असोज १६, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३ सय सात जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ । आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाकाे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।
अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यता कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्।