बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता

 मंसिर २३, काठमाण्डाै – बेलायतमा कोराना विरुद्धको खोप दिन सुरु गरिएको छ । फाइजर बायोटेक कम्पनीले बनाएको खोप ९० वर्षकी महिलालाई दिएर सुरुवात गरिएको बीबीसीले जनाएको छ । पहिलो खोप लगाउनुभएकी ९० वर्षीया महिला मार्गरेट केननले आफू कोरोना विरुद्धको खोप लगाउने पहिलो भाग्यमानी हुन पाएकोमा गर्व लागेको बताउनुभएको छ ।

फाइजर कम्पनीले बनाएको यो खोप उमेर ढल्किएका र कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई दिइने छ । यो खोप लाखौँ जनामा प्रयोग हुने बीबीसीले जनाएको छ । कोरोना विरुद्धको खोप आम नागरिकमा प्रयोगको गर्न दिनेमा बेलायत पहिलो देश बनेको छ ।

Advertisement

काेराेना भाइरस : पहिलो चरणमा अमेरिकामा ६४ लाख खाेप वितरणको तयारी

मंसिर १०,काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को एक कमिटीको आउँदाे डिसेम्बर १० मा बस्ने बैठकले यसबारेमा निर्णय गर्नेछ । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएकाे सङ्ख्या र नयाँ सङ्क्रमितको सङ्ख्या बढेका कारण पनि खोपलाई आपत्कालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् । 

अमेरिकी सरकारको ‘अपरेशन वार्प स्पीड’ का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको चार करोड खेप (मात्रा) उपलब्ध भइ सक्ने बताएका छन् । त्यस तथ्याङ्कमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गएकाे हप्ता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपत्कालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।  

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ । पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसङ्ख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जानकारी दिए । सङ्घीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारेमा सिफारिस गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहने छन् ।  

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

कात्तिक २६,काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ६८ रन र क्विन्टन डी ककले २० रन बनाए भने इशान किशनले अविजित ३३ रन बनाए । बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १/१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेट लिए । यो मुम्बईको पाँचौँ आईपीएल उपाधि हो । source:ujyaaloonline

कोरोना विरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी

कात्तिक २४ काठमाण्डाै – कोभिड–१९ का लागि बनिरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।  

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिनेछ । यो खोपलाई उत्कृष्ट उपचारका साथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट पनि यसले बचाउन सक्छ । 

यो खोपलाई अहिलेसम्म ६ देशमा ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ र सुरक्षालाई लिएर कुनै चिन्ता नदेखिएको बताइएको छ । 

विश्वभर दर्जनौँ खोप परीक्षणको अन्तिम चरणमा छन् । जसलाई ‘फेज थ्री ट्रायल’ भनिन्छ । तर कुनै परिणामहरू देखाएको यो पहिलो खोप हो । 

यो खोपले पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोणको प्रयोग गर्छ, जसमा शरीरको प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार होस् भनेर भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गरिन्छ । 

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नको लागि खोपले शरीरमा एन्टिबडी बनाउने र प्रतिरोधी प्रणालीको एक अर्काे हिस्सा निर्माण गर्ने पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ । 

यो खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइयो ।  

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ । 

तर यस खोपलाई लिएर केही तार्किक चुनौती पनि आउनेछ । यसलाई शून्यदेखि ८ डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।  source:ujyaaloonline

विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

 कात्तिक ४,काठमाण्डौ – विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ ।

११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ । यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको ज्यान गएको छ ।