सन्धिखर्क एफएम मंसीर २६ अर्घाखाँची – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताउनु भएको छ । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जित हारको खेलमा रहेको उहाँको आरोप रहेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले केपी ओलीनै भ्रष्टचारको काण्डैकाण्डमा चुर्लुम्म डुबेका पार्टीका मन्त्री र नेतालाई संरक्षण गर्न लागेको आरोप लगाउदै ओलीले नै भ्रष्टचारको संरक्षकको रुपमा भूमिका खेलेको बताउनु भयो ।
दुई तिहाइको जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफुभित्रैबाट कुर्सी तानतान गर्दै सत्ताको मोहमा डुबेको भन्दै भुसालले भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा भएको समेत बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रका शीर्ष नेता नै सत्ताको कुर्सीमा लिप्त भएर प्रधानमन्त्री केपी ओली कुर्ची जोगाउन र पुष्पकमल दाहाल तथा माधव कुमार नेपाल समुह ओलीलाई हटाउने खेलमा लागेकोले उनीहरुबाट देश विकासको आशा नरहेको उहाँको भनाई रहेको छ ।
कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु मुस्कानले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभयो ।
कार्यक्रममा काँग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेस संसदीयदल लुम्बिनि प्रदेश सचेतक निर्मला क्षेत्री, काँग्रेस उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासे, सिता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भट्टराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भटराई लगायतका जिल्ला स्तरीय नेताले सम्बोधन गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चाबाट झण्डै डेढजर्दन काँग्रेसमा प्रवेश गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले बताउनुभयो । कार्यक्रम बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, विष्णु क्षेत्रीको स्वागत मनतब्य र सचिव नारायणप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।