ओली–प्रचण्डबीचकाे छलफल निष्कर्षविहीन

 कात्तिक २०, काठमाण्डाै – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ ।नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उहाँहरुबीच दिउँसो १२ बजेदेखि छलफल भएको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गइरहेको छ ।सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय पालना नगरेको प्रधानमन्त्री ओलीमाथि आरोप लाग्दै आएको छ । पार्टी काममा केन्द्रित हुनुपर्ने अध्यक्ष प्रचण्डले सरकारले गर्ने स–साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षका नेताहरुको आरोप छ ।  

नेकपामा गम्भीर सङ्कट उत्पन्न भएकाे महासचिव पाैडेलकाे भनाइ

कात्तिक १६ काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पाैडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे छ । 

आइतबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाकाे एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे हाे । उहाँले ट्वीटमा भन्नुभएकाे छ, ‘आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताकाे रक्षाका लागि याेगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुराेध गर्दछु ।’

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलाैटी निर्णय गरेकाे भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आउनुभएकाे छ । 

दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेकाे छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएकाे बताइएकाे छ ।  

देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न बाबुरामलाई कांग्रेसको चुनौती ,छानबिनका लागि अख्तियारलाई आग्रह

असोज २५, २०७७ काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ। गत बिहीबार गोरखाको एक कार्यक्रममा बाबुरामले बहालवाला प्रधानमन्त्री केपी ओली तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका थिए। 

जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै ओली, देउवा र दाहालले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए।  यही भनाइलाई लिएर कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले आइतवार विज्ञप्ति निकालेर प्रमाणित गर्न चुनौती दिएका हुन्।

‘डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। प्रमाणको दाबा पुष्टि गर्न चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्‍चारमाध्यम र अख्तियारलाई अपील गर्दछौँ’, शर्माले भनेका छन्, ‘बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको छ। त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्‍नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

शर्माले केपी ओली नेतृत्वको सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य गरिएको प्रकरणमा कांग्रेसले सार्वजनिक रूपमा निरन्तर कडा विरोध गर्दै आएको जनाएका छन्।  ‘तर डा. बाबुराम भट्टराई बूढीगण्डकीबारे ज्वलन्त प्रश्‍नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ’, उनले भनेका छन्, ‘हलुका टिप्पणीलाई प्रष्टिकरण दिएर वक्तव्य जारी गर्ने कांग्रेसको परम्परा छैन। तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म सँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ।’ डा. भट्टराईले क्षणिक आवेगमा टिप्पणी गरेको भन्दै कांग्रेसले त्यसलाई कपोलकल्पित र झुठ भनेका हुन्।

‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं’, शर्माले भनेका छन्, ‘तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ। यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्‍ने अपेक्षा लिएका छौं।’
source:thahakhabar

प्रभावकारी बिकासको निम्ति नेकपा अर्घाखाँचीको चासो

शोभाखर पन्थी, अर्घाखाँची भदौ २८ –

नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले कुनै पनि बहानामा बिकास निर्माणको काम रोक्न नहुने जनाएको छ । नेकपा जिल्ला कार्यालयको सन्धिखर्कमा सम्पन्न बैठकले अघिल्लो बर्ष समयमै काम हुन नसक्दा धेरै बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गर्दै बिकास निर्माणको कामलाई तिब्रता दिनुपर्नेमा जोड दिएको छ।

बैठकले बजेट अनुसारपारदर्शी र प्रभावकारी रुपमा काम हुन नसकेमा जनतामा अबिस्वास सिर्जना हुने भन्दै, आफ्नो ठाउँमा भएका बिकास निर्माण कार्यमा सहयोग र अनुगमन गर्न कार्यकर्ता पङ्ती लाई निर्देशन समेत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता, सचिव ठाकुर कुमार बि.क.को संचालन र नेकपाका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकले कोभिड १९ रोकथाम ,नियन्त्रण र व्यवस्थापनको निम्ति अहोरात्र खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि ,संघसंस्था लगायत सबै पक्षलाई धन्यावाद ज्ञापन गर्दै निरन्तर सहयोगको निम्ति आग्रह गरेको छ ।

विश्व जनसमुदाय नै कोभिड १९ का कारण अस्त व्यस्त भएको भन्दै बैठकले असहजताका बीच पनि सरकारलाई सहयोग गरेकोमा आम जनतालाई धन्यवाद समेत प्रदान गरेको छ । साथै बैठकले कोरोना भाईरस बारे जनचेतना अभिबृद्धि गर्दै जनताको सेवामा समर्पित हुन मातहतका कमिटी लाई निर्देशन समेत गरेको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटीका सदस्यहरु नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल चिनारी ,तोजबहादुर रायमाझी ,कुटमदिन अलि लगायतको उपस्थिति रहेको कार्यालय सदस्य पिताम्बर भुसालले बताउनुभयो ।

नेकपाको निर्णय : एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैत २५ गतेदेखि

भदौ २६,काठमाण्डाै – नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ ।

यसको जिम्मा सचिवालयलाई दिइएको छ । शुक्रबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर ओली बाहिरिनुभएको थियो । याे बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो । source:ujyaaloonline