अपाङ्गता भएकाहरु प्रतिको व्यवहारमा सकारात्मक धारणा ल्याउनुपर्नेमा सरोकारवालाको जोड

बसन्त श्रेष्ठ छापेली मंसिर १५ – अपाङ्गता भएकाहरु प्रतिको व्यवहारमा सकारात्मक धारणा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । २९ औँ अपांगता दिवशको अवसरमा मालारानी गाउँपालिकामा अपाङ्गगता भएका व्यक्तीहरुको अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले अपाङ्गता भएकालाई अवशरसँगै सकारात्मक धारणा जरुरी रहेको बताउनुभयो । उपाध्यक्ष क्षेत्रीले अपाङ्गता भएकाहरु पनि अवसर पाएको खण्डमा उल्लेख्य प्रगति गरेको उदाहरण रहेको उल्लेख गर्नुभयो ।

बिकलाङ्ग वाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजना, मालारानी गाउँपालिकाको समन्वय र श्रृजनशील अपाङ्गता सरोकार केन्द्रको सहकार्यमा भएको कार्यक्रममा मालारानी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष नरेन्द्र कुमार बस्नेतले नीतिगत रुपमै मालारानी गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई बिभिन्न अवसर श्रृजना गरिदै आएको बताउनुभयो । वडा नं ६ का वडाध्यक्ष खड्का प्रसाद भुसालले अपाङ्गता भएकाहरुको क्षेत्रमा पुनस्थापनाका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा नं ३ का वडाध्यक्ष शोभाखर खनालले सामाजिक रुपमा उच्च समानको वातावरण श्रृजना गर्दै लगिने बताउनुभयो ।

गाउँपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी नेत्र खनालले अपाङ्गता भएकाहरुको आवाजको बहिस्करणमा नपार्ने गरी गाउँपालिकाले अवसरहरुको प्रदान गर्दै आएको बताउनुभयो । साथै उहाँले नयाँ बन्ने कार्यालयका संरचनाहरु अपाङ्गमैत्री बनाउन थालिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा श्रृजनशील अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले अपाङ्गता भएका व्यक्तीहरुको अधिकार तथा सवाल मागि प्रकाश पार्नुभएको थियो । सक्षम परियोजनाका पुनस्थापना सहायक रक्षा पाण्डे, नारायण खनाल लगायतले परियोजनाले गरेको कार्यहरु माथि प्रकाश पारेको कार्यक्रममा पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । परियोजनाले १८ वर्ष भन्दा कम उमेरका वालवालिकाको उपचार तथा पुनस्थापनाको क्षेत्रका काम गर्दै आएको छ ।

Advertisement

संघीयता धान्नै नसक्ने अवस्थामा देश पुगेको राष्ट्रिय जनमोर्चाकाे ठहर

गोपाल प्रसाद भट्टराई मंसिर १५-देशले अब संघीयता धान्नै नसक्ने अवस्थामा पुगेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले ठहर गरेको छ । संघीयता धान्न लिइएको वैदेशिक ऋणले देशलाई थिच्दै गएको भन्दै राजमोका नेताहरुले अब संघीयताको भारी बिसाउने बेला आएको बताएका हुन् । राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको संघीयता विरुद्धको कार्यक्रम अन्तर्गत आइतबार सन्धिखर्कको शान्तिबंगैचामा आयोजित सभालाई सम्बोधन गर्दै राजमो अध्यक्ष थम्मन के।सी।ले देशमा देखिएका धेरै समस्याको कारक संघीयता भएको जिकिर गर्नुभएको छ । समृद्ध मुलुक निर्माणको लागि संघीयताको खारेजी नै अहिलेको टट्कारो आवस्यकता भएको उहाँको भनाई छ ।

‘अहिले देशमा गम्भीर आर्थिक संकट पैदा भएको छ, वैदेशिक ऋण थपिँदै गएको छ, अब देशले संघीयता धान्न सक्दैन,अध्यक्ष के।सी।ले भन्नुभयो, यो उखेलेर फ्याँक्नुपर्छ । यसका लागि नेपाली जनता बेलैमा सचेत हुनुपर्दछ ।’ देश र जनता कोरोनाले थिंचिएका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचारमा केन्द्रित हुनु दुर्भाग्य भएको भन्दै उहाँले आक्रोस पोख्नुभएको छ ।

फरक प्रसङ्गमा अध्यक्ष के।सी।ले नेकपा भित्र देखिएको आन्तरिक किचलोले देशलाई गम्भीर क्षतितर्फ धकेलेको भन्दै सत्तारुढ दललाई आन्तरिक सहमतिबाट निकास खोज्न आग्रह समेत गर्नुभएको छ । राजमो जिल्ला सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रमलाई नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकालले मन्तव्य राख्दै सत्तारुढ दल कुर्सिको लडाइमा भुल्दा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ । सरकार बेलैमा सचेत नभए मुलुकलाई बिचौलिया र भ्रष्टाचारीले टाट पल्टाउने जिकिर गर्दै जनता जाग्नेबेला आएको समेत बताउनुभएको छ । संघीयता,कोराना भाइरस,राष्ट्रियता र भ्रष्टाचारका सन्दर्भमा सरकारले अपनाएको गलत नीति तथा कार्यक्रमका विरुद्ध राजमोले देशब्यापी विरोधको आयोजना गरेको हो ।

५ महिनादेखि बन्द भएको कार्यपालिका सुचारु

गोपाल प्रसाद भट्टराई मंसिर १५- अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ५ महिनादेखि बन्द भएको कार्यपालिका आइतबारबाट सुचारु भएको छ । नुवाकोट स्थित नगर कार्यालयमा नगरप्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे र नगर प्रवक्ता बाबुराम पन्थी बिच भएको त्रिपक्षिय बैठकले बिवादमा आएका बिषयलाई आवस्यकता अनुसार सच्याएर जाने सहमती गरेपछि नगर कार्यपालिका आजबाट सुचारु भएको हो । नगर प्रमुख रेसम थापाले कार्यपालिका माइन्युटमा किर्ते गरेको आरोप लगाउँदै उप–प्रमुख वेल्वासे र नगर प्रवक्ता पन्थीको समुहले गरेको बिरोध सतहमा आएपछि भुमिकास्थान नगरपालिकामा गत असार २५ गतेदेखि औपचारिक कार्यपालिका बस्न सकेको थिएन ।

कोरोना कहरको बिचमा लामो समयदेखि कार्यपालिका अबरुद्ध हुँदा सेवा प्रवाहमा प्रभाव परेको र विकास निर्माणमा असर पर्ने अवस्था आएपछि आज बसेको त्रिपक्षिय बैठकले यस अगाडि आएका बिवाद र बिरोधका बिषयमा सच्चाएर जाने सहमती भएको नगर प्रवक्ता बाबुराम पन्थीले जानकारी दिनुभएको छ । खासगरि दुइवटा बैठकमा निर्णय भएभन्दा बढि बिषय समावेश भएको पाइएपछि हामीले बिरोध गर्नुपरेको हो,नगरप्रमुख रेसम थापाज्युबाट नियतबस त्यस्तो कमजोरि नगरेको भन्दै नगरपालिकाको अहितमा भएका कमजोरि सच्याएर जाने प्रस्ताव आयो नगर प्रवक्ता पन्थीले भन्नुभयो,त्यसलाई हामीले स्विकार गरियो र बन्द रहेको कार्यपालिका सुचारु गर्ने सहमती बनेको छ । उहाँले अगाडि थप्नुभयो,अब हामी नगरपालिकाको विकासमा एक ढिक्का भएर अगाडि बढ्ने छौं ।

यसैविच बन्द रहेको कार्यपालिका खुलेसंगै भुमिकास्थान नगरपालिकामा आजै कार्यपालिका बैठक समेत बसेको छ । बैठकले संघिय सरकारको सहयोगमा बन्ने १५ शैयाको नगर अस्पताल नुवाकोटको चिदिचौरमा बनाउने र भोली मंसिर १५ गते एक बिशेष कार्यक्रमको बिच सिलन्यास गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । संघिय सरकारले देशैभरका ७ सय ५३ वटै पालिकामा ५ देखि १५ शैयाको अस्पताल सन्चालन गर्ने योजना बनाएअनुसार भुमिकास्थानमा पनि १५ शैयाको अस्पताल निर्माण हुनेभएपछि स्थानियमा खुशियाली छाएको छ ।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६४९ यथावत, ६१० जनाले कोरोनालाई जिते, अब २९ जना आईसोलेशनमा


श्याम घिमिरे ,मंसीर १४ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६४९ यथावत रहेको छ । संक्रमितमध्ये हालसम्म ६१० जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा २३ जना, शितगंगा नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा १ जना र छत्रदेब गाउँपालीकामा २ जना गरी जम्मा २९ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १० जनाको ज्यान गईसकेको छ ।

प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने चन्द्र ढकालको प्रतिवद्धता

मंसिर १४, काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२  र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो  । त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ । 

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले आफूले सबै व्यवसायीका प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो । आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो ।  आजदेखि हाम्रो पक्ष विपक्षभन्दा पनि सबै निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवसायीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यावसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघाई आफैंमा सवल र सक्षम बनाउनुको साथै व्यावसायिक ज्ञान वृद्धि लगायततर्फ आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगततर्फको उपाध्यक्षमा विजयी अञ्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफूले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो । source:ujyaaloonline