न्यौपानेको निधनले अपुरणिय क्षति भयो :नेता खड्का

शोभाखर पन्थी ,कार्तिक १३ अर्घाखाँची – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्र बहादुर खड्का उज्वलले युवानेता भेषराज न्यौपानेको निधनले पार्टी लाई अपुरणिय क्षति भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनी वडा नं.७ वडा कमिटी द्वारा भञ्ज्याङमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले स्वर्गीय न्यौपाने पार्टीका बफादार कार्यकर्ता ,समाजका कुसल संवाहक,जनताको प्रिय नेता भएको बताउँदै उहाँको निधनले अपुरणिय क्षति भएको बताउनुभयो ।

युवानेता न्यौपानेलाई गुमाउनु पर्दा अहिले परिवारजन,स्थानीय जनसमुदाय र सिङ्गो पार्टी पङ्ती निक्कै चिन्तित तथा शोक मग्न भएको उहाँको भनाइ थियो । उहाँले स्वर्गीय न्यौपानेका अधुरा सपना पुरा गर्ने बाचा गर्दै धैर्य रहन परिवारजन र स्थानीय समुदाय लाई आग्रह समेत गर्नुभयो । राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका नेता खड्काले कोरोना भाईरस बाट बच्न सबै सचेत हुनुपर्ने बताउनु भएको छ ।सिङ्गो मानव जातिको निम्ति चुनौतीको रुपमा रहेको कोरोना भाईरसका कारण अहिले संसार भरका मानिस आतंकित भैरहेको भन्दै उहाँले यस बाट बच्न साबधानि अपनाउनु पर्नेमा जोड दिनुभयो ।

सरकारको निर्देशन र पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा उहाँको जोड थियो । प्रेश संगठनका प्रदेश सदस्य माधव बेल्वासेको संचालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य तोजबहादुर रायमाझी ,कुटमदिन अलि,जिल्ला कार्यालय सदस्य जिवनारायण कोईराला ,पिताम्वर भुसाल ,जाकिर हुसेन ,जिल्ला कमिटी सदस्य बावुराम घिमिरे ,कमल प्रसाद घिमिरे ,जिवलाल घिमिरे ,लक्ष्मी गौतम ,उमानाथ पौडेल ,नजिर मियाँ ,प्रेस संगठनका केन्द्रीय सदस्य शोभाखर पन्थी ,पाणिनि गाउँपालिका वडा नं.७का अध्यक्ष गुणाखर अधिकारी ,वडा नं. ८ का अध्यक्ष मिनराज आत्रेय,समाजसेवी टेकराज न्यौपाने लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा पाणिनि वडा नं. ७ कमिटीका सदस्य स्वर्गीय भेषराज न्यौपाने लोकप्रिय युवानेता तथा चर्चित समाजसेवी हुनुहुन्थ्यो । ३८ बर्षिय उहाँले स्थानीय तहमा संचालित करीब एक दर्जन संघ संस्थाको नेतृत्व गरि सक्नुभएको छ । सामान्य मधुमेहका बिरामी रहनुभएका उहाँको कार्तिक ५ गते कोरोना भाईरसका कारण उपचारको शिलशिलामा बुटवलमा दु:खद निधन भएको थियो । उहाँका बृद्धआमा, श्रीमती ,९ बर्षको छोरा र १८ महिना कि छोरी छन् ।

उहाँ निधन भएको नवौं दिन भईसक्दा पनि स्थानीयका आखा अझै ओवाएका छैनन् । उहाँको स्मरणमा स्थानीयहरु पटकपटक रुने गर्छन् । यसैबीच राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वलले भारतको गुजारातमा कार्तिक ६ गते निधन हुनुभएका छत्रदेव गाउँपालिका वडा नं. १ का युवा कार्यकर्ता स्वर्गीय पवन अर्याल र ११ गते आफ्नै निवास छत्रदेब १ मा निधन हुनुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेव १ का सक्रिय कार्यकर्ता टंक बहादुर श्रीपाको घरमा पुगि परिवारजनमा समवेदना प्रकट गर्नुका साथै दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

बिहिवार सन्धिखर्कमा ४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५७१ पुग्यो, ६९ जना आईसोलेशनमा ।

श्याम घिमिरे
कात्तिक १३ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५७१ पुगेको छ । बिहिवार सन्धिखर्क नगरपालीकामा ४ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५७१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । जसमा सन्धिखर्कमा ६४ जना र शितगंगमा ५ जना रहेका छन । अन्य ४ वटा पालीकामा भने सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । संक्रमितमध्ये हालसम्म ४९६ जना डिस्चार्ज भैसकेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ६ जनाको ज्यान गईसकेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

देशभर आइसियु र भेन्टिलेटरमा ३८० संक्रमित उपचाररत

कात्तिक १३ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर ३ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। मन्त्रालयको अनुसार हाल ७६ जना भेन्टिलेटरमा र ३०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आइसियु र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, सुदूरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १३ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

यस्तै, नेपालमा एकैदिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। जसले गर्दा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ। आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

खर्च बेहाेर्न नसक्ने सबै काेराेना सङ्क्रमितको उपचार नि:शुल्क गर्नु : स्वास्थ्य मन्त्रालय

कात्तिक ९, काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च बेहोर्न नसक्ने कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । कतिपय अस्पतालले बिरामी भर्ना गर्नकै लागि रकम माग गरेको र रकम जम्मा गर्न नसक्नेहरु उपचारबाट बञ्चित भएको गुनासो आएको भन्दै मन्त्रालयले उपचार खर्च तिर्न सक्दिन भनेर स्वघोषणा गरेका सबै बिरामीको नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ती निकालेर उपचार खर्च तिर्न सक्दिन भनि स्वघोषणा गरेका सबै बिरामीको उपचार खर्च सरकारले तिर्ने भन्दै यदि उपचार खर्च बुझाउन नसकेर कुनै सङ्क्रमितको स्वास्थ्यमा असर परेमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुने पनि मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डाक्टर गुणराज लोहनीले निकाल्नुभएको विज्ञप्तीमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै उपचार खर्च बेहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भनिएको छ ।

सरकारले परीक्षण तथा उपचारको लागि शुल्क लिने बताएपछि त्यसको चौतर्फी आलोचना भैरहेको छ । आलोचना भएपछि उपचार खर्च बेहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरिरहेको सरकारले कतिपय अस्पतालमा उपचार नपाएको गुनासो आएको भन्दै नि:शुल्क उपचार गर्न निर्देशन दिएको हो ।

सनिवार सन्धिखर्कमा ३० जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५६५ पुग्यो

श्याम घिमिरे
कात्तिक ८ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५६५ पुगेको छ । सनिवार सन्धिखर्क नगरपालीकामा एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५६५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा १४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा १२६ जना, शितगंगमा १३ जना,भुमिकास्थानमा १ जना र पाणीनीमा १ जना गरी जम्मा १४१ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यसअघि संक्रमणका कारण ६ जनाको ज्यान गईसकेको छ ।