नेकपाका यी नेता : चुनाव हारेर पनि जो संसद र सत्तामा छन्

भदौ २०, काठमाडौं : जनमतको बेवास्ता गर्नु संसदीय राजनीति विकृत हुनु हो भनिन्छ। अझ साम्यवादी सिद्धान्त अंगालेका भनिएकाहरूले त जनतालाई नै केन्द्रमा राखेको दाबी गर्छन्‌। ​तर नेपालमा के कांग्रेस, के कम्युनिष्ट : जनमतबाट तिरस्कृत भएका र संसद्‌मा आउनुपर्ने कुनै कारण नै नभएका मानिसहरूलाई रातो कार्पेट बिछ्याएर उस्तै परे सत्ता नै सुम्पने गरिन्छ।

व्यापारी, ठेकेदार, शैक्षिक माफियादेखि अपराधमा संलग्‍न भएकाहरूसम्मलाई नेपालका राजनीतिक पार्टीहरूले काँध थाप्‍ने गर्छन्‌, थापिरहेका छन्‌।  लामो समय राजनीतिमा बिताएका, तर समयान्तरमा चुनाव हारेका नेताहरूलाई संसद हुँदै सरकारको चाबी बुझाउन हालको सत्तारूढ नेकपाका नेताहरू अन्य दलभन्दा एक कदम अगाडि छन्‌। 

पहिलो संविधानसभा चुनाव हारेका माधवकुमार नेपाललाई संसद हुँदै प्रधानमन्त्री बनाउनेदेखि पछिल्लो चुनावमा पराजित भएका नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई उसैगरी राष्ट्रिय सभा सदस्य बनाउनु यस्तै उदाहरण हो। 

वामदेव गौतम 

नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने पक्का भइसकेको छ। पार्टीले यस विषयमा निर्णय गरिसकेको छ। राष्ट्रिय सभामा उनी लामो कसरत पछि जान लागेका हुन। यद्यपी; शुक्रबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गौतमको नाम सिफारिस गर्ने निर्णय भने गरेको छैन। गत चुनावमा गौतम बर्दिया क्षेत्र नं. १ मा कांग्रेसका नेता तथा पूर्व मन्त्री सञ्जय कुमार गौतमसँग ७५३  मतअन्तरले पराजित भएका थिए। 

विष्णु प्रसाईं 

विष्णु प्रसाईं झापाको मेचीनगर नगरपालिकामा नगरप्रमुख (मेयर) मा पराजित उम्मेदवार पनि हुन्‌। गत स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठेर पराजित बनेका प्रसाईंलाई सत्तारुढ दल नेकपाले प्रदेश प्रमुख सिफारिस गरेको छ। तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए। उनी अहिले बागमती प्रदेश सरकारको प्रदेश प्रमुख हुन्। 

नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि चुनाव हारे पनि सत्तामा रहनका लागि मरिहत्ते अर्का नेता हुन्‌। श्रेष्ठ गत प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग गोरखा क्षेत्र नम्बर २ मा पराजित उम्मेदवार हुन्। भट्टराइले श्रेष्ठलाई ६ हजार आठसय ७४ मतअन्तरले हराएका थिए।  जनताबाट चुनिन नसकेका उनै श्रेष्ठलाई नेकपाले राष्ट्रिय सभा सदस्य बनाएको छ। 

भगवती न्यौपाने 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट तनहुँको भानु नगरपालिकाको मेयर पदमा चुनाव लडेकी न्यौपानेलाई कांग्रेसका उम्मेदवार उदयराज गौलीले ४५१ मतले हराएका थिए। उनी पनि अहिले राष्ट्रिय सभा सदस्य छिन्‌। 

विमला घिमिरे 

विमला घिमिरे कपिलबस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित उम्मेदवार हुन्। उनी पनि अहिले राष्ट्रियसभा सदस्य भएकी छिन्।

  जगप्रसाद शर्मा 

दाङमा प्रदेशसभा सदस्यमा पराजित उम्मेदवार हुन जगप्रसाद शर्मा। कांग्रेसका डिल्ली चौधरीले उनलाई हराएका हुन्।  चौधरीसँग २ हजार ३३६ मतले पराजित शर्मा अहिले राष्ट्रियसभा सदस्य हुन्। 

सिंह बहादुर विक 

सिंह बहादुर विक सिन्धुपाल्चोकको लिसंखु–पाखर गाउँपालिकामा सदस्यमा पराजित उम्मेदवार हुन्। उनी पनि अहिले राष्ट्रियसभा सदस्य नै छन्। 

नरपति लुवार 

नरपति लुवार पनि गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा पराजित भएका नेता हुन्। कालिकोटको रास्कोट नगरपालिकामा वडा सदस्य पराजित लुवार अहिले राष्ट्रियसभा सदस्य छन्। source:thahakhabar

वामदेवको ‘इन्ट्री’सँगै सरकारबाट विदा हुँदै युवराज खतिवडा ,नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा

भदौ १८, २०७७ काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने भएका छन्। राष्ट्रपतिले मनोनित गर्ने राष्टियसभाको एक सदस्यमा बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि अर्थमन्त्री खतिवडा सरकारबाट बाहिरिने भएका हुन्। 

मनोनित एक सदस्यमा मन्त्रिपरिषद्‍‍बाट उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘मनोनित सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय सचिवालयबाट भएको छ’, उनले भने, ‘अब राष्ट्रियसभाका अर्का सदस्यलाई राजीनामा गराएर अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन।’

अर्थमन्त्री खतिवडाको कार्यअवधि यही २० गते कार्यावधि सकिँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। उनले कार्यकाल टुंगो गर्ने गोलाप्रथाका क्रममा दुई वर्षे कार्यकाल छानेका थिए। 

संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बन्‍न पाउँछ। त्यही व्यवस्थाअनुसार अनुसार उनी भदौ २० पछि मनोनित नभए स्वतः विदा हुने छन्। अहिले उनले अर्थ र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनले सरकारमा आएदेखि तीनवटा बजेट पनि ल्याएका छन्। 

राष्ट्रियसभामा निरन्तरता प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडालाई नै कायमै राख्‍ने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले आफ्नो अडान छाडेनन्। सचिवालयमा अध्यक्ष दाहालसहित बहुमत सदस्य गौतमको पक्षमा थिए। 

खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रीमा पार्टीको विवाद मिलाउन संयोजकको भूमिका निर्वाह गरेका महासचिव विष्णु पौडेलको चर्चा भइरहेको छ। कार्यदलको प्रतिवेदनले दुवै अध्यक्ष खुसी भएसँगै अर्थमा उनको चर्चा सुरु भएको हो। त्यसो त सुरेन्द्र पाण्डेको पनि नाम चर्चामा छ तर उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। यस्तोमा प्रधानमन्त्री आफ्ना विश्‍वासपात्रमध्ये एक पौडेललाई नै देशको ढुकुटीको चाबी सुम्पने मनस्थितिमा रहेको स्रोतको दाबी छ। 
source:thahakhabar.com

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

भदौ १८, २०७७  काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन्।  ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने सरकार पुगेको जानकारी गराउनु भयो’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भने। 

नेकपा फुटेमा राष्ट्र संकटमा पर्छ –टोपबहादुर रायमाझी

श्याम घिमिरे साउन २३ अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा फुटेमा राष्ट्र संकटमा पर्ने बताउनु भएको छ । प्रेस संगठन नेपाल अर्घाखाँचीले सुक्रबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रायमाझिले नेपाली जनताको बलीदानीपुर्ण संघर्षबाट उपलब्ध भएको गणतन्त्र र संघियताको रक्षाको निम्ती पार्टी एकढिक्का हुनु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । शिर्ष नेताहरुको व्यवस्थापनको समस्याका कारण पार्टी भित्र अन्तर विरोध देखिएको भन्दै नेता रायमाझीले एकपटक पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भईसकेका नेताहरुलाई कुन स्थानमा राख्ने भन्ने बिषयनै अन्तर विरोधको प्रमुख कारण भएको बताउनु भयो ।


देशमा कोरोना भाईरसको महामारी, सिमा विवाद र सलह किराको आतंक भईरहेका समयमा पार्टी भित्र मनमुटाब र तिक्तता देखिनु पार्टी र देशकालागी राम्रो सन्देश नभएकोले यि सबै चुनौतिहरुको सामना गर्न सबै एक ढिक्का हुनुपर्नेमा नेता रायमाझीले जोड दिनुभएको थियो । नेता रायमाझीले सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलगायतका नेताहरुले पार्टी फुटाउँदा असफल भएका बताउदै सोही बिधिमा गए उहाँहरुकै जस्तो अबस्था हुने भन्दै नेताहरुलाई त्यसो नगर्न आग्रह समेत गर्नुभयो । यस्तै फरक प्रसंगमा नेता रायमाझीले जिल्लाको समग्र विकासका लागी आफुहरु हरबखत लागी परीरहेको समेत बताउनु भयो ।


यस्तै पत्रकार सम्मेलनमा मनतब्य राख्दै नेकपा नेता तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी विभाजन भए राष्ट्र र राष्ट्रीयता संकटमा पर्ने बताउनु भयो । खड्काले पार्टी एकतालाई मज्बुद बनाउनुको साटो पार्टीभित्रैका जिम्मेवार व्यक्तिले अनाबश्यक कुरागरेर आगोमा घिउ थप्ने काम गरेको भन्दै राष्ट्रलाई जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम प्रेस संगठन नेपालका जिल्ला संयोजक हिम जिसी लेकालीको अध्यक्षता,पत्रकार बसन्त श्रेष्ठको स्वागत मनतब्य र सबिता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

मन्त्री भट्टराईकाे ट्वीट : दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ, सल्लाह गरौँ

साउन १३, काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभयो, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’   

सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन । source:ujyaaloonline