अनलाइनबाट श्राद्ध, बैंक खातामा दक्षिणा : चौतर्फी आलोचना

 भदौ १९, २०७७ शुक्रबार काठमाण्डाै – ‘घर पार्लर’ नामक कम्पनीले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ । कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै अनलाइन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले गुगल मिट, जुमलगायतका भिडियोमार्फत अनलाइन सेवा दिने भनेको छ । एक जना पण्डितबाट सुरु भएको सेवा अहिले विस्तार भएर ६ जना पण्डित कम्पनीसँग आबद्ध रहेका छन् । भर्चुअलमार्फत श्राद्ध गर्नेले कम्पनीलाई कुन तिथिमा श्राद्ध गर्ने, कति बेला गर्ने भन्ने जानकारी गराउनुपर्छ । अनि  कम्पनीले पनि के के गर्ने ? कसरी गर्ने भन्ने जानकारी दिन्छ । अहिले यो कम्पनीले ‘अनलाइनबाटै श्राद्ध गरौँ सङ्क्रमणबाट बचौँ’ भन्ने नाराका साथ श्राद्ध प्याकेज नै ल्याएको छ । 

यस्तै लाजिम्पाटमा रहेको ‘एस्ट्रो विधा’ले पनि अनलाइन सोह्रश्राद्ध प्याकेज ल्याएको छ । उसले २ हजार तिरेर अनलाइनमार्फत सोह्रश्राद्ध गर्न सकिने भनेको छ । पाँच लाखभन्दा बढी सेवाग्राहीलाई अनलाइनमार्फत नै ज्योतिष सेवा प्रदान गर्दै आइरहेको एस्ट्रो विधाले लकडाउनका कारण पुरोहितलाई घरमै बोलाएर सोह्रश्राद्ध गर्न नसक्ने अवस्थालाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको बताएको छ ।

भर्जुअल श्राद्ध गरेबापत सेवाग्राहीसँग २ हजार रुपैयाँ उसले लिने गरेको छ । जूम, स्काइप वा म्यासेन्जर प्रयोग गरेर श्राद्ध गर्न सक्ने उसले जनाएको छ । श्राद्धपछि ई–सेवा, खल्तीलगायतका एपहरुबाटै भुक्तानीको व्यवस्था गरिएको छ । रुपन्देहीको तिलोक्तमा नगरपालिकाले त सार्वजनिक सूचना नै निकालेर सोह्रश्राद्ध गर्दा भर्चुअल सेवा प्रयोग गर्न आग्रह गर्यो । यसरी पालिकाले समेत  भर्चुअल श्राद्धलाई ‘मान्यता’ दिइएपछि केही पुरोहितहरु  थप हौसिएका छन् ।

तर संस्कृतिविद् लगायत धेरैले अनलाइन श्राद्धको नाममा व्यापार गरेको भन्दै आलोचना गरेका छन् । श्राद्ध, पूजापाठ भन्ने बित्तिकै जजमान र पुरोहित एकै ठाउँमा भएर गर्नुपर्छ भनिन्छ । अहिलेको सङ्क्रमणमा वैकल्पिक उपाय त होला तर, त्यसले कर्तालाई आत्मसन्तुष्टि भने नदिने ललितपुर नख्खुका गेहेन्द्रराज अर्याल बताउनुहुन्छ । ‘अहिलेका युवापुस्ताले आत्मसात गर्लान् तर पुरानो पुस्ताले यो कुरालाई आत्मसात गर्न सक्दैनन्, केहीलाई रुचि लाग्ला तर मलाई त भर्चुअल माध्यमबाट सोह्र श्राद्ध  गर्न ठिक लाग्दैन’ उहाँ भन्नुहुन्छ । 

काठमाण्डौ सितापाइलाका शिव दुवाडीलाई पनि भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्ने कुरा चित्त बुझेको छैन । उहाँ भन्नुहुन्छ, ‘आफ्ना पितृले मोक्ष पाउन् भनेर श्राद्ध गर्ने हो । जतिसुकै विधि पुर्याउँछु भने पनि भर्चुअल विधिबाट गर्दा नियम पुग्दैन भन्ने कुरा सत्य हो ।’ 

पछिल्लो समय धर्म संस्कारका काममा पनि व्यापारीकरण हुँदै गएको भन्दै संस्कृतिविद्हरुले असन्तुष्टि जनाएका छन् । अझ अहिले कोरोना कहरको समयमा रेट नै तोकेर अनलाइन व्यापार हुन थालेको उनीहरु बताउँछन् ।ज्योतिष सेवा दिँदै आएका केही साइटहरुले सोह्र श्राद्धको नाममा व्यापार गरेका भन्दै संस्कृतिविद्ले चिन्तासमेत व्यक्त गरेका छन् । भर्चुअल सोह्र श्राद्धको नाममा दररेट नै तोकेर ब्राह्मण आपूर्ति गर्ने गरेको र यो शास्त्रको नियम विपरीत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । 

उहाँकाअनुसार शास्त्रमा सके सोह्र दिन नै श्राद्ध गर्नुपर्ने, नसके विभिन्न तिथिमा र त्यो पनि नसके आफ्नो पितृको जुन दिन निधन भएको छ, त्यही तिथि पारेर श्राद्ध गर्न भनिएको छ । श्राद्ध कुनै साहित्यिक कार्यक्रम गरेजस्तो वा बालबालिकालाई अनलाइनमा पढाएजस्तो नभएको भन्दै पितृ कर्म यसरी गर्नु अनुचित हुने गौतमले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘सोह्र श्राद्ध श्रद्धापूर्वक गर्नुपर्ने काम हो । तर पैसाका लागि मात्र  भर्चुअल माध्यमबाट बार्गेनिङ गरेर गराउनु र अरुलाई देखाउनका लागि गरेजस्तो गरिनुले धर्म संस्कृतिकै उपहास हो । सोह्र श्राद्ध ब्राम्हण नराखी सिद्ध हुँदैन । बस्ने आशनदेखि सबै कुराको व्यवस्थापन हुनुपर्छ ।  गोदान  अर्थात् गाईदान गर्नुपर्छ । यसो गर्दा कुश र पानी समातेर गाईको प्रतीकका रुपमा पैसा राखेर पुरोहितलाई अर्पण गर्ने गरिन्छ ।’

यस कार्यका लागि दान लिने व्यक्ति अर्थात् पुरोहितको भौतिक उपस्थिति हुनैपर्ने नियम भएकाले भर्चुअलबाट श्राद्ध गर्नु उपयुक्त नभएको भन्दै उहाँले दररेट तोकेर व्यापारीकरण गर्नु झनै गलत भएको बताउनुभयो । भर्चुअल विधि एकातर्फ शास्त्रीय मान्यता अनुकूल छैन भने अर्कोतर्फ यसका व्यवहारिक कठिनाइ पनि धेरै छन् । धेरै जजमानहरु श्राद्धका सामग्रीहरु आफैँले तयार पार्न सक्दैनन् । अरु प्रक्रियामा पनि पुरोहितको भौतिक उपस्थिति आवश्यक पर्छ । 

कोरोनाको जोखिम बढ्दै गएको बेला भर्चुअल माध्यमबाट श्राद्ध गर्न सम्भव नहुने र वृद्धवृद्धा भएको घरमा यो विधि स्वीकार्य नहुने संस्कृतिविद् मधुसुदन सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘संस्कृति जोगाउने भन्दैमा गएका वर्षमा जस्तो भिडभाड गर्नु पनि हुँदैन । सावधानी भने अपनाउनु पर्छ । भौतिक दूरी कायम गर्न बिर्सनु हुँदैन । पुरोहितले सम्भव भएमा एउटा घरमा लगाएको कपडा अर्को घरमा जाँदा धोएर मात्रै लगाउनु राम्रो हुन्छ । मास्क, पञ्जा लगाउनै पर्छ ।’

धेरै घरमा जानुपर्ने र व्यस्त पुरोहितभन्दा पनि घर नजिकै भएका पुरोहितलाई बोलाउँदा उचित हुने उहाँको भनाइ छ । भोजभतेर गर्ने, धेरै मानिस जम्मा हुने भने गर्नु हुँदैन । दूरी कायम गरेर छोटो तरिकाले श्राद्ध गर्न सकिने उहाँको भनाई छ । यस्तो अवस्थामा एक जना पुरोहित  मात्र बोलाएर श्राद्ध गर्नुपर्ने उहाँ बताउनुहुन्छ । पहिलाजस्तो नातागोता भेला गर्नु हुँदैन ।  

शास्त्रले पनि स्वास्थ्यभन्दा ठूलो अरु केही नहुने बताएकाले परिस्थितिअनुसार चल्नुपर्ने उहाँको भनाइ छ । संस्कृतिविद् मधुसुदन सुवेदी भन्नुहुन्छ, ‘संस्कृति धान्नका लागि सोह्र श्राद्ध गर्नै पर्छ । तर पहिले जसरी नै गर्छु भन्न थालियो  भने अवस्था भयावह पनि हुन सक्छ  ।’ source:ujyaaloonline

Advertisement

सोह्र श्राद्ध आजदेखि, कोरोनाको कारण श्राद्ध गर्न नसकेमा विकल्प धेरै

भदौ १७, काठमाण्डाै – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।  यस अवसरमा काठमाण्डौ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण मानिस जम्मा हुन सक्ने अवस्था छैन ।

श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ ।

कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा। रामचन्द्र गौतम बताउनुहुन्छ । 

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोनाकै कारण श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

कतिपय पालिकाले भने कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्राद्ध गराउन पुरोहितहरुलाइ आह्वान गरेका छन् । धर्मशास्त्रविद्हरु भने विद्युतीय माध्यमबाट गराइने सोह्रश्राद्ध शास्त्रसम्मत नहुने बताउनुहुन्छ । यजमानले श्राद्ध विधि जान्ने भएमात्र विद्युतीय विधिबाट सम्भव हुने नत्र अन्य विधि अपनाउनुपर्ने उहाँहरुको भनाई छ ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढिलामात्र नेपालीको महान चाड शुरु हुनेछ ।

कोरोना जोखिमको यो बेला यसरी गर्न सकिन्छ सोह्रश्राद्ध

कोरोना कालमा जनैपूर्णिमा, नागपञ्चमी, कुशेऔँसी र तीज लगायतका चाडपर्व आएर पनि गए । अझै महत्वपूर्ण चाडपर्व र संस्कार आउँदैछन् । १७ गतेदेखि सोह्र श्राद्ध सुरु हुँदैछ । कोरोनाको जोखिम नै भए पनि श्राद्ध गर्नै पर्छ । संस्कार जोगाउनै  पर्छ ।  फेरि कोरोनाबाट पनि बच्नुपर्यो । त्यसैले सावधानी अपनाएर यसपटकको सोह्र श्राद्ध गर्नु उचित हुन्छ । 

श्राद्धका लागि सालको पातको प्रयोग गरिने भए पनि खोज्नका लागि जताततै नचारौँ । गाउँघरमा पातको त्यति धेरै समस्या हुँदैन । तर शहरमा भने केही समस्या हुन सक्छ । सकेसम्म पहिलाकै भए त्यसैले काम चलाऔँ । नभए पनि जताततै चाहार्न भन्दा राम्रोसँग सफा गरेका थाल कचौराको प्रयोग गर्नु राम्रो हुन्छ । सोह्र श्राद्धमा एक जना पुरोहित नै १६ दिनसम्म घरघरमा जाने चलन हुन्छ । 

यसबाट सङ्क्रमण धेरै फैलिने जोखिम हुन्छ ।  त्यही भएर सकेसम्म यो पटक सम्भव भएमा पुरोहितलाई घरमा नबोलाऔँ । घरमा नै कोही श्राद्ध गराउन सिपालु भए पुरोहितलाई नबोलाउँदा पनि हुन्छ । घरमा कोही नभए र बोलाउनै पर्ने भएमा पनि एक जना मात्र पुरोहित बोलाएर परिवारका सदस्य मिलेर श्राद्ध गर्नुपर्छ । नातागोता भेला गर्नु हुँदैन । 

पुरोहित घरघरमा जाँदा सुरक्षा सावधानी अपनाउनु पर्छ । भौतिक दूरी कायम गर्न बिर्सनु हुँदैन ।  सम्भव भएमा एउटा घरमा लगाएको कपडा अर्को घरमा जाँदा धोएर मात्रै लगाउनु राम्रो हुन्छ । मास्क, पञ्जा लगाउनै पर्छ । धेरै घरमा जानुपर्ने र व्यस्त पुरोहित भन्दा पनि घर नजिकै भएका पुरोहितलाई बोलाउँदा उचित हुन्छ । 

कतिपयले सोह्र श्राद्ध तिर्थ वा धार्मिक स्थलमा गएर गर्ने गरेका छन् । तीर्थमा जाँदा धेरै हुलमुल हुन सक्छ । त्यसतर्फ पनि विषेश सावधानी अपनाउनुपर्छ । तीर्थमा गएर सामूहिक रुपमा श्राद्ध गर्नुभन्दा घरमा नै बसेर गर्दा उचित हुन्छ । यस्तै हिजोआज भर्चुअल श्राद्ध गर्ने कुराहरु पनि आएका छन् । त्यो सबै ठाउँमा सम्भव नहुन पनि सक्छ । गाउँघरमा इन्टरनेटको राम्रो पहुँच हुँदैन । पहुँच भएको ठाउँमा भने गर्न सकिन्छ । भर्चुअल माध्यमबाट श्राद्ध गराउँदा मन्त्रको उच्चारण गर्दै श्राद्धको विधिबारे जानकारी गराउन सकिन्छ । 

कुशको ब्राह्मण बनाएर टीका लगाइदिँदा हुन्छ । बैँकको खातामार्फत् दक्षिणा  पठाउन सकिन्छ । नभएपछि भेटेरै दिँदा पनि हुन्छ ।  कोरोनाको धेरै नै जोखिम छ भन्ने लागेमा यस्तो गर्न सकिन्छ । तर सबै ठाउँमा यो सम्भव नहुन सक्छ ।  

वृद्धवृद्धा भएका घरमा यसरी नमान्न पनि सक्छन् । यस्तो अवस्थामा एक जना पुरोहित  मात्र बोलाएर श्राद्ध गर्नुपर्छ । पहिलाजस्तो नातागोता भेला गर्न हुँदैन ।  परिस्थिति अनुसार चल्नु पर्छ । स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही हुँदैन । शास्त्रले पनि यही भनेको छ । संस्कृति धान्नका लागि लागि सोह्र श्राद्ध भने गर्नै पर्छ । पहिलेजसरी नै गर्छु भन्न थालियो  भने अवस्था भयावह पनि हुन सक्छ । 

यसपटक दशैँ तिहारमा पनि कोरोनाको जोखिम कम हुने छाँट छैन । दशैँ तिहार पनि सुरक्षित र जोखिम रहित तरिकाले मनाउँनेबारे अहिलेदेखि नै सोच्ने र धारणा बनाउँदै गर्नुपर्छ । source:ujyaaloonline

आज श्रीकृष्ण जन्माष्टमी, श्रीकृष्णको भक्ति आराधना गरेर मनाइँदै

साउन २७, २०७७ काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता  श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। 

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका पौराणिक ग्रन्थमा उल्लेख छ।  जन्माष्टमीका दिन पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ। 

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ। यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि २०६४ सालपछि काटिएको छ।
source:thahakhabar.com

आज आमाको मुख हेर्ने दिन

बैशाख ११, २०७७ काठमाडौं :  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। 

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ। दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।      
source:thahakhabar.com

६० लाखमा धातिवाङ्गमा कालिका मन्दिर निमार्ण हुदै, गाउँपालिका अध्यक्ष गौतमद्धारा शिलन्यास

घनश्याम पौडेल
अर्घाखाँची, १ फागुन । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा निमार्ण हुन लागेको कालिका मन्दिरको शिलन्यास गर्दै अध्यक्ष गौतमले कालिका मन्दिरको निमार्णपछि पाणिनीमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।

गाउँपालिका भित्र रहेका पाणिनी तपोभुमि, दुर्वावेश्वर गुफा, सिद्धेश्वर गुफा लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रहेकाले ऐतिहासिक रुपमा बन्न लागेको मन्दिर पाणिनीकै नमुना हुनेमा विश्वस्त भएको बताए । मन्दिर निमार्णको क्रममा आवश्यक सहयोग गर्नका लागी गाउँपालिका तप्पर रहेको बताए ।

पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले अन्य विकास सँगै धार्मिक स्थलको संरक्षण र सम्बद्र्धनमा गाउँपालिकाले ध्यान दिएको बताईन । उनले मन्दिर निमार्णले धार्मिक सहिष्णुता कायम गरी राम्रो मन्दिर बनाई पाणिनी गाउँपालिकाको धार्मिक स्थल निमार्णमा एउटा इटा थपिने बताईन ।

पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले निर्माधादिन मन्दिर समयमै सम्पन्न हुनका लागी शुभकामना व्यक्त गरे । उनले राज्यबाट आएको रकम सदुपयोग भई ऐतिहासिक मन्दिर बनाउँनका लागी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा डिभिजन वन कार्यालयका वन अधिकृत मोहन गजुरेल, साहु पौडेल कुलपुजा समाजका अध्यक्ष प्रेमनारायण पौडेल, वडा अध्यक्षहरु शालिकरा भट्टराई, नेत्रप्रसाद भट्टराई, स्थानेश्वर घिमिरे, जिवलाल घिमिरे, शुभबहादुर सारु, मिनराज आत्रेय, समाजसेवी इन्द्रमणि पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, लगाएतले शुभकामना मन्तव्य राख्दै मन्दिर निमार्णका लागी पुर्ण रुपमा सहयोग गर्ने बताए । कार्यक्रम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मणिराम पौडेलको अध्यक्षता, सदस्य कृष्णप्रसाद पौडेलको सञ्चालन र सदस्य टामलाल पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

पाणिनी गाउँपालिकाकै ऐतिहासिक कलात्मक रुपले निर्मित हुन लागेको मन्दिर करिब ६० लाखमा सम्पन्न हुनेछ । मन्दिर निमार्णका लागी पाणिनी गाउँपालिकाले १० लाख, वडा कार्यालयबाट ८ लाख, डिभिजन वन कार्यालयबाट १० लाख रुपैया विनियोजन भएको छ । अन्य अपुग रकम संकलन गरिनेछ । यहाँ हरेक वर्ष विजयादशमीको दिन सराय नाचँ, नवदुर्गा पुजा लगाएतका रुपमा मन्दिर परिचित रहेको छ ।