अर्घाखाँचीमा सुक्रवार २२ जनामा कोरोना संक्रमण

श्याम घिमिरे
असोज ३० अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५२२ पुगेको छ । सुक्रबार सन्धिखर्क नगरपालीकामा २१ जना र शितगंगा नगरपालीकामा १ जना गरी २२ जना थपिएसंगै संक्रमितको संख्या ५२२ पुगेको हो । यस्तै हिजो सन्धिखर्क नगरपालीबाट ९ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ । अब जिल्लामा ११२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्कमा ९६ जना, शितगंगमा १० जना,भुमिकास्थानमा १ जना, मालारानीमा १ जना र पाणीनीमा ४ जना गरी जम्मा ११२ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यसअघि संक्रमणका कारण ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच सुक्रबार दिउँसोसम्म जिल्लामा ८ जना संस्थागत र १६८ जना होम क्वरेन्टीनमा गरी जम्मा १७६ जना व्यक्तिहरु क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ विनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

स्वास्थ्यकर्मीमा कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वरेण्टीन बस्न पाउने

असोज ३०, काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए । तर कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुखसमेत रहनुभएका डाक्टर अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिनुभएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरु अहिले सङ्क्रमितले भरिएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गरेर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न पाइने व्यवस्था गरेको हो ।  

पछिल्लाे २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने २८६ जनाकाे नाम सार्वजनिक,सूचीमा पूर्वआईजीपीदेखि मानव अधिकारकर्मी नै

असोज ३०, काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरेका दुई सय ८६ जनाको विवरण सार्वजनिक गरेको हो । यसरी मानव अधिकार उल्लङ्घन गर्नेमध्ये नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ जना प्रहरी, आठ जना सशस्त्र प्रहरी, ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना डाक्टर, सात जना कैदी र एक जना मानवअधिकारकर्मी नै रहेका छन् ।

यीमध्ये ३० जनालाई कारबाही भए पनि दुई सय ५६ जनालाई कारबाही नभएको आयोगले जनाएको छ । आयोगले बिहीबार प्रकाशन गरेको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वसँग सम्बन्धित नाै सय ४० वटा र अन्य दुई सय ५५ वटा सिफारिस रहेका छन् । आयोगका एक सय ६३ वटा पूर्ण कार्यान्वयन भएका, चार सय ४५ वटा आंशिक कार्यान्वयन भएका र पाँच सय ८७ सिफारिस अझै कार्यान्वयन भएका छैनन् । आयोगका सिफारिस कार्यान्वयनको लागि नेपाल सरकार, सर्वोच्च अदालत, संसदीय समिति, नागरिक समाज र संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम लगायतबाट प्रयास हुँदा पनि सन्तोषजनक नभएको आयोगले जनाएको छ । पीडितको जीवन स्वतन्त्रता, समानता र मर्यादाको विषयलाई आर्थिक लेनदेनमार्फत टुङ्ग्याउँदा दण्डहीनता बढेको प्रतिवेदनमा उल्लेख छ । source:ujyaaloonline

यस्ताे छ विस्तृत विवरण –