नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियाे

मंसिर ३ काठमाण्डाै – नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । योसँगै  खेलको उपाधि बंगलादेशले जितेको छ । यसअघि गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २-० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि जितेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

Advertisement

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

कात्तिक २८,काठमाण्डाै – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेकाे बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन ।

बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएका छन् । अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

कात्तिक २६,काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १/१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो । source:ujyaaloonline

राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुने

असोज १, काठमाण्डाै – दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ । आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्यक्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ । शरिर भित्रको चोट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

क्रिकेटर ललित भण्डारीलाई काठमाण्डौ ल्याइयो

भदौ २९, काठमाण्डौ – आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाण्डौ ल्याइएको छ । 

नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले भण्डारीको थप उपचारका लागि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट सङ्घले समन्वय र सहयोग गर्ने जनाएको छ । 

सोमबार अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा सङ्घको तर्फबाट समन्वय र सहयोग रहने प्रतिबद्धता रहने जनाएका छन् । ललित आइतबार साँझ ट्रकको ठक्करबाट घाइते भएका थिए । उनलाई धनगढीको निसर्ग अस्पतालमा उपचार गरिएको थियो । धनगढीबाट उनलाई आइतबार राति कोहलपुर ल्याइएको थियो । कोहलपुरमा उपचारपछि उनी खतरामुक्त भएका थिए ।

कोहलपुरमा गरिएको अपरेशनमा ललितको दायाँ खुट्टा र दायाँ हातको नाडीमा फ्याक्चर देखिएको छ । अपरेसनका लागि उनलाई काठमाण्डौ ल्याइएको हो ।  source:ujyaaloonline