प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभामा पेस,कांग्रेसको विरोध कायमै ,नेकपाले बोलायो संसदीय दलको बैठक

असोज १६, २०७७ काठमाडाैं : प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ र  नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ। प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको राजधानीसहित नामको प्रस्ताव प्रदेशसभामा पेस गरेको भौतिक योजना तथा पूर्वाधारमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।  यसअघि आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो।

सोही निर्णयलाई सरकारले प्रदेशसभामा पेस गरेको हो। अब यस विषयमा प्रदेशसभामा छलफल गरी प्रक्रियामा जाने मन्त्री चौधरीले जानकारी दिए। यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको केही समयमै प्रदेश मन्त्रीपरिषद्ले यस विषयमा निर्णय लिएको हो। दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गएको बताइएको छ।

नेकपाका महासचिव विष्णु पौडेलसहित केही नेताले प्रदेश राजधानी अहिलेको अस्थायी मुकाम बुटवलमै कायम गर्नुपर्ने अडान राख्दै आएका थिए। नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ। प्रदेश सभाले स्थायी राजधानी र नामबारे निर्णय गर्न कार्यदल गठन गरेको थियो। प्रदेश सभाको बैठक असोज १९ गते बोलाइएको छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले आज प्रदेशको राजधानी तथा नामकरणको प्रस्ताव दर्ता भएको र आगामी १९ गते बस्ने बैठकबाट यसमा छलफल हुने बताए। उनका अनुसार प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ।

प्रस्ताव पारित हुने पक्काजस्तै

यो प्रस्ताव पारित हुने पक्का भएको छ। प्रदेशसभामा कुल ८७ जना प्रदेशसभा सदस्य छन्। सत्तारुढ दलको मात्रै ६१ सांसद छन्। कांग्रेसका १९ जना, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद मात्रै छन्। प्रस्ताव पारित गर्न दुई तिहाई आवश्यक पर्छ। यो भनेको पक्षमा ५८ सांसद आवश्यक पर्छ। नेकपा एक्लैको ६१ सांसद छन्। यसकारण यो प्रस्ताव सहजै पास हुने देखिन्छ।

नेकपा संसदीय दलको बैठक बस्दै ह्विप जारी हुने

प्रदेशको राजधानी र नामको प्रस्ताव संसदमा पेस गरेपछि सत्तारुढ नेकपाले संसदीय दलको बैठक बोलाएको छ। भोलि(शनिबार) बिहान ८ बजेका लागि संसदीय दलको बैठक डाकिएको जनाइएको छ। बैठकमा प्रस्तावका पक्षमा प्रदेशसभामा मतदान गर्न प्रदेश कमिटीले ह्विप जारी गर्न बैठक बोलाएको हो। 

कांग्रेस रुपन्देहीको आपत्ति

प्रदेश ५ को स्थायी राजधानी दाङ रहनेबारे प्रदेश सरकारले गरेको प्रस्तावमा नेपाली कांग्रेस रुपन्देहीले आपत्ति जनाएको छ। कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकद्वारा जारी विज्ञप्तिमा ‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरुसँग छलफल नै नगरी बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले स्तब्ध र मर्माहत बनाएको छ,’ भनिएको छ।

कांग्रेस रुपन्देहीले प्रदेश सरकारको यो प्रस्तावविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिन सबैलाई अपिल पनि गरेको छ। आन्दोलनबाट भएको क्षतिको जिम्मेवारसमेत सरकार हुने चेतावनी कांग्रेसले दिएको छ। यसैबीच कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले रुपन्देहीको बुटवलमा यही विषयलाई लिएर आन्दोलन चर्काएको छ। दिउँसो नेविसंघले रुपन्देहीले दाङ राजधानी बनाउने विरोधस्वरुप ​सरकारी गाडी तोडफोड गर्नुका साथै ठाउँठाउँमा टायर बालेर प्रदर्शनसमेत गरेको छ।  देउवा सरकारको पालामा गरिएको निर्णय नै उचित भएको र यसविपरीत अहिलेको सरकार गए सडकदेखि सदनसम्म चेतावनी नेविसंघले दिएको छ।  

Advertisement

प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङ बनाउने र नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभामा पेस

असोज १६,बुटवल– प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ ।

यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन ।रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ । 

नेपालमा एकैदिन ३३ सयभन्दा धेरै डिस्चार्ज, २७ सय २२ जना नयाँ सङ्क्रमित थपिए,काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिए

असोज १६, काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेकाे छ । गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १४ हजार सात सय २२ जनाकाे नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३३ सय सात जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ ।   आज डिस्चार्ज भएका र सङ्क्रमण पुष्टि भएकाकाे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।

अब नेपालमा २१ हजार दुई सय ३४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

यता कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण

असोज १६,काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ ।

यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताउनुभएको थियो । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको थियो ।

ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।

अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

अर्घाखाँचीमा प्रजिअ र सहायक प्रजिअ सहित ६ जनामा कोरोना संक्रमण

श्याम घिमिरे
असोज १६ अर्घाखाँची –
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी पौडेल सहित बिहिबार ६ जनामा कोरोना पुष्टि भएको सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभयो । बुधवार स्वाब संकलन गरी परीक्षणका लागि गुल्मीको प्रयोगशालामा पठाइएकोमा प्रजिअ पौडेल सहित ६ जनाको रिपोट पोजेटिभ आएको हो ।

प्राप्त रिपोट अनुसार पौडेल र थापा सहित दुई जना स्वास्थ्यकर्मी , प्रजिअका सुरक्षागार्ड,सबारीचालक र अन्य एक जनामा कोरोना संक्रमण पुष्टि भएको सहायक प्रजिअ खनालले बताउनुभयो । एकजना स्वास्थ्यकर्मीको भने दोस्रो पटकको फ्लोअप रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिनुभयो ।

केहिदिन देखी जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्वार ,राहत र पुनःस्थापना लगायतका कार्यमा खटिदा आफुहरुलाई कोरोना संक्रमण भएको प्रजिअ पौडेलले बताउनुभयो । ज्वरो, रुघाखोकी र थकान महसुस भएपछि पिसीआर जाँच गर्दा पोजिटिभ देखिएको प्रजिअ पौडेलको भनाई रहेको छ । यस्तै सहायक प्रजिअ थापाले भने आफुलाई खासै लक्षण नदेखिएको बताउनु भयो । अहिले पौडेल र थापा सहित सबैजना होम आइसोलेसनमा बस्नुभएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रवाहहुने अत्यावश्यक सेवाहरु भने निरन्तर संचालन हुने प्रजिअ पौडेलले बताउनु भएको छ ।

यसैबिच बिहिवार देखिएका ६ जना सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ । संक्रमितमध्ये ३८९ जनाले कोरोनालाई जितेर घरफर्किएका छन भने, अहिले १४ जना सक्रिय संक्रमितहरु बिभिन्न आईसोलेशनमा उपचाररत रहेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।