गोपाल प्रसाद भट्टराई मंसिर १५-देशले अब संघीयता धान्नै नसक्ने अवस्थामा पुगेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले ठहर गरेको छ । संघीयता धान्न लिइएको वैदेशिक ऋणले देशलाई थिच्दै गएको भन्दै राजमोका नेताहरुले अब संघीयताको भारी बिसाउने बेला आएको बताएका हुन् । राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको संघीयता विरुद्धको कार्यक्रम अन्तर्गत आइतबार सन्धिखर्कको शान्तिबंगैचामा आयोजित सभालाई सम्बोधन गर्दै राजमो अध्यक्ष थम्मन के।सी।ले देशमा देखिएका धेरै समस्याको कारक संघीयता भएको जिकिर गर्नुभएको छ । समृद्ध मुलुक निर्माणको लागि संघीयताको खारेजी नै अहिलेको टट्कारो आवस्यकता भएको उहाँको भनाई छ ।
‘अहिले देशमा गम्भीर आर्थिक संकट पैदा भएको छ, वैदेशिक ऋण थपिँदै गएको छ, अब देशले संघीयता धान्न सक्दैन,अध्यक्ष के।सी।ले भन्नुभयो, यो उखेलेर फ्याँक्नुपर्छ । यसका लागि नेपाली जनता बेलैमा सचेत हुनुपर्दछ ।’ देश र जनता कोरोनाले थिंचिएका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचारमा केन्द्रित हुनु दुर्भाग्य भएको भन्दै उहाँले आक्रोस पोख्नुभएको छ ।
फरक प्रसङ्गमा अध्यक्ष के।सी।ले नेकपा भित्र देखिएको आन्तरिक किचलोले देशलाई गम्भीर क्षतितर्फ धकेलेको भन्दै सत्तारुढ दललाई आन्तरिक सहमतिबाट निकास खोज्न आग्रह समेत गर्नुभएको छ । राजमो जिल्ला सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रमलाई नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले मन्तव्य राख्दै सत्तारुढ दल कुर्सिको लडाइमा भुल्दा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ । सरकार बेलैमा सचेत नभए मुलुकलाई बिचौलिया र भ्रष्टाचारीले टाट पल्टाउने जिकिर गर्दै जनता जाग्नेबेला आएको समेत बताउनुभएको छ । संघीयता,कोराना भाइरस,राष्ट्रियता र भ्रष्टाचारका सन्दर्भमा सरकारले अपनाएको गलत नीति तथा कार्यक्रमका विरुद्ध राजमोले देशब्यापी विरोधको आयोजना गरेको हो ।