देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न बाबुरामलाई कांग्रेसको चुनौती ,छानबिनका लागि अख्तियारलाई आग्रह

असोज २५, २०७७ काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ। गत बिहीबार गोरखाको एक कार्यक्रममा बाबुरामले बहालवाला प्रधानमन्त्री केपी ओली तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका थिए। 

जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै ओली, देउवा र दाहालले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए।  यही भनाइलाई लिएर कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले आइतवार विज्ञप्ति निकालेर प्रमाणित गर्न चुनौती दिएका हुन्।

‘डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। प्रमाणको दाबा पुष्टि गर्न चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्‍चारमाध्यम र अख्तियारलाई अपील गर्दछौँ’, शर्माले भनेका छन्, ‘बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको छ। त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्‍नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

शर्माले केपी ओली नेतृत्वको सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य गरिएको प्रकरणमा कांग्रेसले सार्वजनिक रूपमा निरन्तर कडा विरोध गर्दै आएको जनाएका छन्।  ‘तर डा. बाबुराम भट्टराई बूढीगण्डकीबारे ज्वलन्त प्रश्‍नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नु भएको छ’, उनले भनेका छन्, ‘हलुका टिप्पणीलाई प्रष्टिकरण दिएर वक्तव्य जारी गर्ने कांग्रेसको परम्परा छैन। तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म सँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ।’ डा. भट्टराईले क्षणिक आवेगमा टिप्पणी गरेको भन्दै कांग्रेसले त्यसलाई कपोलकल्पित र झुठ भनेका हुन्।

‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपील गर्दछौं’, शर्माले भनेका छन्, ‘तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ। यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्‍ने अपेक्षा लिएका छौं।’
source:thahakhabar

Advertisement

कोरोना संगको संघर्षका ७ दिन र मेरो अनुभुती : सूर्य थापा

२५ असोज २०७७ -असोज १६ गते अपरान्ह १२ः०० बजे। बालुवाटारमा दोस्रोपटक स्वाब संकलन हुँदै थियो। सोचेकै थिएनौं रिपोर्ट पोजिटिभ आउँला भनेर १ तर, शनिबार दिउँसो रिपोर्ट नसोचेको आयो। सुरुमा त पत्याउनै सकिनँ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई टेलिफोन गरें। उहाँहरूले पनि रिपोर्ट पोजिटिभ आयो भनेपछि आफ्नो पनि जानकारी गराएँ। हामी तीनैजनाका चालकसमेत गरी बालुवाटारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ९८ जना संक्रमित भएको विवरण थाहा भयो। अवस्था कहालीलाग्दो भयो। यति हुँदा पनि कोरोना संक्रमणले प्रधानमन्त्री केपी ओलीज्यूको निवासतर्फ पहिलो घेरा पार गर्न नसकेको खबरले केही ढुक्क भयो।

प्रधानमन्त्रीकै स्वास्थ्यका कारण, मूलतः उहाँको दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि संक्रमणको खतराबाट बढी भयभीत भए पनि सावधानी अपनाउँदै र जानुपर्ने ठाउँहरूमा पनि जान डराउँदै थियौं। पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र जनसंगठनहरूका कार्यालय पेरिसडाँडासम्म जान स्वयं नियन्त्रित थियौं। २०७६ चैत ११ यता बालुवाटार–सिंहदरबारको ओहोरदोहोर, भौतिक दूरी कायम गरी सीमित भेटघाट, मास्कको अनिवार्य प्रयोग, अति कम मात्रै पत्रकारसँग भेट र संवादमा सीमित दिनचर्या थियो। यी सबै हाम्रो निम्ति भन्दा प्रधानमन्त्रीलाई संक्रमणको कुनै खतरा नहोस् भनेर नै गरिएको थियो।

हामीले पीसीआर परीक्षणमा पहिले त मतलब नै गरेका थिएनौं, किनभने हामीले परीक्षणमा प्रयोग गर्ने उपकरण र स्वास्थ्य सामग्री अत्यावश्यक कन्ट्याक्ट् ट्रेसिङमा प्रयोग हुन सकोस् भन्ने सदाशयता नै देखायौं। खासमा यसो गर्नुको कारण स्वास्थ्य सामग्रीको अभाव र ट्रेसिङमा पर्नबाट जोगिएको हुनाले नै थियो। पीसीआर परीक्षण साउनको दोस्रो साता प्रधानमन्त्रीसँगको क्लोज कन्ट्याक्टमा रहनुपर्ने जिम्मेवारीकै कारण गराएका थियौं र नेगेटिभ रिपोर्ट आएपछि ढुक्कजस्तै भएका थियौं। यसपालि जति प्रयास गरे पनि जोगिन सकेनौं र संक्रमित भई छाड्यो।
संक्रमणको रिपोर्टले मनमा व्यक्तिगत प्रकारको कुनै डर त लागेन, तर ज्यानमा करेन्ट लागेकोजस्तो भयो। संक्रमितले स्वयं पोजिटिभ रिपोर्टको घोषणा गर्दा ट्रेसिङ गर्न र सम्पर्कमा रहेकाले सावधानी अपनाउन सजिलो हुन्छ। अन्यथा नाम सार्वजनिक नगरी संख्या मात्रै जानकारी गराउने कार्य हुँदै आएको छ। कतिपय शिक्षित र आधुनिक भनिएका समाजले समेत संक्रमितप्रति वा तिनका परिवार र घरप्रति देखाउने गरेको अन्यथा व्यवहारका बारेमा बेलाबखत सार्वजनिक चर्चा हुँदै आएको पाइन्छ, जो खेदजनक नै छ।

०००
कोरोना पोजिटिभको रिपोर्ट आएपछि आआफ्नै निवासमा आइसोलेसनमा बस्ने सल्लाह भयो। परिवारबाट अलग रहें, बेड रूममै सीमित भएँ। दैनिकजसो बिहान सबेरैदेखि रातिसम्म निरन्तर तातोपानी घुट्काउँदै, त्यसमा बेसारपानी, मरिच, ज्वानो, लसुन, अदुवा, टिमुर र तेजपत्ताको प्रयोग र सेवन गरें। विद्यालय पढ्दाका आत्मीय साथी चन्द्रकान्त पोखरेलले बडो चिन्ता र सद्भावका साथ प्यूठान सिन्दुरे धुरीको शुद्ध बेसार पठाइदिएको, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुरबाट प्राडा रामआधार यादवले इम्युनिटी बढाउने र भाइरस नियन्त्रण गर्ने औषधिसमेत उपलब्ध गराएको, स्वर्गद्वारी आयुर्वेद फर्मा, इखालपु, पाटनका रामचन्द्र बुढाथोकीले विशेष निकटता, चासो र चिन्ताका साथ उपलब्ध गराएको औषधि र सल्लाहका साथ जनस्वास्थ्यविद् डा। रविन्द्र पाण्डेको टेलिफोन काउन्सिलिङ र श्रीमतीजीको निरन्तर नर्सिङ सेवाको समष्टिस्वरूप कोभिड १९ सँग लड्न र जितेर अघि बढ्न सकें।

बलिउडका महाअभिनेता अमिताभ बच्चनले डाबर चेवनप्रासको व्यापारिक विज्ञापन अत्यन्त प्रभावकारी रूपमा गर्नुभएजस्तै प्रधानमन्त्रीले बेसारपानीको प्रयोगका फाइदा र जडिबुटी तथा आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारिता एवं नेपालीको भान्सामा पाक्ने औषधीय तत्वसहितका खानपान र इम्युनिटी पावर उच्च रहेको जानकारी गराउने प्रयास निकै सही र जागरणमूलक रहेको अनुभूति भयो।

सुरुदेखि नै कोभिड १९ का लक्षणहरू ज्वरो आउने, जिउ, घाँटी र छाती दुख्ने, रुघाखोकी लाग्ने आदि केही नदेखिएको तर रिपोर्टचाहिँ पोजिटिभ आएकाले अनेक चिन्ता बढ्नु त स्वाभाविकै थियो। घरमा कडा अनुशासन र सावधानीको प्रबन्ध, अनुशासनको पालना, कोठाभित्र सीमित भई मास्क लगाएर बस्नेजस्ता बाध्यतामा बसियो। हामी आफैंले दुनियाँलाई संक्रमण भएको जानकारी गराएको र ठूलो संख्यामा एकसाथ पोजिटिभ रिपोर्ट देखिएको, अझ प्रधानमन्त्रीका सल्लाहकारहरू एकैचोटि संक्रमित बनेको कारणले सर्वत्र चासो बढ्यो। टेलिफोनमा प्रकट शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्नेहरू सबैका भावना आफैं ग्रहण गर्न त सम्भव भएन, सबैका ‘मिस्ड कल’ र सन्देशमा देखें। फेसबुक, ह्वाट्सएप, भाइवर र इमेलजस्ता सामाजिक सञ्जालमार्फत पाएका स्वास्थ्यलाभका अनगिन्ति शुभकामनाले हौसला दिइरह्यो।

स्वास्थ्य सचेतना एवं जागृति र आयुर्वेदको महत्तालाई नजिकबाट बुझ्न यो समय अत्यन्त उपलब्धिमूलक र स्वर्णिम सावित भयो। प्रधानमन्त्रीले वितेका सात महिनामा ‘हाम्रो आयुर्वेद उपचार पद्धतिको महिमा र महत्व’को बारेमा निकै धेरै व्याख्यान गर्दै र दोहोर्‍याउँदै आउनुभएको छ। उहाँका अधिकांश सम्बोधन पटकपटक सुनेको र आयुर्वेद क्षेत्रका विज्ञहरूसँग आयोजना गर्नुभएको विशेष छलफलमा पनि सहभागी भएरसमेत सुन्न पाएको थिएँ। कोरोनाविरुद्ध लड्दा ती कुराको सहीपना जीवनको प्रयोगशालामा व्यावहारिक रूपमा परीक्षण गर्न र त्यसको परिणाम, अनि प्रभाव भोग्न र सकारात्मक निष्कर्ष हासिल गर्न सम्भव भएको हो। अझ टेलिफोन गर्ने अधिकांशजस्तो ९९५ प्रतिशतभन्दा बढी० शुभचिन्तकले गुर्जो भएनभएको सोध्नु, बेसारपानी खान सल्लाह दिनु, विभिन्न जडिबुटीको प्रयोगमा ध्यान दिन भन्नु र यसै गरेर आफूहरूले कोरोना जितेको अनुभवसमेत सुनाउनु झन् रोचक वास्तविकता भएको छ।

बलिउडका महाअभिनेता अमिताभ बच्चनले डाबर चेवनप्रासको व्यापारिक विज्ञापन अत्यन्त प्रभावकारी रूपमा गर्नुभएजस्तै प्रधानमन्त्रीले बेसारपानीको प्रयोगका फाइदा र जडिबुटी तथा आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारिता एवं नेपालीको भान्सामा पाक्ने औषधीय तत्वसहितका खानपान र इम्युनिटी पावर उच्च रहेको जानकारी गराउने प्रयास निकै सही र जागरणमूलक रहेको अनुभूति भयो। तैपनि हाम्रो घरेलु उपचार पद्धतिको महत्तालाई दुत्कार्न इनफ इज इनफका भाइहरू, बेसारविरोधी अभियन्ताहरू र प्रधानमन्त्रीलाई पूर्वाग्रहवश उडाएर सन्तोष मान्नेहरू कसबाट परिचालित भइरहेका होलान् भन्ने पश्न भने मेरो मनमा अझ जब्बर बनेको छ।

०००
बितेको करिब एक वर्ष अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले होला, मैले झन्डै आँखाको दृष्टि नै गुमाउनु परेको थियो, समयमै समस्या थाहा पाएर धन्न उपचार गराएँ। महिना दिनसम्म भित्रपट्टि एउटा ग्लासमा टेप टाँसेर कालो चश्मा लगाउँदै हिँड्न बाध्य हुनुपर्‍यो। खासमा सुगरले आँखाको नर्भमा हानेर डुप्लिपियाको समस्या भइसकेको रहेछ। कान पनि कम सुन्ने समस्या भोगें, त्यसको पनि उपचार गराएँ। छालाको एलर्जी र नङको फंगसजस्ता समस्याहरूको पनि उपचार गरेर निको भएँ। कोरोना संक्रमण पनि थपियो, यसविरुद्ध लडें र जितें।

लकडाउनकै अवधिमा जेठ २८ गते आकस्मिक रूपमा माइल्ड अट्याकका कारण पित्तथैलीको पत्थरीको अपरेसन गराउनु पर्‍यो। त्यसले गर्दा आफैं पनि संक्रमणबाट जोगिने अधिक प्रयत्नमा रहनु स्वभाविकै थियो। गत वर्ष पुस ७ गतेपछि देखापरेको सुगरको समस्यामा डा। अंशुमाली जोशीको प्रत्यक्ष सम्बन्ध र परामर्शमा नियमित औषधि सेवन गरिरहेको छु। परिवारमै स्वास्थ्यकर्मी रहेकाले श्रीमती, भाइ र बुहारीको अत्यधिक ध्यान संक्रमणबाट जोगाउन केन्द्रित रहेकाले पनि परिस्थिति सहज भयो। अस्पतालमा ड्युटीमा जाँदा वा फर्कंदा उनीहरूको जोड चाहिनेभन्दा बढी सावधानी अपनाउन केन्द्रित हुन्थ्यो। यसका पछाडि मेरो स्वास्थ्य समस्या र प्रधानमन्त्रीसँगको सम्बन्धको संवेदनशीलता निहीत थियो।

म आफ्नो पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय, समग्र पार्टी, साथीहरू, श्रमजीवी जनता र मातृभूमिप्रति इमान्दार भएर काम गर्छु। अहिले प्रधानमन्त्रीको सचिवालयमा छु। यस जिम्मेवारीमा रहँदा प्रधानमन्त्रीको काममा सम्पूर्ण सामथ्र्य र बरकतका साथ सहयोग गर्न नै अहोरात्र लाग्नुपर्छ भन्ने कर्तव्य राम्रोसँग बुझेको छु। यो काममा म नयाँ छैन। त्यसैले, यसमा मेराविरुद्ध कुनै ताकत, गिरोह र कोही आपराधिक समूह परिचालित भएर केही तलमाथि गर्न सम्भव छैन। यस जिम्मेवारीमा रहँदा नबिराउनु नडराउनु भन्ने मान्यता बोकेर नै कार्यसम्पादन गर्ने हो। यसो गर्दा अनाहकमा कसैका प्रहार, घेराबन्दी, गालीगलोज सहनुपर्छ भन्ने लाग्दैन। त्यसो गर्न किमार्थ स्वीकार्य छैन। सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्रीको जीवनपद्धतिलाई सकेसम्म पछ्याउने कोसिस गरिरहेको छु।

यसबीच केही विकृत मनोदशाका रोगीहरू फेक आइडीमार्फत सक्रिय भए। त्यस्ता मान्छेको रूपका अपराधीहरूले सामाजिक सञ्जालको सकेसम्म दुरुपयोग गर्दै विशेषगरी मैले पित्तथैलीको अपरेशन गराउँदा पहिले पनि मलाई कोरोना लाग्यो भनेर दुष्प्रचार गर्न निकै बल गरेका थिए। अहिले त झन् कोरोनाले ठीक मान्छे छानेको, अब स्वस्थ भएर नफर्कियोस्, श्रद्धाञ्जली, रिप आदि लेख्ने, एनिमेसन गरेर अपमानजनक प्रचार गर्ने, मानौं तिनको स्वर्गको सुखमा मुख्य बाधक नै म हुँजस्तो गरी समाजमा गलत प्रचार र छवि निर्माण गर्न लाग्ने, मेरा स्पष्ट भनाइलाई बंग्याएर गलत अर्थ लगाई समाजमा भ्रम सिर्जना गर्ने, देश विदेशबाट टेलिफोन गरी निकृष्ट गालीगलोज गर्ने काममा नियोजित रूपमा लागेका परिचालित तत्वहरूको अपराधिक कृत्यलाई पनि मैले नजिकबाट देख्न पाएँ। तिनको अभिलेख राख्ने र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने आवश्यकता महसुस गरेको छु। पार्टीकै कोही नेता, गुट र पूर्ववर्ती समूहका विरासतको समेत छहारीमा सुरक्षित बसेर यस्तो हर्कत गरिरहेकाहरूको संलग्नता महसुस गरेको छु।

स्पष्ट गर्दछु कि झिंगाको सरापले गाई त मर्दैन १ कसैले मेरो मृत्युको कामना गरेर वा मनमनै होस् अथवा सोसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पनि पर्दैन। बीचबीच जस्तोमा उभिन, सबैको प्रिय बन्न र नाइस टु अल हुन करिब आधा शताब्दी लामो जीवनयात्रामा कहिल्यै जानिनँ। बाँकी जीवनमा पनि कहिल्यै त्यसो गर्न लाग्दिनँ। मेरो स्वभाव, शैली र निष्ठा नितान्त मेरो निजत्व हो। यसमा कमी त्रुटि रहेका भए हटाउन त प्रयास गर्छु, तर अरूको सजिलो र खुसीका लागि म बदलिने कल्पना कसैले नगरे पनि हुन्छ। यस क्रममा अग्रजहरूको माया र आशिर्वाद चाहिँ निरन्तर प्राप्त छ भन्ने ठानेको छु। देशभरिका शुभेच्छुकले निरन्तर साथ, सहयोग र समर्थन गरिरहेको पनि बुझेको छु।

खासमा मेरो कसैसँग व्यक्तिगत दुश्मनी छैन। कसैसँग लेनदेनमा विवाद गर्ने बानी छैन। बरु आफू तल परेर पनि त्यस्ता झमेलामा पर्न चाहन्नँ। आफ्नो कुराचाहिँ सिधा, प्रष्ट र सोझै भन्ने गर्छु। सामुन्नेमा पर्दा चिप्लो कुरा गर्ने, पछाडिबाट पिठ्युँमा छुरा रोप्नेहरूप्रति मलाई असीमित घृणा छ। मिल्दा र झगडा गर्दा दुवै स्थितिमा शतप्रतिशतमा नै व्यवहार गर्छु। त्यसक्रममा आफ्नो अवस्थाको चिन्ता कहिल्यै गर्ने गरेको छैन। आफ्नो निहीत स्वार्थका लागि त म कसैसँग विवाद र झगडा गर्ने गरेको छैन।

नियत बांगिएका, दोहोरो चरित्र भएका र आपराधिक प्रवृत्तिका तत्वहरूको सत्तोसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न पूर्ण सामथ्र्यवान छु। विश्वव्यापी महामारीका रूपमा आफूसम्म पनि आइपुगेको कोरोना संक्रमणलाई सात दिनमै पराजित गर्न सकेको छु। जबकि प्यूठान र देशभरिबाट चिन्ताभावमा टेलिफोन गरेर यो महामारीबाट जोगिन त सक्नुहोला दाजु भन्ने थुप्रै थिए। तिनको चिन्तालाई मैले छोटो प्रयासमा हटाउन सकेको छु। रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेजस्तो अनुभूति गरेको छु।

यस क्रममा सञ्चारमाध्यम, सञ्चारकर्मी, साथीभाइ, इष्टमित्र, नातेदार, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, १ नं प्रदेशका प्रमुख सोमनाथ प्यासी अधिकारी, मन्त्रीहरू योगेश भट्टराई, पद्मा अर्याल, प्रदीप ज्ञवाली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका नेताहरू विष्णुपुकार श्रेष्ठ, केशव बडाल, मणिचन्द्र थापा, जनार्दन शर्मा, विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपालले टेलिफोन गरेर चासो देखाउनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। कमरेड कृष्णगोपाल श्रेष्ठले त निकै बढी सक्रियता र ममता देखाउनु भयो, जो विशेष उल्लेखनीय रह्यो।

सर्वोपरि रूपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चासो र अभिभावकत्व यसक्रममा अविस्मरणीय महसुस भयो। यसमा मेरो अनुभव सबैलाई जस्ताको तस्तै काम त लाग्दैन। किनभने लक्षणरहितको संक्रमित थिएँ। लक्षणसहितका संक्रमितले मैलेजस्तो अभ्यास गर्न खोज्दा लापरबाही सावित भएर ज्यान नै जान पनि सक्छ। यस्तो अवस्थामा विज्ञ र स्वास्थ्यकर्मीको सल्लाहसुझावअनुसार उपचार र जडिबुटीको प्रयोग गरेर संक्रमणबाट पार पाउन सकिन्छ।  -अन्नपूर्ण पोष्टबाट

स्थानीय सरकारको कामप्रति जनचासो अझै बढ्नुपर्छ :प्रमुख प्रशासकिय अधिकृत घर्ती

संविधानले राज्यको मूल संरचनाका रुपमा संघ, प्रदेश र स्थानीय गरी तीन तह हुने र स्थानीय तहमा नगरपालिका, गाउँपालिका एवं जिल्लासभा रहने व्यवस्था गरेको छ । देशमा संघियता आएसंगै सिंहदरवारको अधिकार गाउँगाउँमा भन्ने नारालाई सरकारले मुख्य प्राथमिकतामा राखेर बिकास निर्माणलाई अगाडी बढाई राखेको छ । संघियताको कार्यान्वयन संगै स्थानिय निकायका जनप्रतिनिधिहरुसंग प्रशासकिय तालमेल,स्थानिय निकायप्रति जनताको चासो, बिकास निर्माणमा ,पारदर्शिता लगायतका बिषयमा केन्द्रीत रहेर मालारानि गाउँपालीका अर्घाखाँचीका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर घर्ती “भनभनेली”संग सन्धिखर्क एफएमका स्टेशन मनेजर श्याम घिमिरेले गरेको कुराकानी ।

 यहाँको पालीकामा जनप्रतिनिधिहरुसंग प्रशासकिय तालमेल कस्तो छ ?
सुमधुर खालको रहेको छ । आवश्यकतानुसार सम्पर्क दुबै पक्षबाट हुने गर्दछ । प्रशासनिक क्रियाकलापहरू सञ्चालन गर्नका लागि उहाँहरूसँग पूर्व सरसल्लाह पनि हुने गरेको छ । अस्पष्ट भएको कुरामा हामीलाई सोध्ने पनि गर्नु हुन्छ । नविनतम प्रशासकीय अभ्यासलाई कार्यान्वयनमा लैजादा समन्वय तथा कार्यपालिका बैठकको निर्णयबाट पनि गर्ने गरिएको अवस्था छ । त्यसैले नजिकको सुमधर खालको सुसम्बन्ध चलिरहेको छ ।

 स्थानिय निकाय भईसकेपछि स्थानिय जनताहरुमा त्यसको जानकारी कत्तीको छ ? जनताहरुको चासो र सहयोग कस्तो छ ।
यस गाउँपालिकामा साविकका७ वटा स्थानीय निकायहरूको जोड गरी एउटा स्थानीय तह मालारानी बनेको हो । यसको बारेमा यहाँका सबै जनतालाई थाहा भएकै छ । यो कुरा उहाँहरुकै लागि भएको हुनाले थाहा नहुने कुरै भएन । जनताका दैनिक प्रशासनिक काम कारवाहीसँग स्थानीय तहको अन्योन्याश्रित सम्बन्ध रहने हुनाले पूर्ण रुपमा जानकार रहेका छन् ।
जनताको चाँसो उच्च रहेको पाइन्छ भने सहयोग मध्यम खालको देखिन्छ । गाउँपालिकाले गरेका कुनै पनि काममा चाँसो राख्नु पर्दछ । यो संवैधानिक अधिकार पनि हो । यसले पालिकालाई सुधार गर्दछ र समृद्धिमा लैजानको लागि सहयोग पनि गर्दछ । जनचाँसोलाई जनप्रतिनिधिहरूले मनचाँसो बनाउनु पर्ने देखिन्छ । आफ्ना दलका जनाताको मात्र चाँसोलाई सम्बोधन गरियो भने असहयोग त्यहींबाटै विजारोपण हुन पुग्दछ । कर्मचारीहरूले पनि जनचाँसोलाई यथेष्ठ स्थान दिदैं आएको अवस्था छ । गाउँपालिकालाई यो खालको सहयोग चाहियो भनेर अपिल गर्दा पूर्ण रुपका नमिलेको पनि पाइन्छ । सहयोग गरेवापत के पाइन्छ भनेर आर्थिक लाभ खोज्ने गरेको पनि पाइन्छ । सार्वजनिक सम्पत्तिको प्रयोगको अवस्था हेर्दा आफ्नो कर्तव्य कम मात्र पुरा गरेको देखिन्छ ।

 विकाश बजेटको सदुपयोग कस्तो रहेको छ ? दुरुपयोगहुन नदिन यहाँले कस्तो भुमिका निर्वाह गर्नुभएको छ ।
विकास बजेटको सदुपयोग पूर्ण रुपमा भएको छ भनेर मैले मात्र भनेर हँुदैन । समग्र नतिजाले त्यसो भन्दैन । सदुपयोग गर्नका लागि सबैको सहयोग अपरिहार्य हुन्छ । सोंच सकारात्मक हुनु पर्ने हो । त्यो पनि सन्तोषजनक रुपमा बढेको अवस्था छैन । विनियोजन भएको विकास बजेटमा स्थानीय जनताले थप गर्नु पर्ने प्रावधान कागजमा मात्र सिमित हुने गर्दछ । विभिन्न खर्च शीर्षकहरू राख्ने गरिएको पाइन्छ ।
दुरुपयोग हुन नदिन गाउँपालिकास्तरीय योजना अनुगमन समितिलाई क्रियाशील बनाइएको छ । प्राविधिकहरूलाई लोभलाचमा नफस्न कडा निर्देशन दिइएको छ । सामाजिक परीक्षणलाई अनिवार्य गरिएको छ । सम्बन्धित् योजनाको अनुगमन समिति तथा वडा समितिलाई थप जिम्मेवार बनाइएको छ । दूरुपयोग गरेमा के कस्तो खालको सजाय वा कारवाही हुन्छ भन्ने कुराको प्रष्ट रुपमा जानकारी गराइएको छ । लेखापरीक्षण प्रतिवेदनले औल्याएका गत वर्षका गल्तीलाई पूर्ण रुपम सच्चाउनका लागि निरन्तर रुपमा लागिएको छ । अख्तियारमा परेका उजुरीको लागि छानविन समिति बनाइएको छ ।

 स्थानिय सरकार निर्माण भईसकेपछि त्यहाँका जनताले अनुभुति गर्नेगरी के कस्ता किकास निर्माणका कामहरु भएका छन ?
थुप्रै खालका भौतिक निर्माण भएका छन् भने सामाजिक रुपान्तरण पनि देहाय बमोपजम भएको देखिन्छ ।

  • कालारह जवाह बिद्युतीय लिफ्ट खानेपानी योजना वडा नं. ४ मा सम्पन्न गरि १५३ घरपरिवारलाई एक घर एक धाराको खानेपानी सुबिधा उपलबध गराईएको ।
  • सिस्नेखोला कुभिण्डे सोलार लिफ्ट खानेपानी योजना वडा नं. २ मा रु सम्पन्न गरि ५८ घर परिवारलाई एक घर एक धाराको खानापनी सुबिधा उपलबध गराईएको ।
  • मेहेलपानी बिद्युतीय लिफ्ट खानेपानी योजना वडा नं. ६ मा रु सम्पन्न गरि १५३ घरपरिवारलाई एक घर एक धाराको खानापनीसुविधा उपलब्ध गराईएको ।
  • सोताखोला आरुगैरा चौरी लिफ्ट खानेपानी योजना वडा नं. १ मा सम्पन्न गरि १३६ घरपरिवारलाई एक घर एक धाराको खानापनी सुविधा उपलब्ध गराईएको ।
  • सोता खोला गिद्धपोखरी खनदह बिद्युतीय लिफ्ट खानेपानी योजना वडा नं. ३ को निकट भविष्यमा सम्पन्न भई करिव ५४८ घरपरिवारलाई खानापनी सुबिधा उपलब्ध हुने ।
  • छहरा सुङ्ग्रेनी ग्राभिटी खानेपानी योजना वडा नं. ५ सम्पन्न गरि ५९ घरपरिवारलाई एक घर एक धाराको खानापानी सुविधा उपलब्ध गराईएको ।
  • गाउँपालिकाको सभाहल सम्पन्न हुने अवस्थामा रहेको तथा गाउँ कार्यपालिकाको प्रशासकीय भवनको निर्माण कार्य प्रारम्भ भएको ।
  • वडा ७ र ८  का वडा कार्यालय भवनहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको र वडा नं. ९ को वडा कार्यालय भवन सम्पन्न भई उक्त भवनबाट सेवाप्रवाह भैसकेको ।
  • वडा नं. २ र ८ मा आधारभुत स्वास्थ्य केन्द्रका भवन निर्माण गरि सेवा सञ्चालन गरिएको छ भने वडा नं. ७ मा भवनको निर्माण कार्य भईरहेको र सेवा सञ्चालन भईसकेको छ ।
  • वडा नं. ५ मा १०० मेट्रिक टन, वडा नं. ६, कुनाखर्क वडा नं. ३, डाँडाकटेरी वडा नं. २ मा १०/१० मेट्रिक टन क्षमता भएका ४ वटा कोल्ड स्टोरहरु सम्पन्न हुने अवस्थामा रहेका ।
  • नश्ल सुधारका लागि ४० वटा बोयर बोका, १० वटा उन्नत जातका राँगाहरु र ४ वटा भेडाका थुमेहरु वितरण गरिएको तथा विपन्न परवारका ६५ वटा खोर निर्माण र १२५ घर परिवारलाई ५/५ वटाका दरले ६२५ प्रजननयोग्य बाख्राहरु हस्तान्तरण गरिएको ।
  • कृषिलाई यान्त्रिकीकरण गरि व्यवशायीकरण गर्नको लागि ७४ वटा हाते ट्याक्टर र मकै छोडाउने मेशिन हस्तान्तरण गरिएको ।
  • सुन्तला/ कागतीका ४५ हजार बिरुवाहरु हस्तान्तरण गरिएको र टिमुर, अलैची, तेजपत्ता, अम्रिसो, चियापत्ति लगायत हालसम्म करिव ९५ हजार विरुवाहरु रोपण भएको ।
  • वडा नं. १ को भण्डारथुम र वडा नं. ६ को बराह थानमा गौरवका खेलमैदानहरु निर्माणाधीन अवस्थामा रहेका ।
  • ग्रामीण क्षेत्रमा समेत सडक स्तरोन्नती कार्य प्रारम्भ गरिएको (आतेका साँघु बरम्कोट मो.बा., देउराली वामरुक नरसिंहस्थान मो.बा., कार्कीटोला गुराँसे गुफा मो.बा. र साकिन्धारा कृषि सडक) ।
  • हालसम्म २५० खरका छाना विस्थापन गरिएको र आ.व. २०७७।७८ मा खरका छाना मुक्त गाउँपालिका बनाउने गरि कार्यक्रम अगाडि बढाईएको ।
  • गाउँपालिकाको पहलमा भेटेनरी अस्पताल भवन निर्माणाधीन अवस्थमा रहेको ।
  • मालारानी मन्दिर क्षेत्रमा पर्यटकीय खानेपानीको पूर्वाधार अन्तरगत बोरिङ् खानेपानी योजना आ.व. २०७७।७८ मा  सम्पन्न हुने अवस्थामा रहेको।

 बिकाश निर्माण लगायत अन्य क्षेत्रको कामकोपारदर्शिता कस्तो छ ?
पारदर्शिताका लागि गरिएका प्रयासहरू निम्न अनुसार रहेका छन् ।
 न्यायिक समितिमा आएका उजुरीको समन्वय र सहजीकरण गरिएको ।
 नागरिक बडापत्रको अद्यावधिक, विस्तार र सबै व्लक तथा वडाहरूमा व्यवस्थापन गरिएको ।
 सुझाव-गुनासो पेटिकामा परेका उजुरीको सम्बोधन गरिएको ।
 सूचना अधिकारीमार्फत सूचनाहरू प्रदान गर्ने व्यवस्था मिलाइएको ।
 उपभोक्ता भेलाबाट योजनागत अनुगमन समितिको गठन र क्रियाशीलतामा जोड दिइएको ।
 सबै योजना÷कार्यक्रमहरूको फर्छौटको लागि वडास्तरीय तथा पालिकास्तरीय अनुगमन समितिहरू क्रियाशील रहेका ।
 योजनाको जाँचपास र फरफारक समिति क्रियाशील रहेको ।
 सबै योजनामा वडा समिति र कार्यालयको रोहवरमा सार्वजनिक परीक्षण गर्ने व्यवस्था गरिएको ।
 इमेल, वेभसाइट, फेसबुक पेज, मोवाइल एप, एस्एम्एस्, ग्रुप म्यासेन्जर आदिबाट प्राप्त समस्या, गुनासा र जिज्ञाशालाई सम्बोधन गरिएको ।
 रेडियो मालारानीबाट हरेक हप्ताको शुक्रबार साँझ ०७ः३० बजेदेखि ०८ः०० बजेसम्म गाउँपालिकाले गरेका विभिन्न विकास निर्माणलगायतका गतिविधिहरूको प्रस्तुती हेलो मालारानी रेडियो कार्यक्रम निरन्तर रुपमा सञ्चालनमा रहेको ।
 रेडियो मालारानीकै संयोजनमा ८ नं. वडाबाहेक सबै वडाहरूमा सरोकारवालाहरूका बीचमा प्रत्यक्ष रुपमा आफ्ना जिज्ञाशा, प्रश्न तथा सुझावहरू आमने समने भई गरिने खुला कार्यक्रम जनताको बीचमा जनप्रतिनिधि १÷१ दिन सम्पन्न भएको ।
 पहिलो पटक आ.व. २०७६-०७७ को पहिलो र दोस्रो चौमासिकको कार्य प्रगति विवरणको संयुक्त अंक मालारानी बुलेटिन प्रकाशन र वितरण गरिएको र वार्षिक अंक पनि प्रशासनको संघारमा रहेको ।
 कोभिड–१९ का सन्दर्भमा गरिएका सम्पूर्ण काम कारवाहीको विवरणलाई समेटेर कोरोना सम्बन्धी कार्यहरू पहिलो द्विमासिक बुलेटिन प्रकाशन र वितरण गरिएको ।
 मुस्कानसहितको सेवाप्रवाहका लागि मासिक बैठक तथा कर्मचारीहरूको आचार संहिता पारित गरी लागू गरिएको ।
 सरल सहज सेवाप्रवाहका लागि वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख र कार्यपालिका कार्यालयका कर्मचारीहरूलाई बाह्य प्रशिक्षकहरूबाट समेत पुनर्ताजगी प्रशिक्षण प्रदान गरिएको ।

 यहाँको पालीकाममा कोरोना भाईरस संक्रमणको अवस्था कस्तो छ ? कोरोनासंग रोकथाम तथा नियन्त्रणकोलागी पालीकाले हाल सम्म के कस्ता गतिबिधिहरुगरीरहेको छ ।
अहिले समान्य नै रहेको छ । यस गाउँपालिकाले हालसम्म गरेका मूख्य गतिविधिहरू यस्ता रहेका छन् ।

गतिविधिहरू
क) गा.पा. अध्यक्षको संयोजकत्वमा गाउँपालिकास्तरीय २५ सदस्यीय समन्वय समिति गठन र परिचालन ।
ख) वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय ११ सदस्यीय समन्वय समिति गठन ।
विभिन्न सञ्चार माध्यमहरूमा सूचनाहरू प्रसारण तथा प्रकाशन गरिएको ।
क) पालिकाभरका सबै सुरक्षाकर्मीहरूलाई यस सम्बन्धमा आवश्यक तयारी र सजगताका बारेमा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको ।
ख) रेडियो मालारानीको अन्तरसम्वाद कार्यक्रममा तयारीको अवस्था बारेमा जानकारी गराइएको ।

गाउँ कार्यपालिकाको नियमित ४९ औँ बैठक (कोरोना विशेष बैठक) बाट विभिन्न महत्त्वपूर्ण निर्णयहरू देहाय बमोजिम गरिएको ।
क) यसको संक्रमणबाट जोगिने सचेताका लागि प्रत्येक वार्ड,टोलमा माइकिङ्ग गर्ने ।
ख) वडाका तर्फबाट माक्स वितरण र साबुन पानीले राम्ररी हात धुन अनुरोध गर्ने ।
ग) मदिराजन्य पदार्थ, मासुजन्य खाना र सूर्तिजन्य पदार्थ सेवन नगर्न अनुरोध गर्ने ।
घ) विदेशबाट आएकाहरूलाई आफ्नै घरमा मात्र बस्नका लागि अनुरोध गर्ने ।
ङ) प्रत्येक वडाका सार्वजनिक स्थलमा साबुन पानी वा स्यानेटराइजको प्रयोग गरी हात धुने व्यवस्था गर्ने ।
संक्रमणबाट वच्ने उपायहरूसहितको सचेतना सम्बन्धी पर्चा, पम्प्लेटहरू सबै वडा र टोलहरूमा वितरण ।
क) स्वास्थ्य सम्बन्धी आवश्यक सामग्रीहरूको विभिन्न स्थानबाट खरिद र संकलन गरी वितरण गरिएको ।
क) सबै वडाहरूमा सामुहिक क्वारेन्टाइन तयार भएको ।
ख) सबै वडामा विभिन्न देशबाट आएका व्यक्तिहरूको विवरण २६४ जना पुगेको ।
ख) यस सम्बन्धी थप सहयोग र व्यवस्थापनको लागि जिल्ला अस्पताल, अर्घाखाँचीलाई रु. २,५०,०००। (दुई लाख पचास हजार मात्र) प्रदान गरिएको ।
क) यस गाउँपालिकामा भारतलगायतका विभिन्न देशबाट आएका व्यक्तिहरूको विवरण अद्यावधिक गरिएको ।
ख) सबै वडा र पालिकामा वितरण गरिएका माक्सहरू २७,२७२ थान पुगेको ।
गाउँकार्यपालिका र कर्मचारीहरूको कोरोना विशेष बैठक बसी जनप्रतिनिधिहरूले १ महिना बरावरको सम्पूर्ण सेवा सुविधा र कर्मचारीहरूले ५ दिन बरावरको तलव (रु. ३,८५,६२०।१७) कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन कोषमा जम्मा गरिएको ।
क) भारतबाट नेपालमा आउँदा सीमा क्षेत्र (सुनौली नाका) मा अलपत्र परेका यस पालिकाका नागरिकहरूको सहज व्यवस्थापनका लागि गा.पा.अध्यक्ष जानु भएको ।
दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने मजदुरहरूलाई राहत वितरण गर्नका लागि आवश्यक विवरण संकलन गर्न आरम्भ गरिएको ।
क) गाउँपालिकाका कार्यालय भवनहरू वरपर तथा खनदह बजार क्षेत्रमा किटनाशक औषधी छरिएको र किटनाशक औषधी छर्ने कामलाई सबै वडाहरूमा व्यवस्था मिलाइएको ।
क) लकडाउनलाई थप व्यवस्थित गर्न इलाका प्रहरी कार्यालय खनले प्रयोग गरी फिर्ता गर्ने गरी १ थान मोटरसाइकल हस्तान्तरण गरिएको ।
क) वडा नं. ६, ८ र ९ को क्वारेन्टाइन स्थलहरू तथा हंपसुर र गोखुङ्गा स्वास्थ्य चौकीमा सञ्चालित हेल्प डेस्कको अवलोकन गरिएको ।
क) विपन्न मजदुरहरू, क्वारेन्टाइमा बसेका व्यक्तिहरू, विदेश र विभिन्न स्थानबाट फर्केका व्यक्तिहरूको सम्पूर्ण विवरणको अद्यावधिक गरिएको ।
क) गाउँ कार्यपालिका बैठक बसी कोभिड १९ सम्बन्धी हालसम्मका गतिविधिहरूको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्यका बारेमा विभिन्न निर्णयहरू गरिएको ।
क) बामरुक सामुदायिक स्वास्थ्य केन्द्र र बाँगी स्वास्थ्य चौकीमा सञ्चालित कोरोना विशेष सहायता कक्षको अवलोकन तथा स्वास्थ्यजन्य सामग्रीहरू प्रदान गरिएको ।
RDT चेकजाँचगर्ने व्यवस्था मिलाइएको ।

गापा अध्यक्षको नेतृत्वमा सुनौलीबाट छत्रदेवको १सहित २५ जनालाई ल्याई आदर्श मावि खनदहको क्वारेन्टाइनमा २४ जना राखिएको र १ जनालाई छत्रदेवमै हस्तान्तरण गरिएको ।
क) अध्यक्षकै नेतृत्वमा सुनौलीबाट थप ७० जनालाई ल्याई आदर्श मावि खनदहको क्वारेन्टाइनमा राखिएको ।
क) प्रदेश नं. ५ सरकार बुटवलबाट रु.१०,००,०००। प्राप्त भएको ।
ख) वडा अनुसार राहत सामग्री वितरण गरिएको विवरणलाई अद्यावधिक गरिएको ।
क) आदर्श मावि खनदहको क्वारेन्टाइनमा रहेकालाई क्षमता अभिवृद्दि सम्बन्धी विभिन्न कार्यक्रमहरूको शुभारम्भ मा. चन्द्र बहादुर खडकाबाट गरिएको ।
कोरोना सम्बन्धी कार्यहरूको विशेष बुलेटिन प्रकाशनको तयारी गरिएको ।
आदर्श मावि खनदहको क्वारेन्टाइनमा रहेकाको PCR विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरी भैरहवा पठाइएको ।

 यहाँका नागरीकहरुमा महामारी प्रतिको सतर्कता कस्तो छ ?महामारी नियन्त्रणमा स्थानिय सरकारको बिभिन्न निकायहरुसंग समन्वय र सहकार्य कस्तो छ ।
महामारीप्रतिको सतर्कता उच्च रहेको छ । सबै जना सचेत छन् । सामुहिक भेटघाटमा छलफल गरेको पाइन्छ । अन्य निकायहरूसँग समन्वय र सहकार्य घनिष्ठ खालको रहेको छ । एउटा सरकारलाई परेको काम र कुरा अर्को सरकारसँग आदान–प्रदान गरेर काम अगाडि बढाउने गरिएको छ । आवश्यकता अनुसारको सहकार्य बारम्बार गर्ने गरिएको अवस्था छ ।

 तपाईको कार्यकाल कति भयो ? तपाईको कार्यकालमा प्रशासकिय क्षेत्रमा उदाहरणीय काम के के गर्नु भयो ।
म २०७६ मार्ग २९ गते हाजिर भएको हुँ । महिनाले ११ महिना लाग्यो । मेरो कार्यकालमा प्रशासकीय क्षेत्रमा देहाय बमोजिमका काम सम्पन्न गर्न पुगेँ ।
भनिन्छ, कुनै पनि कामको शुरुवात आफैबाट गरिनु पर्दछ । यसै भनाइलाई आत्मसात गर्दै मैले यस मालारानी गाउँ कार्यपालिका कार्यालयमा हाजिर भएपश्चात हालसम्म आफ्नै पहलमा केही सुधारात्मक कार्य÷पक्षहरू गर्ने जमर्को गरेँ । तिनै कार्यहरूमासघाउँने जनप्रतिनिधि, कर्मचारी तथा सम्वद्ध सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

१) राष्ट्रिय झण्डा व्यवस्थापन र विस्तार :
 मूख्य कार्यालयमा साविकमा बाङ्गो बाँसको लठ्ठीमा एक छेउमा होचो गरी उनिएर राखिएको राष्ट्रिय झण्डा हटाई फलामको अग्लो डण्डीमा सजाई भवनको केन्द्र भागमा राखिएको ।
 छुट्टै भवनमा रहेका स्वास्थ्य शाखा र प्राविधिक शाखामा पनि राष्ट्रिय झण्डा थप गरिएको ।
 कार्यालयको सभाहल तथा अध्यक्षको कार्यकक्षमा समेत राष्ट्रिय झण्डा राखिएको ।
 सबै शाखा प्रमुखहरूको टेवलमा एकै प्रकारको राष्ट्रिय झण्डा राख्ने व्यवस्था गरिएको ।
 सबै वडातहमा रहेका कार्यालयहरूमा पनि राष्ट्रिय झण्डा राख्नलाई हस्तान्तरण गरिएको ।

२) राष्ट्रिय गानको प्रयोग र सम्मान :
 साविकमा लागू नभएकोले कार्यालय खुल्दा प्रत्येक दिनको ठिक १०ः०० बजे राष्ट्रिय गान बजाउने र सबै कर्मचारी सरिक भई सम्मान गर्दै आ–आफ्नो कार्यसम्पादनमा लाग्ने गरिएको ।
 कार्यालयको मासिक बैठक, गाउँकार्यपालिका बैठक, गाउँसभा बैठक तथा कार्यालयद्वारा आयोजित कुनै पनि औपचारिक सभा समारोहहरूको शुरुमा राष्ट्रिय गान बजाई सम्मान गर्ने व्यवस्था मिलाइएको ।

३) साइनबोर्ड व्यवस्थापन र विस्तार :
 मूख्य कार्यालयमा गाउँपालिका मात्र लेखिएको एउटा मात्र सानो साइनबोर्ड साविकमा रहेको ।
 कार्यपालिका कार्यालय र स्थापना मिति समेत लेखी ठूलो आकारमा साइन बोर्ड राखिएको ।
 कार्यालय भवनको दायाँ र बायाँपट्टी प्रवेश मार्ग भएकोले दुबैतिर पनि राखिएको ।
 मूख्य साइनबोर्डको दायाँ र वायाँ गाउँपालिकाको ठूलो नक्सा र मालारानी मन्दिरसहितका प्रमुख पहिचान समेटिएको तस्वीर समेत राखिएको ।
 मूख्य सडकबाट कार्यालय प्रवेश गर्ने मार्गमा समेत दिशा सूचक बोर्ड राखिएको ।
 कार्यपालिका कार्यालयको प्रवेशद्वारमा स्वागत बोर्ड राखिएको ।
 छुट्टै भवनमा रहेका स्वास्थ्य शाखा र प्राविधिक शाखामा पनि थप गरिएको ।
 सबै स्वास्थ्य चौकीहरूमा एकै प्रकारका नयाँ बोर्ड तयार पारी पठाइएको ।
 सबै वडा कार्यालयहरूमा एक रुपता हुने गरी राख्न भनिएको ।

४) नागरिक बडापत्रको व्यवस्थापन र विस्तार :
 प्रशासनिक कार्यालयमा नागरिक बडापत्र नराखिएकोले बनाई राखिएको ।
 छुट्टै भवनमा रहेका स्वास्थ्य शाखा र प्राविधिक शाखामा पनि थप गरिएको ।
 कार्यपालिका कार्यालयको प्रवेशद्वारको स्वागत बोर्डको दायाँ र वायाँतर्फ नागरिक बडापत्रको बुँदागत (संक्षिप्त रुप) तयार पारी राखिएको ।
 सबै वडा कार्यालयहरू र स्वास्थ्य चौकीमा एक रुपता हुने गरी राख्न भनिएको ।

५) सुझाव पेटिकाको प्रयोग :
 साविकमा कतै पनि राखेको नपाइएकोले कार्यालयको बाहिरपट्टी सुभाव पेटिका राखिएको ।
 पेटिकामा परेका उजुरीको सुनुवाई गर्दै नियमित रुपमा खोल्ने व्यवस्था मिलाइएको ।
 सबै वडातहमा रहेका कार्यालयहरूमा प्रयोग गर्न भनिएको ।

६) सूचना अधिकारीको जानकारी :
 साविकमा कतै पनि राखेको नपाइएकोले कार्यालयको बाहिरपट्टी सबैले देख्ने गरी सूचना अधिकारीको आवश्यक जानकारी भएको फ्याल्यास प्रिन्ट राखिएको ।
 कार्यालयको वेभपेजमा पनि सूचना अधिकारीको सम्पर्क विवरण थप गरिएको ।
 नियमित रूपमा स्वतः प्रकाशन हुने सूचनाहरू वेभपेजमा राख्ने व्यवस्था मिलाइएको ।

७) पर्यटन वर्षको बोर्ड र ब्रोसर :
 नेपाल भ्रमण वर्ष सन् २०२० को लोगो बनाई कार्यालय परिसरमा राखिएको ।
 मालारानीका पर्यटकीय स्थलहरूको ब्रोसर निर्माणका लागि आवश्यक सूचना सामग्रीहरू प्रवुद्ध व्यक्ति तथा मालारानी रेडियोको सहयोगमा संकलन गरिएको ।
 गाउँपालिको मूख्य प्रवेश विन्दू र बजार क्षेत्रहरूमा रहने गरी प्रमुख पर्यटकीय स्थलहरू समेटिएको होर्डिङ्ग बोर्ड निर्माणको अन्तिम तयारी मालारानी रेडियोको सहकार्यमा गरिएको ।
 कोभिड १९ का कारण नेपाल भ्रमण वर्षका सबै कार्यक्रमहरू स्थगित भएका ।

८) जानकारीमूलक व्यानर, बोर्ड र तस्वीरहरूको व्यवस्थापन :
 कार्यालयमा जरुरी हुने सेवाप्रवाह सम्बन्धी न्यूनतम जानकारीहरू साविकमा नभएको ।
 क्षेत्रगत रुपमा देहाय अनुसारका सामग्री तयार पारी कार्यालय परिसर, कार्यालय ब्लक, बैठक÷सभाहल, कार्यकक्षजस्ता आवश्यक स्थानमा टाँगिएको ।
क) संघीय, प्रादेशिक, जिल्लाका स्थानीय तह तथा मालारानीको विस्तृत नक्सा,
ख) जिल्ला र पालिकाका मूख्य ऐतिहासिक स्थान समेटिएका तस्वीरहरू,
ग) राष्ट्रिय चिन्ह, गान, विभूति, सहिद आदिको तस्वीर र विवरणहरू,
घ) गाउँकार्यपालिकाका सदस्यहहरूको फोटोसहितको विवरणात्मक बोर्ड,
ङ) गाउँसभाका सदस्यहरूको नामनामेसी र सम्पर्क विवरण,
च) मालारानीका मूख्य पहिचान बनेका विभिन्न क्षेत्रहरूको फोटो फ्रेमहरू,
छ) कार्यालय स्थापना कालदेखि हालसम्मका कार्यालय प्रमुखहरूको विवरण रहेको बोर्ड,
ज) विभिन्न समय र स्थानमा हुने नियमित बैठक तथा कार्यक्रम विवरणको बोर्ड,
झ) गाउँपालिकाको पाँच वर्षे दीर्घकालीन सोंच÷लक्षको बोर्ड,
ञ) गाउँकार्यपालिकाको संख्यात्मक र कर्मचारीको मासिक बैठकको व्यानर प्रयोग ।

९) सेवाग्राही विश्राम स्थलको व्यवस्था :
 कार्यालयमा आउने सेवाग्राहीको लागि प्रतिक्षालय नभए तापनि कार्यालयको खाली स्थानमा रेगजिनवाला काठको बेञ्च तथा कुर्चीहरू राखिएको ।
 विभिन्न सूचना र जानकारीका लागि टेलिभिजन हेर्न पाइने व्यवस्था मिलाइएको ।
 प्रयोगविहिन ¥यागलाई सदुपयोग गर्दै गाउँपालिका एवम् साहित्य सम्बन्धी विभिन्न जानकारीमूलक बुलेटिन तथा पाठ्य सामग्री अध्ययन गर्ने अवसर मिलाइएको ।
 कान्तिपुर र दैनिकपत्र राष्ट्रिय पत्रिकाहरूको वार्षिक ग्राहक बनी छपाई भएका समसामयिक समाचार तथा लेख रचनाहरू हेर्ने प्रवन्ध गरिएको ।
 सेवाप्रदायी र सेवाग्राही दुबैलाई तातो, चिसो पिउने पानीको व्यवस्था मिलाइएको ।
 बिग्रिएर थन्क्याइएको एलइडी डिजिटल फ्याल्यास बोर्डलाई सुचारु गरिएको ।

१०) ब्लक नं., कोठा नं., शाखाको नाम र नेमप्लेटको व्यवस्थापन :
 तीन वटा कार्यालय भवन र कार्यकक्षहरूको नं. नभएकोले मालारानी ब्लक १, २ र ३ तथा सबै कोठाहरूको नं. कायम गरी डिजिटल प्लेट बनाई टाँस गरिएको ।
 साविकमा फरक फरक खाले र पुरानै शैलीका पदाधिकारी तथा कर्मचारीहरूका डोर नेमप्लेट तथा टेबल नेमप्लेट केही मात्र रहेको ।
 सबैको एक रुपता हुने गरी अध्यक्ष, उपाध्यक्ष र अधिकृतस्तर सबैको नयाँ डोर नेमप्लेट एवम् डिजिटल टेबल नेमप्लेट तयार पारी राखिएको ।
 अन्य कर्मचारीहरूको प्रिन्टेड टेबल नेमप्लेट तयार पारी राखिएको ।
 बैठक÷सभाहलमा अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिव (प्रमुख प्रशासकीय अधिकृत) को प्रिन्टेड टेबल नेमप्लेट राखिएको । साघुँरो हल भएकाले अन्य सदस्यहरूको राख्न नसकिएको ।
 सम्पूर्ण शाखाहरूको पनि नेम प्लेट तयार पारी सम्बन्धित् शाखामै टाँस गरिएको ।
 रोस्टममा सरकारको निशाना छाप र मालारानी गाउँपालिका लेखाइएको ।

११) नियमित बैठकहरूको सञ्चालन :
 जिल्लास्तरमा हुने कार्यालय प्रमुखहरूको बैठकमा नियमित रुपमा सहभागिता हुने गरेको ।
 कार्यालयमा कुनै पनि बैठकहरूको नियमितता नदेखिएकोले प्रत्येक महिनाको ४ गते सबै कर्मचारीहरूको बैठक र ५ गते शाखा प्रमुखहरूको बैठक अनिवार्य रुपमा बस्ने गरिएको ।
 वडा सचिवहरू र स्वास्थ्य चौकीका प्रमुखहरूलाई पनि बैठकमा आमन्त्रण गरी समसामयिक विषयमा छलफल गरिएको र आवश्यकतानुसार छुट्टा छुट्टै पनि बैठकहरू बस्ने गरिएको ।

१२) ई–हाजिरी, परिचयपत्र र पोशाकको प्रयोग :
 पुरानो मूख्य भवनमा प्रयोगमा नरहेको ई–हाजिरी मेसिनलाई नयाँ मूख्य भवनमा जडान गरी सुचारु गर्दै हाजिरी रजिष्टरलाई विस्थापन गरिएको ।
 साविकमा कर्मचारी परिचय पत्र नलगाएको हुनाले एक रुपता हुने गरी गाउँपालिकाको नाम उल्लेख गरी परिचय पत्रको नियमित प्रयोग गर्ने गराउँने व्यवस्था मिलाइएको ।
 सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि गाउँपालिका लेखिएको परिचयपत्र प्रदान गरिएको ।
 तोकिएको कर्मचारी पोशाकलाई दैनिक तथा अनिवार्य रुपमा प्रयोग गर्ने गरिएको ।
 सम्पूर्ण कर्मचारी तथा कार्यपालिका सदस्यहरूलाई नाम र पद उल्लेख भएको नेमट्याग लगाउने व्यवस्था मिलाइएको ।

१३) सीसी टीभी जडान, पार्टेसन र पार्किङ्ग स्थल :
 समग्र कार्यालयको चौविसै घण्टा सुरक्षा व्यवस्थापन तथा नियमित सेवाप्रवाहलाई चुस्त, दुरुस्त र छिटोछरितो बनाउनका लागि ३ वटै भवनमा ८ वटा स्तरीय क्यामराहरू जडान गरिएको ।
 प्रशासनिक कार्यालयको मूल गेट, आलेप शाखा र माथिल्लो तलाको दुबै भागमा आल्मुनियम पार्टेशन गरी कार्यालयलाई थप व्यवस्थित गरिएको ।
 यसै भवनको तल्लो र माथिल्लो प्यासेजमा कार्पेटिङ्ग गरि विभिन्न फुलहरू सजाइएको ।
 वल्लो पल्लो कोठाहरूमा फरक फरक पर्दाहरू लौरामा समेत राखिएकोले सबैलाई हटाई एक रुपता कायम हुने गरी व्यवस्थित तरिकाले पर्दाहरू सबै भवनमा लगाइएको ।
 कार्यालयको किनारामा रहेको घरधनीको ट्याङ्कीलाई स्थानान्तरण गरी पार्किङ्ग स्थल तोकिएको ।

१४) खाजा स्थान, खर्च र समयको किटान :
 कर्मचारीहरूलगायतको लागि अफिसकै कोठामा अफिसकै खर्चमा नियमित खाजा र आंशिक रुपमा खानासमेतको व्यवस्था साविकमा गरिएको ।
 यस अवस्थालाई पूर्ण रुपमा बन्देज लगाई कर्मचारीहरूले आफ्नै खर्चमा अन्यत्रै खाने र अफिसमा कालो चियाको मात्र व्यवस्था गर्ने परिपाटीको शुरुवात गरिएको ।
 सबैलाई खाजा समय दिउसो आधा घण्टा तोकिएको ।

१५) घर भडा तथा कोठा भाडा व्यवस्थापन :
 नियमित कार्यालय सञ्चालन र व्यवस्थापनका लागि साविकमा विभिन्न स्थानमा ८ वटा घरका ५२ वटा कोठाहरू भाडामा प्रयोग गरिएको ।
 अफिस प्रयोजनको आवश्यकतालाई मध्यनजर गर्दै सदरमुकाम सन्धिखर्कको सहित ३ वटा घरका १५ वटा कोठाको घरभाडा संझौता रद्द गरिएको ।
 कार्यालय प्रमुख र अतिथिका लागि खनदहमै ३ वटा कोठा थप भाडामा लिइएको ।
 हाल ६ वटा घरका ४१ वटा कोठा मात्र कार्यालय प्रयोजनका लागि प्रयोगमा रहेका ।

१६) सूचना प्रविधिको उपयोगलाई प्राथमिकता :
 कार्यालयको आधिकारिक वेभपेज अद्यावधिक गर्दै आवश्यक सूचना तथा जानकारीका लागि बढिभन्दा बढी मात्रामा प्रयोग गर्ने, गराउने व्यवस्था मिलाइएको ।
 कार्यालयकै मोवाइल एप्स् र फेसबुक पेजलाई पनि क्रियाशील बनाइएको र नकारात्मक सन्देश दिने टिप्पणीकारलाई सचेत गराउँदै सकारात्मक बनाउने वातावरण सिर्जना गरिएको ।
 कर्मचारीहरूको मालारानी स्टाफ ग्रुप म्यासेन्जर सिर्जना गरी दैनिक कार्यका आवश्यक सूचनाहरू आदान–प्रदान गर्ने गरिएको ।
 इमेलमार्फत तालुक निकाय र मातहततका निकायहरूमा पत्राचार गर्नलाई अभिप्रेरित गरिएको ।
 जनप्रतिनिधि तथा कर्मचारीहरूका निमित्त बैठकको सूचना र अन्य अत्यावश्यक जानकारी गराउनका लागि एसएमएस सिस्टमको शुरुवात गरिएको ।
 मोवाइल फोनमार्फत सहजीकरण र समन्वय गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सहुलियत दिनका लागि सियूजी सिस्टमको दायरा फराकिलो गरिएको ।

१७) कर्मचारीसँग कार्यसम्पादन करार संझौता :
 सेवाप्रवाहमा कर्मचारीहरूलाई थप जिम्मेवार तथा उत्तरदायी बनाउनका लागि प्रथम चरणमा शाखा प्रमुखहरू, वडा सचिवहरू, स्वास्थ्य चौकीका प्रमुखहरूसँग कार्यालय प्रमुखले कार्यविवरणसहितको कार्यसम्पादन करार संझौता गरिएको ।
 दोस्रो चरणमा अन्य कर्मचारीसँग पनि सोही व्यहोराको कार्यसम्पादन करार संझौता गरिएको ।
 करार संझौतालाई कर्मचारीको वार्षिक मूल्याङ्कनमा आवद्द गर्ने व्यवस्था मिलाइएको ।
 आ.व.को शुरुवातमा यसलाई परिमार्जनसहित नविकरण गरिएको ।

१८) चौमासिक÷द्विमासिक÷वार्षिक बुलेटिन प्रकाशन :
 गाउँपालिका क्षेत्रभरमा भए गरेका सम्पूर्ण कार्य प्रगति विवरणको सार्वजनिक गर्नका लागि पहिलो पटक प्रथम र दोस्रो चौमासिकको संयुक्त अंक मालारानी बुलेटिन वर्ष १, अंक १ (२०७६ श्रावणदेखि फाल्गुणसम्म) प्रकाशन गरी वितरण गरिएको ।
 कोभिड १९ सम्बन्धी गरिएका हरेक क्रियाकलापहरूलाई समेटेर २०७६ चैत्र र २०७७ बैशाखको प्रथम द्विमासिक बुलेटिन कोरोना सम्बन्धी कार्यहरू वर्ष १, अंक १ सार्वजनिक गरिएको ।
 आ.व. २०७६/०७७ मा गरिएका सम्पूर्ण कार्यहरूका प्रगति विवरण (तेस्रो चौमासिकको प्रगति तथा दोस्रो कोभिड १९ विशेष विवरणसमेत) लाई समेटेर वार्षिक अंक मालारानी बुलेटिन वर्ष २, अंक १ प्रकाशन गरिएको ।

१९) राजपत्र तथा ऐन-नियम प्रकाशन :
 गाउँसभा तथा कार्यपालिका बैठबाट पारित भएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड आदि ४ द्रजन बढी भए पनि साबिकमा ३ वटा मात्र प्रकाशन भएका ।
 यत्रतत्र रहेका कानुनहरू संकलन गरी राजपत्र प्रकाशन गर्ने कार्यविधि पारित भएपछिका सबै कानुनहरू अलग अलग रुपमा स्थानीय राजपत्रमा प्रकाशन गरी वितरण गरिएको ।
 बैठकबाट पारित भएपछि सबै किसिमका कानुनहरू तुरुन्तै प्रकाशन गर्ने व्यवस्था मिलाइएको ।
 शुरुदेखि हालसम्म पारित भएका सम्पूर्ण कानुनहरूको संग्रह प्रकाशन गरी वितरण गरिएको ।

२०) बैठक संख्या यकिन तथा निर्णय अभिलेख व्यवस्थापन :
 गाउँसभा र कार्यपालिका बैठकहरू नियमित बसे तापनि स्थापनादेखि कति वटा सम्पन्न भए भन्ने साविकमा यकिन नभएको र धेरै निर्णयहरू रजिष्टरमा अभिलेखीकरण नभएको ।
 सबै निर्णयहरू एकतृत गर्दै संख्या यकिन गरी पञ्जिकासहितको अभिलेखीकरण गरिएको ।
 गाउँसभा र कार्यपालिका सबै बैठकहरूको मिति र प्रस्तावहरूको विवरण अलग अलग रुपमा तयार पारी सबै सदस्यहरूलाई वितरण गरिएको ।
 कुनै पनि निर्णयहरू आवश्यकतानुसार खोजेको बखतमा सहज र सरल तरिकाले जो कोहीले फेला पार्न सकिने व्यवस्था मिलाइएको ।

२१) असल अभ्यासको छनौट र संप्रेषण ः
 गाउँपालिकाबाट वर्षभरमा गरेका उदाहरणीय एवम् नमुना कार्यहरूलाई असल अभ्यास मानेर छनौट गरी पठाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग गरेको ।
 सोही बमोजिम योजना संझौता र बैंक खाता खोल्ने अभियान गाउँ तहमै लैजाने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिएकोले असल अभ्यासका लागि छनौट गरी सो सम्बन्धी तस्वीर, तथ्य र तथ्याङ्कसहितको लेख तयार पारी पठाइएको ।
 उक्त लेखलाई अफिसको वेभपेजमा राख्दै विभिन्न सञ्चार माध्यमहरूमा पनि संप्रेषण गरिएको ।

२२) योजनामा जनसहभागिताको सुनिश्चतता :
 प्राय योजनाहरूमा डोजरलगायतका मेसिन औजार प्रयोग गरी कार्य सम्पन्न गर्ने र अनुदानको अंशको मात्र मेसिन प्रयोगको बिल बनाउने र जनसहभागिताको अंश मात्रको डोर हाजिर बनाउने गरेको प्रचलनलाई निरुत्साहित गरिएको ।
 यस सम्बन्धमा मलेप प्रतिवेदनले उल्लेख गरेको तथ्य तथ्याङ्क जनप्रतिनिधि र उपभोक्तालाई जानकारी गराइएको ।

२३) मलेपको प्रतिवेदन र प्रगति :
 गत आ.व.को अन्तिम लेखापरीक्षण प्रतिवेदनबाट औल्याइएका विषयहरू गम्भिरतापूर्वक लिई नियमित तथा असुल उपर गर्नु पर्ने कार्यलाई प्राथमिता दिई अधिकांशलाई ताकेता गरिएको ।
 यस प्रतिवेदनमा उल्लिखित विषयको कार्यान्वयनका लागि सो को सार संक्षेप वा मूख्य अंशलाई कार्यपालिका बैठकमा प्रस्तुत गरि वितरण समेत गरिएको ।

२४) व्याडमिण्टन कोर्ट स्थापना :
 यस खनदह क्षेत्रमा व्याडमिण्टन खेल मैदान नभएको र त्यसको आवश्यकता देखिएकोले स्थानीय युवाहरू, कर्मचारी साथीहरू र सरोकारवालासँग समन्वय गरी बजारदेखि पिपलधारा जाने बाटोको साइड न्यूरेनी भन्ने स्थानमा उक्त खेल र अन्य खेल तथा कार्यक्रमका लागिसमेत उपयोग हुनेगरी मैदान तयार गरिएको ।

२५) वार्षिक योजना किताबमा परिमार्जन :
 साविकमा गाउँ विकास योजना भनिएकोमा मालारानी विकास योजना बनाउँदै त्यसमा राख्नु पर्ने न्यूनतम सूचना तथा जानकारीहरू (कार्यपालिका सदस्यहरूको र कार्यालयको फोटो थप, परिचयात्मक विवरणमा विस्तार, मूख्य स्थान र गतिविधिहरूको फोटो थप, प्रधानाध्यापक र अन्य निकायको फोन नं. सहितको विवरण थप, कोरोना व्यवस्थापन कोषको विवरण, सेवाप्रवाहको संक्षिप्त विवरण आदि) लाई परिमार्जन गरी व्यापक बनाइएको ।

२६) कर्मचारीहरूको शिष्टाचार :
 यस गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले सेवाप्रवाह गर्दा वा नगर्दा पालना गर्नु पर्ने आचरण, शिष्टाचार तथा आचार संहिता – २०७७ पारित गरी लागू गरिएको ।

२७) पुनर्ताजगी प्रशिक्षण :
 सार्वजनिक सेवालाई चुस्त दुरुस्त राख्दै मुस्कानसहित प्रवाह गर्न तालिमको आवश्यकता महशुस भई सम्पूर्ण कर्मचारीमा उत्साह एवम् उत्प्रेरणा प्रदान गर्नका लागि नयाँ र पुराना कर्मचारी साथीहरूलाई ७ दिने पुनर्ताजगी प्रशिक्षण सुसम्पन्न गरिएको ।

अन्तमा केहि छ कि ?
यो अवसर दिनु भएकोमा तपाई र तपाई आवद्ध सञ्चार माध्यमलाई विशेष धन्यवाद दिन्छु । कुनै पनि काम गर्नको लागि कार्यवातावरण भएन भनेर पञ्छिने होइन कि कार्यवातावरण आफै बनाउँने हो । प्रयास गर्ने हो । सकारात्मक सोंचका साथ काम गर्ने हो । नराम्रो र भडकाउँमा लाग्ने होइन । यथार्थ र सत्यतालाई अँगाल्ने हो । आजलाई होइन भोलिलाई हेर्ने हो । कानुनलाई आत्मसात गर्ने हो । आफ्नालाई भन्दा नि योग्यलाई छान्ने हो । उपलव्ध स्रोत र साधनको सही सदुपयोग गर्ने हो । सूचनाको समुचित प्रयोग गर्ने हो । सबैसँग यही आग्रह गर्ने हो । अपार सहयोगका लागि साथ जुटाउँने हो ।

अनसनको २७ औँ दिनमा सरकार र डा. केसीबीच आठ बुँदे सहमति ,६ बुँदे माग पूरा गरिने, आइतवार बिहान अनसन तोडिँदै

असोज २५, २०७७ काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच त्रिवि शिक्षण अस्पताल परिसरमा सहमति पत्रमा हस्ताक्षर भएको छ। केसीले जुम्लाबाट थालेको अनसनको २७ औँ दिनमा दुवै पक्षबीच शनिवार मध्यराति ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।  यो सहमतिसँगै डा. केसीले आइतवार बिहान अनसन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। सरकार र केसी पक्षबीच तीन दिनमा पटक पटको वार्तापछि यो सहमति जुटेको हो। 

उक्त सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसी स्वयमले हस्ताक्षर गरेका छन्। दुई पक्षबीच ८ बुँदे सहमतिमा हस्ताक्षर भए पनि दुई पक्षबीच केसीले उठाउँदै आएका ६ बुँदे मागमै रहेर ६ वटा सहमति हुन्।  हस्ताक्षर भएका ७ नम्बर बुँदामा सहमतिलाई सम्बन्धित निकायमा लैजाने उल्लेख गरिएको छ। अर्कातिर ८ नम्बर बुँदामा अनसन तोड्ने उल्लेख गरिएको छ। वार्ताका लागि सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा थिए।

डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित सहभागी भएका थिए। केसी र सरकारबीच अनसनको २५ औँ दिनमा बिहीबार पहिलो वार्ता भएको थियो। त्यसअघि बुधबार शिक्षा सचिव मैनाली सरकारकोतर्फबाट सन्देश लिएर शिक्षण अस्पताल पुगेका थिए। सरकारी टोलीले त्यसबेला सबै माग पूरा हुने क्रममा रहेको भन्दै अनसन तोड्न भनेको थियो। तर त्यतिका लागि दु:ख नगर्न भन्दै केसीले फर्काइदिएपछि भोलिपल्ट सरकारले वार्ता टोली गठन गरेको थियो। 

डा. केसीले विभिन्‍न ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको चन्दननाथबाट १९ औं अनसन सुरु गरेका थिए। त्यहाँबाट नवौं दिनमा नेपालगञ्‍ज हुँदै काठमाडौं ल्याइएका डा. केसीको अनसन त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २७ औँ दिनमा टुंग्याउने सहमति भएको हो।

के थिए केसीका माग 

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्। 

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्। 

४. त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गरियोस्। 

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरूलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोग लगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्। 

सहमति यस्तो भयो


source:thahakhabar