श्याम घिमिरे,
पौष ६ अर्घाखाँची-
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार संसद विघटन गरेसंगै राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा विरोध प्रदर्शन शुरु गरेको छ । सोही अनुसार राजमोले सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जुलुस सहित बिरोध पर्दशन गरेको छ । राजमोले चुत्राबेसीको भक्तिटोल चोक र शान्तिबगैचा चोकमा कोण सभा सम्पन्न गरेको हो ।

समामा मनतब्य राख्ने बक्ताहरुले करिब दुईतिहाइ बहुमतप्राप्त सत्ताधारी दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडालाई समाधान गर्न नसकेर जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको संस्था प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक र अप्रजातान्त्रिक कदम भएको बताए । उनिहरुले यस प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको अस्थिरता र अराजकतातिर धकेलिने भन्दै यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने भएकोले मुलुकमा विभिन्न साम्राज्यवादी शक्ति हावी हुनसक्ने कुरामा जोड समेत दिए ।

सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी सुनार, राजमो सन्धिखर्क नगर समिति अध्यक्ष कमल प्रसाद घिमिरे,जिबनारायण खनाल लगायतले मनतब्य राखेका थिए ।

