राजमो नेता खिमानन्द घिमिरेको ७९ वर्षको उमेरमा निधन,रिडीघाटमा सम्मानकासाथ अन्त्येष्टी

श्याम घिमिरे मंसिर ७ अर्घाखाँची –अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडानम्वर ९ गोखुङ्गा निवासी राष्ट्रिय जनमोर्चाका सदस्य खिमानन्द घिमिरेको निधन भएको छ । बिगत केही महिनादेखी क्यान्सर रोगबाट ग्रसीत हुनुभएका घिमिरेको ७९ बर्षको उमेरमा आफ्नै निवास गोखुङ्गाको सिमेदेउरालीमा सुक्रवार राति साढे २ बजे निधन भएको हो ।

मृतक घिमिरेको शनिबार रिडीस्थित कालीगण्डकी किनारमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थविक शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले पार्टीको झण्डा ओढाई अन्तीम श्रद्धाञ्जली व्यक्त गर्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा मनतब्य राख्दै कार्कीले समाज रुपान्तरमा सक्रिय भुमिका निर्बाह गर्नुभएका घिमिरेको निधनले सिंगो पार्टी र समाजलाई अतुलनिय क्षती पुगेको भन्दै स्व.घिमिरेले देखाएको बाटोमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले स्व. खिमानन्द घिमिरेको जिवनी र व्यक्तित्वको बारेमा चर्चा गर्नु भएको थियो ।

१९९९ साल कार्तिक २९ गते पिता प्रेमनारायण घिमिरे र माता जमुना घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्मनुभएका घिमिरे २०१६ सालमा स्थानीय सुर्य प्राबि (हाल सुर्यमावि) को संस्थापक प्रधानाध्यापक बन्नुभएको थियो भने, २०२३ सालमा गोखुङ्गा गाउँपञ्चायतको सचिव भएर लामो समय सम्म सामाजिक क्षेत्रमा एक कुसल सामाजिक व्यक्तित्वको रुपमा आफ्नो जिम्मेवारीलाई निर्वाह गर्नुभएको थियो ।

पञ्चायति काल देखिनै राजनितिमा सक्रिय घिमिरे नेपाली काँग्रेसको गाउँसभापति समेत रहनु भएको थियो । २०५४ सालपछि राष्ट्रिय जनमोर्चामा आवद्ध भई उहाँले पार्टीको बिभिन्न जनबर्गीय मोर्चाहरुमा रहेर काम गरी रहनु भएको थियो । हाल उहाँ अखिल नेपाल किसान महासंघ अर्घाखाँची जिल्ला सदस्य तथा मालारानी ९ को अध्यक्ष,राजमो मालारानी ९ को सल्लाहकार, स्थानीय देउराली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान अर्घाखाँचीको सदस्य लगायत अन्य संघसंस्थामा आबद्ध भई सामाजिक तथा राजनैतिक भूमिका निर्वाह गरीरहनुभएको थियो ।

अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य तथा मालारानी गाउँपालिका अध्यक्ष रामकृष्ण घिमिरेका पुज्जनिय पिता समेत रहनु भएका स्व. घिमिरे अर्घाखाँचीको पश्चिम क्षेत्रकै स्थापित व्यक्तित्वको रुपमा परीचित हुनुहुन्थ्यो उहाँलाई प्राय ः व्यक्तिले सचिब र मास्टरको नामबाट बोलाउने गर्थे । घिमिरेको निधनले सिंगो पश्चिम क्षेत्रलाईनै स्तब्ध बनाएको छ । घिमिरेका १ छोरा र ३ छोरी हुनुहुन्छ ।