श्याम घिमिरे मंसीर २४ अर्घाखाँची -अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडानं. ४ धारापानीका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालद्धारा सन्चालीत कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मंगलबार राती साढे ९ बजे निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ४० वर्षीय ति पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो ।

उनलाई मंसिर १७ गते ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा भर्ना गरिएको थियो । उनको १७ गते कोरोना जाँचगर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १२ जनाको ज्यान गईसकेको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या ६८३ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६२२ जनाले डिस्चार्ज भएका छन । अब जिल्लामा ४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
