अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६८२ यथावत,आज शितगंगाबाट ३ जना डिस्चार्ज, अब ४९ जना आईसोलेशनमा

श्याम घिमिरे मंशिर २२ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६८२ यथावत रहेको । यसअघि आईतबार सन्धिखर्क नगरपालीकामा एकैपटक १५ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकाबाट ३ जना डिस्चार्ज भएसंगै हालसम्म ६२२ जना डिस्चार्ज भएका छन । अब जिल्लामा ४९ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्क नगरपालीकामा ४४ जना, भुमिकास्थान नगरपालीकामा १ जना, मालारानी गाउँपालीकामा २ जना र छत्रदेबमा २ गरी जम्मा ४९ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ११ जनाको भने ज्यान गईसकेको छ ।

Advertisement

कर्मचारीमा कोरोना संक्रमण देखीएपछि मालपोत कार्यालय अर्घाखाँची बन्द

श्याम घिमिरे,मंसीर २२ अर्घाखाँची -मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित सेवा बन्द भएको छ । मालपोत कार्यालय अर्घाखाँचीमा कार्यरत एकजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीहरुसमेत जोखीममा रहेको भन्दै मंसिर २९ गते सम्मको लागी कार्यालयबाट प्रबाह हुने नियमित सेवाहरु बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख ताराप्रसाद पोख्रेलले जानकारी दिनुभयो । संक्रमित कर्मचारीको आईतबार पिसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

जनज्योति माबिमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बन्जाडे चयन


श्याम घिमिरे ,मंसिर २१ अर्घाखाँची -सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा रहेको जनज्योति माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको गठन भएको छ । आईतवार बिद्यालयमा बसेको भेलाले सन्धिखर्क २ चुत्राबेसि निवासि स्थानिय बुद्धिजीवी हुमप्रसाद बन्जाडेलाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

समितिको सदस्यहरूमा कमलप्रसाद घिमिरे ,बेदुराम भुसाल,मुना सिंह ठकुरी ,यमकला रायमाझी ,गोमा भुसाल , पदेन सदस्यमा वडाअध्यक्ष मोतिजंग रायमाझी र सदस्य सचिवमा बिद्यालयका प्रअ पशुपति भुसाल चयन हुनुभएको बिद्यालयले जनाएको छ । शिक्षक प्रतिनिधि भने आउन बाँकी रहेको छ । सन्धिखर्क नगर शिक्षा प्रमुख तथा बिद्यालय व्यवस्थापन समिति गठन समितिका संयोजक उपसचिब युगल नारायण बस्सेलको संयोजनमा समिति गठन कार्य सम्पन्न भएको हो ।

महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध रोक्नुपर्ने माग राख्दै अनेमसंघ अर्घाखाँचीले प्रजिअलाई ज्ञापनपत्र बुझायो

श्याम घिमिरे, मंसीर २२ अर्घाखाँची – महिलामाथि भइरहेका हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध तत्कालै रोक्नुपर्ने तथा महिलाहरूलाई समान अधिकार दिएर सामाजिक समानता कायम गर्नुपर्ने मागका साथ राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले आईतवार प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय स्तरको कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाइएको अखिल नेपाल महिला संघ अर्घाखाँची अध्यक्ष सकुन्तला रानाले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझाउन अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिब तथा अर्घाखाँची जिल्ला अध्यक्ष सकुन्तला राना, जिल्ला सचिब कल्पना पोख्रेल, उषा पुन, साबित्रा दमासे, राधा आचायर्, सिता गैरे लगायतको प्रतिनिधि मण्डल जिल्ला प्रशासन कार्यालयमा गएको हो । ज्ञापनपत्र बुझदै प्रजिअ पौडेलले महिलाहरुमाथी भईरहेका सबैखाले अपराधहरुलाई रोक्न आफुहरु लागी परीरहेको बताउनु भयो पौडेलले महिलाहरुका जायज मागहरुलाई राज्यले पनि सम्बोधन गर्नेमा जोड दिनुभयो ।

वडा कार्यालय भवन बनाउन निशुल्क जग्गा दान


सन्धिखर्क एफएम ,मंसीर २० अर्घाखाँची -सन्धिखर्क नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय भवन निर्माणकालागि स्थानीय शिद्धि प्रसाद भट्टराईले निशुल्क जग्गा दान दिनु हुने भएको छ । वाङलाको हटियामा रहेको जग्गा दिएपछि वडा कार्यलय भवन निर्माण हुने भएको हो ।

उक्त स्थानको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बिक, सन्धिखर्क नगरपालिकाका वडा नम्वर ३ का वडनअध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतम, सन्धिखर्क ४ का वडाअध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सदस्य उमेश अधिकारी, नगरपालिकाका प्राविधिकहरु हरी बोहोरा, नारायण पोख्रेल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, स्थानिय वावु खड्का लगायतले स्थलगत अवलोकन गरेका हुन ।

वडाको बिच भागमा पर्ने जग्गा उपलब्ध गराएकोमा नगर प्रमुख कमल प्रसाद भुसाल र उपप्रमुख ठाकुर कुमार बिकले जग्गादाता लाई धन्यवाद दिनु भएको छ । जग्गादाता सिद्धिप्रसाद भट्टराई राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरका नेता हुनुहुन्छ भने उहाँका कान्छो छोरा रामजी भट्टराई सिंचाई विकास डिभिजन कार्यलय अर्घाखाँचीमा कार्यरत हुनुहुन्छ । सामाजिक उत्तरदायित्वको भावनालाई प्रमाणित गर्न पाउँदा आफूलाई निकै खुशी लागेको जग्गा दाता भट्टराईको प्रतिक्रिया रहेको छ ।