पछिल्लो २४ घण्टामा सन्धिखर्कमा २६ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५९८ पुग्यो, ६८ जना आईसोलेशनमा ।

श्याम घिमिरे
कात्तिक १९ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा एकैपटक २६ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५९८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमितमध्ये ५२३ जनाले भने कोरोनालाई जितेर डिस्चार्ज भएका छन । अब जिल्लामा ६८ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा ६४ जना, शितगंगमा २ जना,भुमिकास्थानमा १ जना र मालारानीमा १ जना गरी ६४ जना आइसोलेसनमा रहेका छन । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका वडानं. १२ का एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएसंगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

पूर्वसभामुख महरा पत्नीको कोरोनाका कारण मृत्यु

कात्तिक १९,काठमाडौं :  पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको आज बिहान निधन भएको छ। 

माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनको कोरोनाका कारण उपचारको क्रममा निधन भएको हो।  काठमाडौंको नर्भिक हस्पिटलमा यहि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको आज बिहान ६ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ। 

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन्। उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्। source:thahakhabar

२४ घण्टामा ३ हजार ३०९ जनामा काेराेना सङ्क्रमण, ३ हजार ८४४ जना डिस्चार्ज

कात्तिक १९, काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार नाै सय २३ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार तीन सय नाै जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । गएकाे २४ घण्टामा १३ हजार एक सय ४४ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा तीन हजार आठ सय ४४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ४४ हजार नाै सय ७८ पुगेको छ ।  

अब नेपालमा ३६ हजार नाै सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार तीन सय पाँच जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ३० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ३४ पुगेको मन्त्रालयले जनाएकाे छ ।  

नक्कली पीसीआर रिपोर्टका कारण नेपाल एअरलाइन्सको बदनाम, सजगता अपनाउन प्रयाेगशालालाई आग्रह

 कात्तिक १९, काठमाण्डौ – नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ ।नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले एअरलाइन्सलाई खबरदारी गरेका छन् । नेपाल एअरलाइन्समा यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । ​दुबई र नारिता विमानस्थलले चेतावनी पठाएका छन् ।

सरकारले मान्यता दिएका प्रयोगशालामा भएको परीक्षण पनि विश्वसनीय नहुँदा नेपाल एअरलाइन्सलाई ठूलो आर्थिक नोक्सानी र प्रतिष्ठामा पनि आँच पुगेको छ । एअरलाइन्सले सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालासँग अनुरोध गरेको छ ।

पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन एअरलाइन्सको आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले जनाएको छ ।

source:ujyaaloonline

कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा चालु आ.व ७७/७८ का लागि ९ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक

सन्धिखर्क एफएम
कार्तिक २० अर्घाखाँची-
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आफ्नो स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । ज्ञान केन्द्रको सभाहलमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमको सार्वजनिक गरिएको हो । जिल्ला स्थित क्रियाशिल पत्रकारहरुको सहभागिता र नारायण प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा कृषि प्रसार अधिकृत बिवेक पन्तले बजेट तथा कार्यक्रमको ब्रिफ्रिङ्ग गर्नुभएको हो ।

जसमा कृषि उत्पादन, पोषण कार्यक्रम, स्मार्ट कृषि गाउँलगायतका कृषि कार्यक्रमदेखि ‘सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रम सार्वजनिक गरिएको हो । चालु आर्थिक वर्ष ७७/७८ का लागि ९ करोड ९८ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्रकुमार ओझाले जानकारी दिनुभयो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीका कारण कुल बजेटको ४५ प्रतिशतमात्र खर्च गरेको ज्ञान केन्द्रले यस वर्ष भने शतप्रतिशत कार्यसम्पादन गर्ने योजना राखेको केन्द्रका प्रमुख राममिलन विश्वकर्माले बताउनुभयो । उत्पादित कृषिवस्तु बजारमा पुगेपनि उचित मूल्य नपाउँदा किसान मारमा पर्ने गरेकाले यसको रोकथामका लागि केन्द्र लागिपरेको विश्वकर्माले बताउनु भएको पत्रकार गोपाल भट्टराईले जानकारी दिनुभएको छ ।