प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने चन्द्र ढकालको प्रतिवद्धता

मंसिर १४, काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो  । त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ । 

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो ।  आजदेखि हाम्रो पक्ष विपक्षभन्दा पनि सबै निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यावसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो । source:ujyaaloonline

Advertisement

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

मंसिर १३,काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्नुहुने भएको हो ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनुभएको छ । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भएका छन् ।। जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।

सबै भन्दा बढी कर दाखिला गर्ने अर्घाखाँचीका व्यवसायी बसन्त भुसाल उत्कृष्ट करदाता सम्मानबाट सम्मानित

मंसिर ७, कपिलवस्तु – नवौं कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यलय कपिलवस्तुले सबै भन्दा बढी कर दाखिला गर्ने दुई जना ब्यवसायीलाई उत्कृष्ट करदाता सम्मानबाट सम्मानित गरेको छ । आइतबार नवौं राष्ट्रिय कर दिवस तथा ‘कर साप्ताह-०७७’ को अवसर पारेर अर्घाखाँचीका अमर निर्माण सेवाका प्रोपाइटर बसन्त भुसाल र पावर ट्रेड ईन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोपाइटर बिकाश केडियालाई ०७५/०७६ मा सबै भन्दा बढी कर दाखिला गरेको भन्दै सम्मान गरिएको हो । त्यो भन्दा अघिल्लो बर्ष अर्घाखाँचीबाट प्रदिप मिश्रलाई सबैभन्दा धेरै करदाताका रुपमा सम्मान गरिएको थियो ।

राजश्व कार्यलय कपिलवस्तुले कार्यालय प्रत्येक वर्ष सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मान गर्दै आएको छ । कर तिर्नु आफ्नो दायित्व भएको र दायित्व बहन गर्नेलाई सम्मान गर्नुपर्ने कार्यालयले जनाएको छ । कार्यलय प्रमुख दिनेश पान्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृष्णनगर भन्सार कार्यलयका प्रमुख जनाद्न पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल , चनौटा उद्योग बाणिज्य संघका अध्यक्ष जम्सेर अलि मिया , कृष्णनगर उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । source:lumbinipost.com

त्रिवेणीको नवौं बार्षिक साधारण सभा भर्चअल माध्यमबाट सम्पन्न-कृषि,ब्यापार,ब्यवसाय प्रर्वद्धनको निम्ती सरल कर्जा उपलब्ध गराउने प्रतिवद्धता

गोपाल प्रसाद भट्टराई मंसिर ७,अर्घाखाँची – त्रिवेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्कको नवौं बार्षिक साधारण सभा भर्चअल माध्यमबाट सम्पन्न भएको छ । संस्थाको स्थापना दिवको अवसरमा सन्धिखर्क–२ मसालबजार स्थित कार्यालयबाट जुम मार्फत आयोजना गरिएको कार्यक्रम सहकारीका अध्यक्ष उत्तममणी मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मन्तव्य र सचिव कमल प्रसाद घिमिरेको संचालन मा सम्पन भएको हो । यस्तै लेखा समितिका संयोजक  श्री शिव बेल्बासेले आ.व. २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम लेकालीले आर्थिक समृद्धिका निम्ती सहकारी आन्दोलन महत्वपूर्ण भएको बताउँदै सहकारी आन्दोलनले आर्थिक , सामाजिक र सांस्कृतिक विकासमा मद्धत पुर्याउने बताउनुभएको छ । कार्यक्रममा संस्थाको आ ब २०७६/७७ को प्रगति बिवरण, संस्थाको शेयरपुँजी, बचत र लगानी , आम्दानी र खर्च समेटिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको कार्यालय व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।

१२ करोड १५ लाख ३१ हजार ६ सय ९० कुल पुंजी रहेको सहकारीले कृषि,ब्यापार,ब्यवसाय प्रर्वद्धनको निम्ती सरल कर्जा उपलब्ध गराउँदै आएको छ । सहकारीमा हालसम्म ७ सय ५९ जना सेयर सदस्य रहको कार्यालय व्यवस्थापक खनालले बताउनुभएको छ ।

भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

असोज १३, काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ । भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।’कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।