उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

मंसिर १३,काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने भएकाले अहिलेको कार्यकालमा गोल्छा र त्यसपछि ढकाल अध्यक्ष बन्नुहुने भएको हो ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनुभएको छ । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघई विजयी भएका छन् ।। जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।

काेराेना भाइरस : पहिलो चरणमा अमेरिकामा ६४ लाख खाेप वितरणको तयारी

मंसिर १०,काठमाण्डाै – संयुक्त राज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को एक कमिटीको आउँदाे डिसेम्बर १० मा बस्ने बैठकले यसबारेमा निर्णय गर्नेछ । अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएकाे सङ्ख्या र नयाँ सङ्क्रमितको सङ्ख्या बढेका कारण पनि खोपलाई आपत्कालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् । 

अमेरिकी सरकारको ‘अपरेशन वार्प स्पीड’ का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको चार करोड खेप (मात्रा) उपलब्ध भइ सक्ने बताएका छन् । त्यस तथ्याङ्कमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गएकाे हप्ता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपत्कालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।  

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ । पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसङ्ख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जानकारी दिए । सङ्घीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारेमा सिफारिस गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहने छन् ।  

राजसंस्था माग्दै पोखरामा जुलुस, गुन्जियो ‘श्रीमान गम्भीर नेपाली ….

मंसिर १०, पोखरा : पोखरामा बुधबार राजसंस्था पुनर्वहाली माग गर्दै प्रदर्शन भएको छ। देशमा गणतन्त्र आइसकेपछि हटाइएको राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली …’ गुन्जाउँदै राजसंस्थाको खोजी गरिएको हो। कार्यक्रममा सहभागीहरुले राजसंस्था, हिन्दू राष्ट्र, हिन्दू धर्मसहितको राज्य व्यवस्था माग गर्दै सभा गरेका थिए। त्यही क्रममा राजतन्त्रको समयमा रहेको राष्ट्रिय गान गाइएको हो। गणतन्त्र आउनुअघि नेपालमा चक्रपाणी चालिसेले रचना गरेकाो श्रीमान् गम्भीर नेपाली…सार्वजनिक समारोह र विद्यालयमा गुन्जिन्थ्यो। 

राजावादी र हिन्दूवादी भनिनेहरुले पनि सार्वजनिक कार्यक्रममा यो राष्ट्रिय गान नगाएको अवस्थामा पोखराबाट यसको सुरुवात भएको हो। राजवादीहरुको र्‍यालीपछिको कोणसभाका क्रममा आएका प्रयत्न श्रेष्ठले देशका लागि भन्दै श्रीमान गम्भीर नेपाली…गाएका हुन्। उनले त्यसपछि ‘रातो र चन्द्र सूर्य जंगी निशान…’ हाम्रो गीत गुन्जाए। नेपालमा अहिले व्याकुल माइलाले रचेको सयौं थुंगा फूलका हामी…’ राष्ट्रिय गान प्रचलित छ। पोखराको सभामा बोल्दै शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले यो कार्यक्रम कुनै दलविरुद्ध नभइ देश बचाउन गरिएको जिकिर गरेका थिए। source:thahakhabar

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ३९

मंसिर १०, काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १६ हजार ६ सय ३९ पुगेको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ ।  यस्तै बुधबार एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार २६ पुगेको छ ।  गएको २४ घण्टामा नौ हजार दुई सय १० जनाको पीसीआर परीक्षण भएको थियो । यस्तै बुधबार कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ८९ पुगेको छ ।  

अर्घाखाँचीमा एकैदिन १७ जनाले कोरोना संक्रमणलाई जिते, अब १२ जना आईसोलेशनमा


श्याम घिमिरे
मंसीर १० अर्घाखाँची –

अर्घाखाँचीमा एकैदिन १७ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । बुधबार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट १७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ६३१ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६१० पुगेको छ ।

अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा ९ जना र शितगंगा नगरपालीकामा ३ जना गरी जम्मा १२ जना मात्रै सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन भने जिल्लाका अन्य ४ पालीकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ९ जनाको ज्यान गईसकेको छ ।