बिगत ३ बर्ष देखि कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान रास्कोटीले आफु कार्यालय प्रमुख भएसंगै बिद्युत बिस्तार र यसको संरचनामा व्यापक परीबर्तन भएको बिस्वास व्यक्त गर्नुभएको छ । रास्कोटीले कर्मचारीहरु जुनसुकै ठाउँमा बसे पनि आफ्नो कर्म गर्ने र सेवा ग्राहीहरुको मनोभावना अनुसार काम गर्ने कुरामा जोडपनि दिनुभएको छ । तर पनि गृह जिल्लामा बसेर काम गर्दा फरक अनुभूत हुने र सेवा ग्राहीहरुको माया बढी पाए जस्तो लागेको उहाँको भोगाई रहेको छ । जिल्लाको पाणिनी गाउँपालिका पोखराथोकका स्थानीय बासीन्दा समेत रहनुभएका रास्कोटीको आगमन संगै जिल्लामा केही समय यता बिद्युत कार्यालयबाट प्रबाह हुने सेवा तथा विद्युतको गुणस्तरमा सुधार भएको समेत देखिएको छ । यि र यस्तै बिषयमा केन्द्रित रहेर पत्रकार श्याम घिमिरेले गरेको संक्षिप्त कुराकानी ।
तपाई अर्घाखाँचीमा कार्यालय प्रमुख भएको कति भयो ? गृह जिल्लामा बसेर काम गर्न कत्तीको सहजता पाउनु भयो ?
यस कार्यालयमा २०७४ भाद्र १६ गते देखि हाल सम्म कार्यालय प्रमुखको रुपमा निरन्तर कार्यरत छु । हामी कर्मचारीहरु जुनसुकै ठाउँमा बसे पनि आफ्नो कर्म गर्ने हो सेवा ग्राहीहरुको मनोभावना अनुसार काम गर्दछौं तर पनि गृह जिल्लामा बसेर काम गर्दा फरक अनुभूत हुने रहेछ , आफ्नोपन बढी भएर होला सेवा ग्राहीहरुको माया बढी पाए जस्तो लाग्दछ ।
तिन बर्षको अबधिमा जनताले देख्ने गरी बिद्युत क्षेत्रको बिकासमा के के काम गर्नु भयो ? तपाईहरुले गरेको कामप्रति उपभोक्ताहरु कत्तीको सन्तुष्ट हुनुहुन्छ ?
तीन बर्षको अबधिमा सेवा ग्राहीहरुले अनुभूत गर्न सक्ने साथै अनुभूत गर्न नसक्ने तर कार्यलयको प्रमुख सुधारको रुपमा उल्लेख्य रुपमा काम भएको छ जस्तै:
- ६० भन्दा बढी वितरण ट्रान्सफर्मरहरु जडान गरि करिब १०,००० /०० ग्राहक संख्यामा वृद्धि भएको छ ( खास गरि पाणिनी गाउँ पालिका ०२,०४,०५,०६ र शितगंगाको अधिकांश स्थानहरुमा पच्छिलो समयमा विद्युतीकरण भएको छ ) ।
- ५५ भन्दा बढी ३३/०.४ के.भी. को ट्रान्सफर्मरहरुलाई ११/०.४ के.भी. बाट बदली गरिएको छ, जसको कारणले वितरण प्रणालीमा सुधार आई ग्राहकहरुले भरपर्दो बिद्युत उपभोग गर्न पाउनु भएको छ ( साबिक धारापानी, खन,खनदह, बाँगीको आंशिक, खांचीकोट, नरपानी, पालि अड्गुरी, मैदान, खिदिमको केहि भाग, र हालै सीतापुर र ठाडाको केहि भाग ) ।
- सहज कार्यालय संचालन गर्नको लागि कार्यालयको नो-लाईट युनिट थप गरिएको छ पाणिनी गाउपालिका र हालै मात्र मालारानी गाउपालिकामा ।
- २०७४ असारमा १७/४४ मा रहेको चुहावट प्रतिशत २०७७ असारमा ५/५३ प्रतिशत कायम हुन् सफल भएको छ ।
- आ.ब. २०७३/०७४ असारमा बार्षिक बिद्युत महशुल संकलन रु. ८ करोड ३७ लाख भएकोमा आ.ब. २०७५/०७६ असारमा रु. २७ करोड ६० लाख, Covid-१९ प्रभावित आ.ब. २०७६/०७७ असारमा रु. २६ करोड ३८ लाख र आ.ब. २०७७/०७८ को मंसिर २५ गते सम्ममा रु. १२ करोड ३२ लाख संकलन भएको छ ।
- यो अवधिमा करिब यस कार्यालयको नियमित बजेटबाट करिब ७००० काठको पोललाई फलामे पोलबाट बिस्थापित गरिएको छ ।
कुनै पनि कार्यालयको सेवा प्रवाहमा सत प्रतिशत सन्तुस्टी हुदैन यदी यसो भयो भने कार्यालयको काममा गतिशिलता हुदैन , सन्तुस्टी भन्ने कुरा मापन गर्नसकिदैन अनुभूत गर्ने कुरा हो, हामीले सिमित साधनहरुको श्रोतको बाबजुद हामीले अधिकतम प्रयास गरेका छौ । मलाई हामी प्रति सेवा ग्राहिहरुको बिश्वास बढेको अनुभूत हुन्छ ।
जिल्लामा बिद्युत संरचना कस्तो छ ? संरचनालाई व्यवस्थीत बनाउन के गर्दे हुनुहुन्छ ?
हामीले अर्घाखाँची जिल्लाको अधिकांश क्षेत्रमा बिद्युत सेवा प्रवाह गर्दछौ । प्राबिधिक हिसाबले हाम्रो वितरण प्रणाली संरचना नाजुक छ । हामीले हाम्रो कार्यालयको नियमित बजेट र सिमित साधनहरुको अधिकतम प्रयोग बाट उल्लेख्य सुधारहरु गरेका छौ (३३/०.४ के.भी. वितरण ट्रान्सफर्मरहरुलाई बदली गर्न ११ के.भी लाईन विस्तारकार्य) । यस कार्यालयको सेवाक्षेत्र भित्र विभन्न आयोजनाहरुले वितरण प्रणाली सुधारको लागि काम गर्दै छन तर सबै आयोजहरुको हाल सम्म कार्य सम्पन्न हुन बाँकी छ ।
बेलाबेलामा लाईन आउने र जाने गरीरहन्छ खास के कारणले गर्दा यस्तो समस्या आईरहन्छ ? यसलाई समाधान गर्न के गर्दे हुनुहुन्छ ? कहिले देखी यस्तो समस्या हट्छ ?
मैले अघिनै पनि भनी सके यहाँ वितरण प्रणालीमा व्यापक सुधार हुन् आबश्यक छ । यस कार्यालयको सेवा क्षेत्र भित्रका आयोजनाहरु सम्पन्न भए पछि समस्या हट्छ । तत्कालको बिद्युत अनियमित समस्या समाधान भनेको निर्माणाधीन ३३/११ के.भी. सबस्टेशन आयोजनाहरु (ठाडा,हंसपुर, दुर्गाफाँट) समयमै सम्पन्न भई सुचारु हुनु नै हो । दिर्घकालिन समाधानको रुपमा जसरि सडक हाईवे हुन्छ त्यसरीनै बिद्युत हाईवेको रुपमा १३२ के.भी. लाईन को सबस्टेशन फुदवाङमा सम्पन्न भई संचालनमा आएपछि समस्या हट्छ ।
जिल्लाका बिभिन्न स्थानहरुमा बिजुलीको तार,पोल र ट्रान्सफर्महरु अव्यबस्थीतरुपमा गाडीएको भनेर उपभोक्ताले गुनासो गरीरहनुहुन्छ , किन यसलाई व्यवस्थीत गर्न सक्नुभएन ?
हाम्रो जस्तो अल्पविकसित देशमा हरेक क्षेत्रमा आफ्नो काम मात्रै देखाउने चलन, छ विकास गर्ने नाऊमा विना समन्वय काम भएको छ । यस कार्यालय अन्तर्गतका बिभिन्न स्थानहरुमा ग्राहक स्वयम लगानीमा समेत विद्युतीकरण भएको पाईन्छ जसको कारणले प्राबिधिक हिसाबले पूर्ण रुपमा ठिक नभएका वितरण प्रणालीहरु पनि बिगतमा चार्ज गर्नु परेको छ, हामीले सिमित स्रोत र साधनका बाबजुद क्रमिक रुपमा सुधार गरि रहेका छौ । मैलेअघि पनि भने समन्वयको व्यापक अभाब छ, जसको कारण बजार क्षेत्रमा अनि ग्रामिण स्तरमा पनि सडक विस्तारका क्रममा ब्यापक रुपमा हाम्रो संरचनालाई असर हुने गरि कार्यहरु भएको छ ।
भौगोलीक रुपमा कामगर्न जिल्लामा कत्तीको सहजता छ ? हाल ग्राहकले कस्तो र कसरी सेबा प्राप्त गरीरहेका छन ?
भौगोलिक हिसाबले बर्ष भरि नचल्ने बाटो, सवारी साधनहरुको अभाबका कारण यस जिल्लामा काम गर्न असहज नै छ । कार्यालयले प्रदान गर्ने सेवाको लागि मूल कार्यालयबाहेक पनि अन्य ५ स्थन बाट सेवा प्रदान गरेका छौ : सन्धिखर्क बजार नो-लाईट तथा महशुल काउन्टर, ठाडा नो-लाईट तथा महशुल काउन्टर, पोखराथोक नो-लाईट , बल्कोट नो-लाईट र मालारानी नो- लाईट ।
कार्यालयमा जनशक्तीको अबस्था कस्तो छ ? कर्मचारी बिचको सहकार्य र समन्वय कसरी गर्नु भएको छ ?
हाल कार्यालयमा सेवा ग्राहिहरुको संख्या करिब ३६ हजार पुगेको छ । जसरि सेवाग्राहीहरुको संख्या बढेको छ त्यही अनुपातमा कर्मचारी संख्या नभएको कारण सेवा प्रवाहमा कहिले काहिँ समस्या आउने गरेको छ । सहज रुपमा नियमित कार्य सम्पादन गर्ने वातावरण मिलाईएको छ । उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग तथा सम्पूर्ण फाँट प्रमुख कर्मचारी साथीहरु र अन्य सम्पूर्ण कर्मचारीहरुलाई अलि बढी जिम्मेवार बनाईएपछि राम्रो प्रतिफल आउने विश्वास लागेको छ ।
आर्थिक रुपमा बिपन्न जनता र अन्य बर्गलाई कार्यालयबाट के कस्ता सहुलियतका कार्यहरु भएका छन ?
आ.ब. २०७५/०७६ तथा २०७६/०७७ मा रु. ५० लाखको बजेटबाट करिब २ हजार ग्राहकमा निशुल्क मिटर जडान तथा अति बिपन्नलाई सर्भिस केबुल तथा पोलतार समेत विस्तार कार्यहरु भएका छन । यो आ.ब. मा पनि रु. २५ लाखको अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान कार्यक्रम स्वीकृत भई प्राप्त भएको छ , निकट भबिस्यमानै यो कार्यक्रम सबैलाई जानकारी हुने गरि संचालन गर्नेछौ । यहाँलाई यहीँबाट सबैलाई जानकारी हुने गरि सुचना सम्प्रेषण गरिदिनुहुन समेत अनुरोध गर्दछु ।
कार्यालयले मिटर जडान लगायतका कामहरुमा ढिलासुस्ती गरेको र समयमा काम नगरीदिएको भन्ने आरोप पनि तपाईहरुमाथी बेलाबेलामा आउने गर्छ अहिले के छ ?
खै मलाई यो आरोप निराधार लाग्दछ , म कार्यालय प्रमुख भए पछि यो समस्या छैन हामिसंग ५०/६० सिंगल फेज मिटर जहिले पनि मौज्दात हुन्छ । सिंगल फेजको हकमा आबेदन स्वीकृत भएको १ दिन देखि ७ दिन सम्म स्थान विशेष हेरेर जडान भएको छ, जसको लागि हाम्रो ठाउँठाउँमा भएको युनिट मार्फत कार्य हुने गर्दछ । तर थ्रीफेज मिटरको हकमा आबेदन स्वीकृत भए पछि प्रादेशिक कार्यालयबाट ल्याउनु पर्ने र टि ओ डी मिटरको आबेदन स्वीकृत भए पछि प्रादेशिक कार्यालय हुँदै केन्द्रिय कार्यालय समेत गएर सफ्टवेयर राख्नु पर्ने हुन्छ , जसको लागि सवारी साधन आभाबको कारण पटक-पटक प्रादेशिक कार्यालय तथा केन्द्रिय कार्यालयमा जान समय लाग्ने भएकोले केहि समय लाग्ने गर्दछ ।
बिश्व कैंकको सहयोगमा सोलार ग्रिड प्रोजेक्टले जिल्लाका बिभिन्न क्षेत्रहरुमा पोल गाड्ने र कालो तार बिच्छाउने कार्य गर्दे छ ? यसको बारेमा तपाईलाई कत्तीको जानकारी छ ? जानकारी छ भने केके काम भैरहेको छ बताईदिनुसन ।
नेपाल सरकारले आ.ब. २०७६/०७७ मा तोकेको ४१ पूर्ण विद्युतीकरण जिल्लामा यस अर्घाखाँची जिल्ला पनि पर्दछ । सोहि अनुरुप यस कार्यालयले कार्यक्रमहरु संचालन गर्दै आएको छ । त्यसै गरि यस कार्यलयको कार्य क्षेत्र भित्र सोलार ग्रिड एण्ड इनर्जी इफिसियन्सी आयोजनाले एच.टि. एल.टि. लाईन निर्माण गर्ने कार्य गरेको छ । तर उक्त आयोजनाकोले गरेको काम सन्तोष जनक छैन र समन्वय पनि नगरीनै काम गरेको छ, यसको विषयमा प्रोजेक्ट म्यानेजरलाई पटक-पटक जानकारी गराएका छौ ।
अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
खास मैले भन्नु पर्ने त्यस्तो केहि छैन , आम ग्राहक महानुभावहरुलाई केहि गुनासो भएमा यस कार्यलयमा जानकारी गराईदिनुहुन अनुरोध छ । समय अनि सम्बादको लागि यहाँलाई धन्यबाद छ ।