अर्घाखाँचीमा बिहिबार ७ जनाले कोरोनालाई जिते , अब ४९ जना सक्रिय संक्रमित आईसोलेशनमा

श्याम घिमिरे कार्तिक २७ अर्घाखाँची – अर्घाखाँचीमा बिहिवार ७ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । सन्धिखर्क नगरपालीकाबाट ६ जना र मालारानी गाउँपालीकाबाट १ जना गरी ७ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ६२१ संक्रमितमध्ये हालसम्म ५६४ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा ४९ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्क नगरपालीकामा ४८ जना र भुमिकास्थान नगरपालीकामा १ जना गरी जम्मा ४९ जना आइसोलेसनमा रहेका छन । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ८ जनाको ज्यान गईसकेको छ ।

किसानका समस्या बुझ्न नसकेको भन्दै अखिल नेपाल किसान महासंघ अर्घाखाँचीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गोपाल भट्टराई कार्तिक २७ अर्घाखाँची – अखिल नेपाल किसान महासंघ अर्घाखाँचीले सरकारले किसानका समस्या बुझ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । खेतीपाती गर्ने समयमा बिउ-मलको अभाव,बिचौलिया र भ्रष्टाचारीको बिगबिगि हुँदापनि सरकारले उचित भमिका खेल्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । तत्काललाई गहुँको बिउ र मलको उचित प्रबन्ध गर्नुपर्ने, सिंचाइ तथा विद्युतको ब्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराइएको महासंका जिल्ला अध्यक्ष जिवनारायण खनालले जानकारी दिनुभएको छ । किसान महासंघको केन्द्रिय कार्यक्रम अन्तरग आज जिल्ला प्रशासन अर्घाखाँची माफर्त ८ बुदे माग राखेर ज्ञापनपत्र पेश गरिएको किसान महासंघका अध्यक्ष खनालको भनाई छ ।

सोही ढाँचाको ज्ञापनपत्र आजै सन्धिखर्क नगरपालिकामा समेत पेश गरिएको किसान महासंघका जिल्ला सचिव भिमलाल आचार्यले बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर बि.सी.,झविलाल थापा,थम्मन के.सी.,सकुन्तला राना,यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल लगायत किसानका नेता तथा कार्यकर्ताको उपस्थितिमा पेश गरिएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्ण पौडेलले किसान महासंघले उठाएका माग जायज भएको बताउनुभएको छ । सरकारले कृषि ब्यवसायको विकासलाई प्राथमिकताको साथ अगाडि बढाएकोले क्रमश किसानका समस्या समाधान हुने विश्वास ब्यक्त समेत गर्नुभएको छ ।

यस्तै सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले ज्ञापनपत्र बुझ्दै कृषि र पर्यटनविकास नभएसम्म आर्थिक समृद्धि नहुने बताउनुभएको छ । सन्धिखर्क नगरपालिकाले सोही बमोजिम अगाडि बढेकाले किसान महासंघका माग पुरा गर्ने कोशिष गर्ने बचन समेत दिनुभएको छ । केन्द्रिय कार्यक्रम अनुसार किसान महासंघले जिल्ला प्रशासन अगाडि एक घण्टा धर्ना तथा कोण सभा समेत सम्पन्न गरेको बताइएको छ । सचिव भिमलाल आचार्यको संचालनमा सम्पन्न कोणसभामा अध्यक्ष जिवनारायण खनालले सम्बोधन गर्दै आन्दोलनको बारेमा जानकारी गराउनुभएको थियो ।

सन्धिखर्क २ की वडासदस्य मिनादेबि सावदद्धारा बिद्यालयमा अक्षयकोष स्थापना

सन्धिखर्क एफएम
कार्तिक २७ अर्घाखाँची –

सन्धिखर्क नगरपालिका वडानम्बर २ कि वडासदस्य मिनादेवी सावदले आफ्नो जन्मभुमि सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खानिगाउँमा अवस्थित श्री मुक्ति आधारभुत विद्यालयमा आफ्नो बुबा धन बहादुर नेपाली र आमा केतुकला नेपालीको सम्झनामा बिहिबार अक्षयकोष स्वरुप रु ५१ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । ७ नम्बर वडा अध्यक्ष प्रितम थापा र वडा नम्बर २ का अध्यक्ष मोति जंग रायमाझीको रोहवरमा उक्त विद्यालयका प्रअ नित्यानन्द चँुदालि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पन्थीलाई संयुक्तरूपमा उक्त राशि हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा संयुक्त दलित अधिकारकर्मी संजालका संयोजक बिष्णु परियार,जिल्ला बाल संगठन अर्घाखाँचीका अध्यक्ष कुल बहादुर नेपाली ,वडा सदस्यहरु बिष्णु प्रसाद भुसाल ,रामु खनाल ,कृष्ण नेपाली र जेम्स नेपालीको उपस्थित रहेको थियोे । उक्त अक्षयकोष दलित ,जनजाति र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप प्रदान गरिने बिष्णु परियारले जानकारि दिनुभएको छ ।

अध्यक्ष केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने, राजमोले रोक्यो आर्थिक संकलन

२७ कार्तिक काठमाडौं । बिरामी भएर मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीको उपचारमा लाग्ने सबै खर्च ब्यहोर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

मन्त्री ज्ञवालीले अध्यक्ष केसीको स्वास्थ्यलाभको कामनासहित मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराउनुभएको राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले बताउनुभयो ।
मन्त्रिपरिषदको निर्णयसहित राजमोले अध्यक्ष केसीको उपचारका लागि सुरु गरेको आर्थिक संकलन रोकेको छ ।

यसैबीच राष्ट्रिय जनमोर्चाले एक वक्तव्य प्रकाशित गरी उहाँको स्वास्थ्यलाभको कामना गर्ने तथा उपचारका लागि सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै थप सहयोग नगर्न आग्रह गरेको छ ।

उपाध्यक्ष पौडेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ–
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष क. चित्रबहादुर केसी कोरोना भाइरसको पोजेटिभ देखिएर ललितपुरको मेडीसीटी अस्पतालमा भर्ना भएको कुरा पहिले सार्वजनिक भइसकेको छ । कोरोना भाइरसको कारणले भन्दा निमोनियाका कारणले उहाँको स्वास्थ्यअवस्था गम्भीर हुँदै गइरहेको छ । पहिलेदेखि नै उहाँ दीर्घरोगी भएको र बृद्धावस्थासमेतको कारणले कमजोर हुँदै गइरहनुभएको थियो । हामीले आशा र कामना गर्दछौं, उहाँलाई छिटो स्वास्थ्यलाभ हुनेछ ।

उहाँको उपचारको लागि हामीले पहिले सहयोगको लागि सार्वजनिक अपील गरेका थियौं । अहिले उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने समाचार प्राप्त भएको छ । उहाँको स्वास्थ्यलाभको शुभकामना र सहयोग दिएका सबैप्रति आभार प्रकट गर्दै अहिले सरकारले उहाँको उपचारको खर्च व्यहोर्ने भनेको हुनाले थप सहयोग नगर्नुको लागि अनुरोध गर्दछौं ।’ source:yugdarshan.com

चित्रबहादुर केसीको उपचार सरकारले गर्ने

कात्तिक २७ काठमाडौं :  सरकारले कोरोनाबाट संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। मन्त्री पौडेलले ट्‍वीटरमार्फत सो जानकारी दिएका हुन्। 

केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ।  केही दिन अघि उनमा निमोनिया समेत देखिएको थियो। केसीको उपचारका लागि राष्ट्रिय जनमोर्चाले सहयोग संकलन गर्ने बताएको थियो। तर केसीका छोरा सचित्र केसीले बुबा खतरा मुक्त रहेको र बहाना बनाएर पैसा नउठाउन अनुरोध गरेका छन्।