अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

कात्तिक २८,काठमाण्डाै – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेकाे बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन ।

बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएका छन् । अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

बैतडीमा बस दुर्घटना: ९ जनाको ज्यान गयो, २५ जना घाइते

 कात्तिक २८, बैतडी – बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ । अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ । source:ujyaaloonline