श्याम घिमिरे
असोज १९ अर्घाखाँची –
अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल सहित सोमवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा खड्का सहित रामबाँण गुल्मका गुल्मपती सेनानी अशोक कुमार क्षेत्री , प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकी उहाँका चालक,अंगरक्षक , नेपाली काँग्रेसका उपसभापति शान्ता भण्डारी,नेपाल रेड्क्रस सोशाइटी अर्घाखाँचीका सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदिश शर्मा, जिल्ला प्रशासन कार्यालयका दुईजना कर्मचारी, सन्धिखर्क नगरपालिकाका एकजना कर्मचारी लगायत १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभएको छ ।
केहिदिन अगाडी जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्वार ,राहत र पुनःस्थापना लगायतका कार्यमा खटिदा उहाँहरुलाई कोरोना संक्रमण भएको बताईएको छ । यसअघि सुक्रवार प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ बिक्रम थापा सहित ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यसैबिच सोमवार पुष्टी भएका १३ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । संक्रमितमध्ये ३९२ जनाले कोरोनालाई जितेर घरफर्किएका छन भने, अहिले २४ जना सक्रिय संक्रमितहरु बिभिन्न आईसोलेशनमा उपचाररत रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।