विश्वभर १० मध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने : डब्ल्यूएचओ

असोज २०,काठमाण्डाै – विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ ।

अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् । विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

असोज १६,काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताउनुभएको थियो । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको थियो ।

ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

सीपीएल : सन्दीप आबद्ध जमैका पराजित

भदौ १७, २०७७ काठमाडाैं: क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। गएराति भएको खेलमा जमैका १९ रनले पराजित भएको हो।  सन्दीपले १ विकेट लिएर २० रन दिएका थिए। टस हारेर ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।  उसका लागि कोलिन मुन्द्रोले सर्वाधिक ६५ रन बनाउँदा क्नयारेन पोलार्डले अभिजित ३३ रन, सुनिल नारेनले २९, लेन्डिल सिमोन्सले २५ र टिम सेइफर्डले १८ रन जोडे।

जमैकाका लागि कार्लोस ब्राथवेटले २ विकेट लिँदा सन्दीप र फिडेल एडवार्डसले १–१ विकेट लिए। सन्दीपले सिमोन्सको विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २० रन दिए। जवाफी ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा मात्र बनाउन सक्यो। जसका लागि आन्द्रे रशेलले अविजित अर्धशतक बनाए भने ग्लेन फिलिप्सले ४१ रन, बोनरले २६ रन तथा ब्राथवेटले अभिजित २१ रन जोडे। पराजयसँगै ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको जमैका ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

काेराेना खाेप बनाउन पहिलाे हुने दाैडमा ‘फाेहाेरी खेल’ भइरहेकाे छ : विज्ञ

भदौ १४, काठमाण्डाै – विज्ञहरुले कोरोना भाइरसको खोप विकास गर्न पहिलो हुने दौडमा ‘चोर बाटो’ र ‘फोहाेरी खेल’ भइरहेको आरोप लगाएका छन् । कोभिड–१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक भएकोले यसको श्रेय लिन शक्ति राष्ट्रहरु लागिपरेका विज्ञले बताएका छन् । यो क्रममा शक्ति राष्ट्रहरु चोर बाटो प्रयोग गर्ने, राजनीतिक विषय बनाउने, सूचना चोरी तथा ह्याक गरेको जस्ता आरोप प्रत्यारोप गर्ने जस्ता काम भइरहेको अमेरिकामा रहेको ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टिनले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिले खोप विकास गर्ने दौडमा ६ वटाभन्दा धेरै कम्पनी तेस्रो तहको परीक्षणको अन्त्यतिर छन् । त्यसमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी–अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् । 

रुसले आफुले विकास गर्न लागेको खोपको सर्वाधिकार दर्ता नै गरिसकेको छ । चीनले पनि खाेपकाे सर्वाधिकार प्रदान गरेकाे छ । अध्ययनको तथ्याङ्क प्रकाशन नगरिकनै र व्यापक परीक्षण विना रुसले खोप दर्ता गरेको भन्दै पश्चिमा देशमा आलोचना भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ तारिखमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गर्दै खोप राष्ट्रवाद रोक्नुपर्ने बताउनुभएको थियो । 

तर अहिले शक्ति राष्ट्रहरुले यसलाई राष्ट्रवादको विषय बनाएकोले यसरी बनाइएका खोपको सुरक्षित अवस्थाबारे शङ्का रहने विज्ञहरुले बताएका छन् । source:ujyaaloonline

बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै

भदौ १५,काठमाण्डौ  – बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै गएको छ । राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा आएपछि अवस्था तनावपूर्ण बनेको हो । राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ।

अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपतिले पद छाड्नुपर्ने बताउँदै आएका छन् । 

गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८० दशमलव १ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ । 

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १० दशमलव १२ प्रतिशत मात्रै मत प्राप्त गर्नुभएको छ । तर उहाँले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरिरहनुभएको छ । चुनाव अगाडि  झण्डै ६ हजार ७ सयभन्दा धेरै व्यक्तिलाई पक्राउ गरी  प्रहरी हिरासतमा राखिएको खबरहरु सार्वजनिक भएका थिए । source:ujyaaloonline