धनगढीमा असई मृत फेला, तस्करसँग भिडन्त भएको आशंका

 कात्तिक २, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडामा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत भेटिएका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमानाकामा मोहना नदीमा भेटिएको हो । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने सम्पर्कविहीन हुनुहुन्छ । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजेतिर गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किलोमिटरको दूरीमा उनीहरु चढेको मोटरसाइकल भेटिएको र झण्डै तीन किलोमिटरको दूरीमा रहेको मोहना नदीमा शव भेटिएको प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीसहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको झडपमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

Advertisement

उदयपुर जीप दुर्घटना : ज्यान गुमाएका पाँच जनाकै परिचय खुल्यो

 कात्तिक २, उदयपुर – उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैबीच रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान ग १ ज ६०४७ नम्बरको जीप आठबिसकोट नगरपालिका वडा नम्बर १२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आठबिसकोटमै रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

source:ujyaaloonline