प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै

मंसिर २४, काठमाडौं ।  देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । 

केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । “परिचयपत्र नवीकरणकै लागि पत्रकारले ठूलो आर्थिक व्ययभार व्यहोर्नुपर्ने, प्रेस पास लिने झण्झटिलो व्यवस्था, काठमाडौँ आउनुपर्ने, लामो लाइन बस्नुपर्ने, तत्काल परिचय पत्र नपाउने, पत्रकार महासङ्घलाई गुहार्नुपर्ने अवस्थालाई अन्त्य गर्न मन्त्रिस्तरीय निर्णयबाट ७७ जिल्लाका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रनिनिधि प्रमाणपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो । 

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने व्यवस्था भएको छ । 

प्रेस पास नवीकरण गर्न सूचना तथा प्रसारण विभागमा ठूलो भीड लाग्दै आएको छ । प्रेस पास लिन तथा नवीकरण गर्न पत्रकारले विभागमा कोठाकोठा चाहार्दै घण्टौं बिताउर्नुे अवस्थाको यो व्यवस्थाले अन्त्य गर्नेछ । यसबाट विभागको कार्यबोझ घट्ने निश्चित छ भने निष्क्रिय प्रायः रहेका हुलाक कार्यालयहरुले जिम्मेवारी पाएका छन् । 

लामो समयसम्म पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचयपत्र लिन नसकेका, अपाङ्गता जस्ता कारणले सूचना विभागसम्मको पुहँच नभएका पत्रकारलाई सहजै जिल्लाबाटै सेवा उपलब्ध हुने भएपछि निरन्तर कार्यक्षेत्रमा लाग्न चाहने सञ्चारकर्मीलाई बेरोकटोक काम गर्ने अवसर मिल्नेछ । यसले उनीहरुको मनोबल बढ्न गई अन्ततः समाचार प्रवाहमा गुणस्तरीयता आउने अपेक्षा गर्न सकिन्छ । 

नयाँ परियचपत्रका लागि पनि जिल्लाबाटै आवेदन दिने व्यवस्था मिलाउने प्रतिबद्धता सरकारबाट आउनु प्रशंसनीय छ । 

नेपाल पत्रकार महासङ्घले पनि सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि परिचयपत्र नवीकरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । नेपाल पत्रकार महासङ्घले सम्बन्धित जिल्लाबाटै प्रेस पास तथा अनलाइन नवीकरण गर्न सकिने सरकारको निर्णयको स्वागत गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले रासससँग कुराकानी गर्दैै सङ्घीय शासन प्रणालीमा अधिकारलाई विकेन्द्रीत गर्ने सिद्धान्तको कार्यान्वयन सञ्चार मन्त्रालयबाट भएको बताउनुभयो । “सञ्चार क्षेत्रमा सङ्घीयता त्यति धेरै अनुभूति गर्न पाइएको थिएन, यो निर्णयले अधिकार जिल्लातहमा विस्तार भएको छ । अब सेवा सहज हुन्छ,” उहाँले भन्नुभयो – “नीतिगरुपमा निर्णय भएको छ । यसलाई सरलीकृत गर्न पत्रकारका तर्फबाट पनि योगदान आवश्यक छ । सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न पत्रकार महासङ्घ र सरकारले संयुक्तरुपमा अनुगमन गर्नुपर्छ ।”

सरकारको निर्णय कार्यान्वयनमा आउने जटिलतालाई हल गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो । 

दुर्गमका पत्रकार उत्साहित

जिल्लाबाटै प्रेस पास नवीकरण गर्न व्यवस्थाले दुर्गम क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार उत्साहित बनेका छन् । नयाँ प्रेस पास लिन तथा नवीकरणका लागि राजधानी आउनुपर्ने अवस्था हुँदा अधिकाँश पत्रकारले प्रेस पास नै नलिई काम गर्दैआएका थिए । प्रेस पास लिएकाले निर्धारित समयमै नवीकरण गर्न सकेका थिएनन् । 

नेपाल पत्रकार महासङ्घ डोल्पाका संस्थापक अध्यक्ष विष्णुबहादुर बुढा जिल्लाबाटै प्रेस पास नवीकरण गर्न सकिने सरकारको निर्णयबाट दुर्गमका पत्रकारमा उत्साह थपेको बताउनुहुन्छ ।

महासङ्घमार्फत दुर्गमका पत्रकारले सम्बन्धित जिल्लाबाटै प्रेस पास नवीकरणको माग गर्दै आएका थिए । “हामीले लामो समयदेखि प्रत्येक फोरममा जिल्लाबाटै प्रेस पासको व्यवस्था हुनुपर्ने माग गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो – “सरकारले ढिलै भए पनि जिल्ला हुलाक कार्यालयबाट प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाएको छ । हामी अत्यन्त खुशी भएका छौँ, सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।”

प्रेस पास नवीकरणका लागि राजधानी नै आउनुपर्ने बाध्यात्मक अवस्था हुँदा आफ्नो प्रेस पास चार पटकसम्म नवीकरण गर्न नपाएको उहाँको भनाइ छ । “प्रेस पास नवीकरणका लागि तोकिएको समयमै काठमाडौँ जानुपर्ने अवस्था थियो, केही पत्रकारले प्रेस पास लिए पनि नियमित नवीकरण गर्न सकेका थिएनन्,” उहाँले भन्नुभयो – “अब प्रेस पास लिने तथा नियमित नवीकरण गर्नेको संख्या बढ्ने निश्चित छ ।” गतवर्ष प्रेस काउन्सिल नेपालको टोली डोल्पा आउँदा पनि आफूहरुले जिल्लाबाटै प्रेस पास नवीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको बुढाले स्मरण गर्नुभयो । 

विभागले चालु आवको प्रथम चौमासिकमा ६७८ नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र तथा परिचयपत्र जारी गरेको तथ्याँक छ । यही अवधिमा एक हजार २२० प्रमाणपत्र नवीकरण भए । यसैगरी स्वतन्त्र प्रेस पास चार, विदेशी पत्रकार प्रेस पास पाँच र अध्यक्ष÷प्रकाशक परिचयपत्र ४५ वटा जारी भएका छन् । सोही अवधिमा १६० वटा नयाँ अनलाइन दर्ता र १५१ अनलाइन नवीकरण गरिएको विभागले जनाएको छ । यस्तै १३ वटा पत्रिका स्थायी दर्ता सिफारिश र ५९ वटा पत्रिका अस्थायी दर्ता सिफारिश भएका छन् । रासस

Advertisement

फुटेको विवेकशील र साझा फेरि एक भएर बन्यो ‘विवेकशील साझा’

मंसिर २४,काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टी पुन: एकीकरण भएर विवेकशील साझा पार्टी  बनेको छ। दुई पार्टीको एकता घोषणा भने फेसबुक लाइभमा आएर गरिएको हो। विवेकशील साझाको केन्द्रीय अध्यक्षमा यसअघिका साझा पार्टीका रवीन्द्र मिश्र र संयोजकमा यस अघिका विवेकशील मिलन पाण्डे बनेका छन्। नयाँ बनेको पार्टीको २६ सदस्यीय सचिवालय तथा १ सय ३० जनाको केन्द्रीय समिति बनेको छ । समितिमा दुवै पार्टीका बराबर सदस्य रहनेछन्।  

गएको निर्वाचनमा अस्वभाविक हार बेहोरेपछि यी दुई पार्टीले एकीकरणको विषयमा छलफल अघि बढाएका थिए। अध्यक्ष मिश्रले गत निर्वाचनको मत परिणाम र जनचाहनाअनुसार पार्टी एक भएको बताए। संयोजक पाण्डे विवेकशील साझा पार्टी बैकल्पिक शक्ति बन्न र लोकतन्त्रको रक्षाका लागि तयार भएर आएको बताए।  एकीकृत पार्टीको एकता महाधिवेशन ६ महिनाभित्र गर्ने बताइएको छ।  
 
यसअघि एकीकरण भएर पनि फुटेका यी दुई पार्टीको अहिले एकीकरण प्रक्रियामा असन्तुष्ट विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जना केन्द्रीय सदस्य एकीकरणमा सामेल भएनन्।  उनीहरुले विगतमा भएको मतभेदको विषयमा पूर्णरूपमा छलफल नगरी एकीकरणमा जान नहुने बताएका थिए।  तल्लो तहमा रहेका संगठन समायोजनको काम भने दुई महिनाभित्र सक्ने सम्झौता भएको छ।  

कोरोना संक्रमणका कारण धारापानीका एक पुरुषको निधन

श्याम घिमिरे मंसीर २४ अर्घाखाँची -अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडानं. ४ धारापानीका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालद्धारा सन्चालीत कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मंगलबार राती साढे ९ बजे निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ४० वर्षीय ति पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो ।

उनलाई मंसिर १७ गते ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा भर्ना गरिएको थियो । उनको १७ गते कोरोना जाँचगर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १२ जनाको ज्यान गईसकेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या ६८३ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६२२ जनाले डिस्चार्ज भएका छन । अब जिल्लामा ४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

काँग्रेस अर्घाखाँचीद्धारा क्रियाशिल सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न,आजै सानेपामा बुझाईने

श्याम घिमिरे मंसीर २४ अर्घाखाँची -नेपाली काँग्रेस अर्घाखाँचीले पार्टीको १४ औं महाधिवेशनकोलागी क्रियाशिल सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गरेको छ । जिल्लाभरबाट झण्डै १२ हजार क्रियाशिल सदस्यता बितरण र नविकरण गरीएको काँग्रेस जिल्ला सभापति बिष्णु मुस्कानले जानकारी दिनुभयो ।

कुनै बिवाद बिना सदस्यता बितरण र नविकरण कार्य सम्पन्न भई आजै (बुधबार) काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टीका जिल्ला सचिब बिष्णु भुसालले हस्तान्तरण गर्ने कार्यक्रम रहेको समेत मुस्कानले बताउनुभयो । यो संगै १४ औं महाधिवेशनकोलागी क्रियाशिल सदस्यता वितरण र नवीकरण गर्ने अर्घाखाँची जिल्ला पहिलो जिल्ला भएको मुस्कानको भनाई रहेको छ ।

यसैबिच सभापति मुस्कानले सदस्यता वितरण कार्यमा सहयोग पु¥याउने वडासभापति ,पालिका सभापति तथा संयोजक,प्रदेश सभापति ,पदाधिकारी एवं जिल्ला समितिका पदाधीकारी ,कार्यालय सचिब,कम्प्युटर अपरेटर लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन समेत प्रदान गर्नुभएको छ । क्रियाशिल सदस्यताको विवरण विहिवारदेखी पार्टीको वेबसाईटमा हेर्न सकिने काँग्रेसले जनाएको छ ।

पार्टी विधानले तोकेको कार्यविधि बमोजिम क्रियाशील सदस्यता वितरण र नवीकरण गरीएको काँग्रेस उपसभापति शान्ता भण्डारीले जानकारी दिनुभएको छ । काँग्रेसले १४ महाधिबेशन आगामी फागुनमा ७ मा गर्ने निर्णय गरेको छ ।

निशुल्क जग्गा उपलब्ध गराउने भट्टराई परीवारलाई राजमोद्धारा धन्यवाद ज्ञापन

श्याम घिमिरे ,मंसीर २४ अर्घाखाँची -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानं.४ वाङलामा वडा कार्यालय भवन निर्माण गर्न निःशुल्क जग्गा उपलब्ध गराउने राष्ट्रिय जनमोर्चाका नेता शिद्धिप्रसाद भट्टराईलाई राष्ट्रिय जनमोर्चा ४ नं.वडासमितिले धन्यवाद ज्ञापन गरेको छ । अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष एवं सामाजीक व्यक्तित्व समेत रहनुभएका भट्टराईले वार्ड नं. ४ को वडा कार्यालय भवन निर्माणको लागि करीब ८ लाख मूल्य बराबरको १ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको हो ।

जग्गा प्रदान गरि सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उहाँ र उहाँको परिवारले पार्टीलाई गौरवको अनुभूती गराउनुका साथै आम नागरिकलाई पे्ररणा जगाएको भन्दै राष्ट्रिय जनमोर्चाले धन्यवाद ज्ञापन गरेको हो । राजमो ४ नं.वडाका का.वा. अध्यक्ष बुद्धिबहादुर रेश्मीले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै जग्गा प्रदान गर्ने शिद्धि भट्टराई र उहाँको सिंगो परीवारलाई प्रशंसा सहित धन्यवाद दिनुभएको हो ।

सन्धिखर्क नगरपालिका वडानं. ४ माझहटियामा रहेको सन्धिखर्क तम्घास मोटरबाटोसंग जोडिएको उक्त जग्गा भट्टराईले आफ्नी ममतामयी माता स्व.भिमकला भट्टराईको स्मृतिमा निशुल्क प्रदान गर्नुभएको हो । भट्टराईको यस उच्च प्रकारको कार्यमा साथ सहयोग र पे्ररणा दिने जिवन संगिनीहरु वेलकुमारी भट्टराइ, मिनिकला भट्टराई, छोराबुहारीहरु हुतराज भट्टराइ, रामजी भट्टराइ, लक्ष्मी भट्टराइ,सुन्दरा भट्टराइ लगायत सम्पुर्ण परीवारजनप्रति राष्ट्रिय जनमोर्चा धन्यवाद ज्ञापन प्रकट गर्दछ बिज्ञप्तीमा भनिएको छ ।