अर्घाखाँचीका ३६ वर्षिय प्रेम विसिको कोरोनाले मृत्यु

 मंसिर ३ अर्घाखाँची- कोरोनाका कारण अर्घाखाँचीमा थप एकजनाको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नं २ घर भई सन्धिखर्क नगरपालिका वडा नं १ मेनरोडमा ईलेक्ट्रिक व्यवसाय गर्दै आएका ३६ बर्षिय प्रेम विसिको उपचारको क्रममा आज ज्यान गएको मृतकका आफन्तले बताएका छन् । कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते कोरोना संक्रमण पुष्टि भएका बिसीको उपचारको क्रममा आज बिहान भैरहवा मेडिकल कलेजमा ज्यान गएको हो ।source:arghakhanchiDaily

१० दिनपछि फेरि बस्ने गरी सकियाे नेकपा सचिवालय बैठक

 मंसिर ३, काठमाण्डाै – १० दिनपछि फेरि बस्ने गरी नेकपा सचिवालय बैठक सकिएकाे छ । बालुवाटारमा एक बजेपछि सुरु भएकाे सचिवालय बैठक भर्खरै सकिएकाे र अब १० दिनपछि फेरि बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । याे बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नाै जनै सदस्य सहभागी हुनु हुन्थ्याे ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ । यसअघि प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरूले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्ड र उहाँ पक्षका नेताहरूले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका थिए । 

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।  यसका साथै राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।  source:ujyaaloonline

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियाे

मंसिर ३ काठमाण्डाै – नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । योसँगै  खेलको उपाधि बंगलादेशले जितेको छ । यसअघि गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २-० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि जितेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

नेकपाको सचिवालय बैठक अन्योलमा

मंसिर ३,काठमाण्डाै – सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक अन्योलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ । पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् । 

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो ।  तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली रुष्ट हुनुहुन्छ ।

प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरि बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप छ । 

दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ । 

दुई अध्यक्षलाई मिल्न राष्ट्रपतिको सुझाव

नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्षलाई आग्रह गर्नुभएको छ । मंगलबार ओली र प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा भण्डारीले मिलेर अघि बढ्न आग्रह गर्नुभएको हो । 

राष्ट्रपतिलाई भेट्न जानुअघि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई भेट्नुभएको थियो । स्रोतकाअनुसार राष्ट्रपतिले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन र विगतको सहमतिअनुसार प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभएको थियो । 

ओली र प्रचण्डबीच विवाद हुँदा मिलाउनका लागि राष्ट्रपतिले समेत भूमिका खेलेको भनेर आरोप लाग्दै आएको छ ।

दुवै पक्ष आन्तरिक छलफलमा

पार्टी भित्रको विवाद बढ्दै गएपछि दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन सक्रिय छ । ओली पक्षका नेताहरु आजको बैठक रोक्ने प्रयासमा छन् भने प्रचण्ड पक्षका नेताहरु जसरी पनि बैठक गर्ने अडानमा छन् । पार्टीलाई विभाजन हुन नदिनको लागि अर्का थरी नेताहरुले पनि छलफल र भेटघाट तीव्र पारेका छन् । 

पार्टी सचिवालयमा प्रचण्डको एकल राजनीतिक प्रस्ताव पेस भएपछि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई सचिवालयमा पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह पनि गर्नुभएको थियो । तर दुवै नेताले ओलीको आग्रहलाई अस्वीकार गर्दै उहाँलाई सच्चिन सुझाव दिएका थिए । 

यसबीचमा ओलीले पूर्वमाओवादीका नेताहरुसँग पनि भेट गर्नुभएको छ ।  प्रचण्ड र नेपाल समूह पार्टी विभाजनको तयारीस्वरुप प्रस्तुत भएको भन्दै ओलीले पूर्वमाओवादी समूहका नेताहरुलाई आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो । पूर्वमाओवादीका नेताहरुले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुको नाताले लचिलो हुने दायित्व ओलीकै भएको सुझाव दिएका थिए । source:ujyaaloonline

आजदेखि छठपर्व सुरु

 मंसिर ३,काठमाण्डौ – आजदेखि छठपर्व सुरु भएको छ । भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात् आजदेखि सुरु हुने भएको हो । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले आज शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् । पञ्चमी तिथिमा भोलि दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् ।

त्यसपछि घरको देवीदेउताको पूजामा चढाइएको खीर प्रसादको रुपमा व्रतालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ । भगवान सूर्यलाई अर्घ अर्पण गर्ने व्रतालुले पञ्चमी तिथिभर उपवासमा बसेर साँझमात्र प्रसाद ग्रहण गरेर पुनः उपवासको निरन्तरता दिन्छन् । त्यसपछि, सप्तमी तिथिको बिहानसम्म अर्थात कम्तीमा ५० घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । त्यसपछि, षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

छठ पर्वमा भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अर्पण गरिन्छ । यो पर्व एकपल्ट सुरु गरेपछि हरेक वर्ष गर्नुपर्ने हुन्छ । कतिपय व्रतालुले भने परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व सुरु गर्ने गरेका छन् । पर्व मनाउने परिवारका व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही व्रतालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने समेत सुविधा रहेको छ ।

source:ujyaaloonline