चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द

 असोज २१,काठमाण्डाै – डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

२२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी सङ्घका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्राङ्गणमा जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गर्दै धर्ना गर्ने सङ्घले जनाएको छ ।

२२ गतेदेखि नै सङ्घका शाखा कार्यालयमा र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त ठाउँमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाइ अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर रिले अनसन गर्ने सङ्घले जनाएकाे छ ।

गोविन्द केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराएको अवस्थामा नेपाल चिकित्सक सङ्घले २३ गते शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएको जनाएको छ । 

२३ गतेसम्म पनि सरकारले वार्ता टोली गठन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चिकित्सक सङ्घकाे घाेषणा छ ।

सङ्घद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरु बाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने सङ्घले चेतावनी दिएको छ । source:ujyaaloonline

Advertisement

जाजरकोट जीप दुर्घटना अपडेट : ज्यान गुमाउने ६ पुगे

असोज २१, जाजरकोट – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो भने एक जना बेपत्ता छन् । त्यस्तै एक जना घाइते भएका छन् । 

जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको हो ।

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् । 

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उनको खोजी कार्य जारी रहेको छ ।

दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा ल्याइँदैछ । औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो । अहिले गाडी खोलामै छ ।

वडाध्यक्ष शाहीको शव निकालिसकिएको छ भने अन्यको शव पानीभित्रै खोलामा रहेको र निकाल्न पहल भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । 

गाडी चालक गोरख बस्नेत भने फरार छन् । घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिममा पर्छ ।  source:ujyaaloonline

नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे,बुधबार देशैभर ३४ सय बढी सङ्क्रमित थपिए, काठमाण्डाै उपत्यकामा मात्रै १६ सय ८४ जना

असोज २१, काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे छ । गएकाे २४ घण्टामा तीन हजार चार सय ३९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार सात पुगेकाे हाे ।अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा काेराेना सङ्क्रमण भएकाेमा ६८ हजार ६ सय ६८ जना निकाे भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार १४ हजार दुई सय नाै जनाकाे पीसीआर परीक्षण गरेकाेमा ३४ सय ३९ जनामा काेराेना पुष्टि भएकाे छ । याे सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हाे । यस्तै बुधबार १५ जनाकाे ज्यान गएसँगै ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ७८ पुगेकाे छ । 

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्‍न : डा. केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो ?

असोज २१, काठमाण्डाै – नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्न सक्ने चेतावनी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश  शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको लागि पहल नगर्ने सरकारी नीति महँगो पर्ने चेतावनी दिनुभएको हो । ‘डाक्टर केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस्, लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’, विज्ञप्तिमा भनिएको छ । 

अनशन बसेको २४ दिनसम्म वार्ता समिति सम्म गठन नगरेको भन्दै कांग्रेसले भनेको छ, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो, त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुला ढङ्गले के यो सन्देश दिन चाहनुभएको हो कि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

नेपाली कांग्रेसको पालामा डा. केसी अनशन बस्दा, वार्ता गरिए, कैयौँ माग पूरा भएको दाबी गर्दै कांग्रेसले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस्, संवादमार्फत उहाँका माग पूरा गरिएको जनाएको छ । तर पहिल्यै पूरा भएका माग पनि प्रधानमन्त्री ओलीले एकातर्फी रुपमा उल्टाएको पनि कांग्रेसको आरोप छ । सत्याग्रहीलाई दुर्व्यवहारदेखि, सत्ताको अहङ्कारसम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेकाे विज्ञप्तिमा उल्लेख छ । source:ujyaaloonline