छ । 

प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ । यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् । 

लामो समयसम्म पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका, अपाङ्गता जस्ता कारणले सूचना विभागसम्मको पुहँच नभएका पत्रकारलाई सहजै जिल्लाबाटै सेवा उपलब्ध हुने भएपछि निरन्तर कार्यक्षेत्रमा लाग्न चाहने सञ्चारकर्मीलाई बेरोकटोक काम गर्ने अवसर मिल्नेछ । यसले उनीहरुको मनोबल बढ्न गई अन्ततः समाचार प्रवाहमा गुणस्तरीयता आउने अपेक्षा गर्न सकिन्छ । 

नयाँ परियचपत्रका लागि पनि जिल्लाबाटै आवेदन दिने व्यवस्था मिलाउने प्रतिबद्धता सरकारबाट आउनु प्रशंसनीय छ । 

नेपाल पत्रकार महासङ्घले पनि सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । नेपाल पत्रकार महासङ्घले सम्बन्धित जिल्लाबाटै प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने सरकारको निर्णयको स्वागत गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले रासससँग कुराकानी गर्दैै सङ्घीय शासन प्रणालीमा अधिकारलाई विकेन्द्रीत गर्ने सिद्धान्तको कार्यान्वयन सञ्चार मन्त्रालयबाट भएको बताउनुभयो । “सञ्चार क्षेत्रमा सङ्घीयता त्यति धेरै अनुभूति गर्न पाइएको थिएन, यो निर्णयले अधिकार जिल्लातहमा विस्तार भएको छ । अब सेवा सहज हुन्छ,” उहाँले भन्नुभयो – “नीतिगरुपमा निर्णय भएको छ । यसलाई सरलीकृत गर्न पत्रकारका तर्फबाट पनि योगदान आवश्यक छ । सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न पत्रकार महासङ्घ र सरकारले संयुक्तरुपमा अनुगमन गर्नुपर्छ ।”

सरकारको निर्णय कार्यान्वयनमा आउने जटिलतालाई हल गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

दुर्गमका पत्रकार उत्साहित

जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन् । नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकाँश पत्रकारले प्रेस पास नै नलिई काम गर्दैआएका थिए । प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न सकेका थिएनन् । 

नेपाल पत्रकार महासङ्घ डोल्पाका संस्थापक अध्यक्ष विष्णुबहादुर बुढा जिल्लाबाटै प्रेस पास नवीकरण गर्न सकिने सरकारको निर्णयबाट दुर्गमका पत्रकारमा उत्साह थपेको बताउनुहुन्छ ।

महासङ्घमार्फत दुर्गमका पत्रकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास नवीकरणको माग गर्दै आएका थिए । “हामीले लामो समयदेखि प्रत्येक फोरममा जिल्लाबाटै प्रेस पासको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो – “सरकारले ढिलै भए पनि जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाएको छ । हामी अत्यन्त खुशी भएका छौँ, सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।”

प्रेस पास नवीकरणका लागि राजधानी नै आउनुपर्ने बाध्यात्मक अवस्था हुँदा आफ्नो प्रेस पास चार पटकसम्म नवीकरण गर्न नपाएको उहाँको भनाइ छ । “प्रेस पास नवीकरणका लागि तोकिएको समयमै काठमाडौँ जानुपर्ने अवस्था थियो, केही पत्रकारले प्रेस पास लिए पनि नियमित नवीकरण गर्न सकेका थिएनन्,” उहाँले भन्नुभयो – “अब प्रेस पास लिने तथा नियमित नवीकरण गर्नेको संख्या बढ्ने निश्चित छ ।” गतवर्ष प्रेस काउन्सिल नेपालको टोली डोल्पा आउँदा पनि आफूहरुले जिल्लाबाटै प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको बुढाले स्मरण गर्नुभयो । 

विभागले चालु आवको प्रथम चौमासिकमा ६७८ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गरेको तथ्याँक छ । यही अवधिमा एक हजार २२० प्रमाणपत्र नवीकरण भए । यसैगरी स्वतन्त्र प्रेस पास चार, विदेशी पत्रकार प्रेस पास पाँच र अध्यक्ष÷प्रकाशक परिचयपत्र ४५ वटा जारी भएका छन् । सोही अवधिमा १६० वटा नयाँ अनलाइन दर्ता र १५१ अनलाइन नवीकरण गरिएको विभागले जनाएको छ । यस्तै १३ वटा पत्रिका स्थायी दर्ता सिफारिश र ५९ वटा पत्रिका अस्थायी दर्ता सिफारिश भएका छन् । रासस